चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर विश्व बैंकले ३.९% र एसियाली विकास बैंकले ४.३% हुने प्रक्षेपण गरेका छन्
अर्थविद्देखि निजी क्षेत्रसम्मले अर्थतन्त्र चरम मन्दीमा फसेको बताइरहँदा चालू आर्थिक वर्षको पहिलो त्रैमासमा देशको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) ३.२ प्रतिशतले वृद्धि भएको अनुमान गरिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले शुक्रबार सार्वजनिक गरेको त्रैमासिक प्रतिवेदनले गत आवको पहिलो त्रैमासको तुलनामा यस वर्ष आर्थिक वृद्धिदर बढेको देखाएको हो ।
राष्ट्रिय तथ्यांक कार्यालयले सन् २०१०/११ को स्थिर आधारभूत मूल्यलाई आधार बनाई आर्थिक गतिविधि अध्ययन गरेर त्रैमासिक तथ्यांक (नतिजा) निकाल्दै आएको छ । गत आर्थिक वर्षको चौथो त्रैमासको तुलनामा भने आर्थिक वृद्धिदर १.४ प्रतिशतले घटेको अनुमान गरिएको छ । तथ्यांक कार्यालयले कृषि, उद्योग, आयात–निर्यात, पर्यटक आगमन, विद्युत् उत्पादन, निर्माणजस्ता आर्थिक क्रियाकलाप र अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ)को मापदण्डका आधारमा कुल गार्हस्थ्य उत्पादन वृद्धिदरको अनुमानित नतिजा निकालेको हो ।
गत आर्थिक वर्षको पहिलो त्रैमासमा पनि आर्थिक वृद्धिदर ३.२ प्रतिशत नै भएको थियो । दोस्रो त्रैमासमा भने १ प्रतिशतले ऋणात्मक थियो । तेस्रो र चौथो त्रैमासमा भने क्रमशः २.४ प्रतिशत र ४.३ प्रतिशतले आर्थिक वृद्धि भएको तथ्यांक कार्यालयले जनाएको छ ।
तथ्यांक कार्यालयले चालू मूल्यका आधारमा भने आर्थिक वृद्धिदर गणना गर्न बाँकी नै रहेको जनाएको छ । यस्तो आर्थिक गणना वार्षिक रूपमा गरिन्छ । चालू मूल्यका आधारमा गत असारसम्म जिडिपीको आकार ५३ खर्ब ८१ अर्ब ३४ करोड रुपैयाँ छ, जसलाई चालू आर्थिक वर्षमा ६ प्रतिशतले बढाउने सरकारी लक्ष्य छ । तर, चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर विश्व बैंकले ३.९ प्रतिशत र एसियाली विकास बैंक (एडिबी)ले ४.३ प्रतिशत मात्र हुने अनुमान गरेका छन् ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले लक्ष्यअनुसार आर्थिक वृद्धि हुने दाबी गर्दै आएका छन् । तर, चालू वर्षमा लिइएको आर्थिक वृद्धिको लक्ष्य प्राप्ति चुनौतीपूर्ण रहेको प्रारम्भिक तथ्यांकले नै देखाएका छन् । यद्यपि, अर्थतन्त्रमा गत आर्थिक वर्षको भन्दा धेरै सुधार देखिने अर्थतन्त्रका सूचकले पुष्टि गरेका छन् ।
गत आवमा १.८६ प्रतिशतले मात्रै आर्थिक वृद्धि भएको थियो । निर्माण क्षेत्रमा आएको मन्दीसहित समग्र आर्थिक गतिविधि शिथिल बन्दा गत आवमा आर्थिक वृद्धि न्यून भएको थियो । तर, चालू आवमा आर्थिक वृद्धिदर बढ्ने संकेत कार्यालयको तथ्यांकले देखाएको छ ।
तथ्यांक कार्यालयका निर्देशक गणेश आचार्यले पनि आर्थिक गतिविधिमा सुधारको संकेत देखिएको बताए । ‘गत आवमा आर्थिक गतिविधिमा संकुचन देखिएको थियो, तर चालू आवमा सुधारको संकेत देखिएको छ,’ उनले भने, ‘सरकारले चालू आवमा ६ प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्य लिएको छ । अहिले नै त्यो पूरा हुन्छ कि हुँदैन भनेर भन्न सकिँदैन । तर, गत आवको भन्दा राम्रो हुने संकेत पाएका छौँ ।’
कुन क्षेत्रमा कस्तो ?
चालू आवको पहिलो त्रैमासमा सबैभन्दा धेरै वृद्धि खानी तथा उत्खनन क्षेत्रमा भएको छ । गत आवको पहिलो त्रैमासमा भन्दा चालू वर्षको सोही अवधिमा खानी तथा उत्खनन क्षेत्रको वृद्धिदर १५.८ प्रतिशत हुने अनुमान छ । बालुवा, गिट्टी र ढुंगााको उत्खननमा भएको वृद्धिले यो क्षेत्रको आर्थिक वृद्धिदर उच्च हुने अनुमान कार्यालयले गरेको छ ।
दोस्रो स्थानमा भने बैंक तथा बिमा क्षेत्र रहेको छ । समीक्षा अवधिमा बैंक तथा बिमा क्षेत्रको वृद्धिदर १३.२ प्रतिशत रहेको अनुमान कार्यालयको छ । निक्षेप तथा कर्जामा भएको वृद्धि, अन्तरबैंक ब्याजदरमा आएको कमी, बढ्दो बिमा शुल्कका कारण यस क्षेत्रमा सकारात्मक प्रभाव परेको बताइएको छ । आर्थिक वृद्धि धेरै हुने तेस्रो स्थानमा आवास तथा भोजन सेवा (होटेल) क्षेत्र रहेको छ । समीक्षा अवधिमा यस क्षेत्रको वृद्धिदर ११.७ प्रतिशत रहेको अनुमान छ । पहिलो त्रैमासिक अवधिमा पर्यटक आगमनमा भएको वृद्धिले पनि यो क्षेत्रको वृद्धिमा सकारात्मक प्रभाव पारेको देखिन्छ ।
यस्तै, पहिलो त्रैमासिक अवधिमा अर्थतन्त्रमा सबैभन्दा बढी योगदान रहेको कृषि, वन तथा मत्स्य क्षेत्रको वृद्धिदर १.४ प्रतिशत भएको अनुमान छ । धान उत्पादनमा वृद्धि हुँदा पनि यस क्षेत्रमा सकारात्मक प्रभाव परेको देखिन्छ । कार्यालयले विभिन्न १८ वटा आर्थिक क्षेत्रमध्ये समीक्षा अवधिमा १७ क्षेत्रको वृद्धिदर सकारात्मक रहेको तथ्यांक सार्वजनिक गरेको छ ।
निर्माण क्षेत्रमा सुधारको संकेत
गत वर्ष मन्दीमा रहेको निर्माण क्षेत्र चालू आवमा चलायमान हुन थालेको देखिएको छ । गत आवमा निर्माण क्षेत्रको वृद्धिदर २.६२ प्रतिशतले ऋणात्मक थियो भने चालू आवको पहिलो त्रैमासमा यस क्षेत्रको वृद्धिदर ११.४ प्रतिशतले बढेको बताइएको छ ।
अस्थायी क्रसर बन्द, निर्माण सामग्रीको मूल्यमा भएको वृद्धि, सरकारी भुक्तानीमा ढिलासुस्तीलगायतका समस्याले गत आवमा निर्माण क्षेत्र शिथिल बनेको थियो । गत वर्ष निर्माण क्षेत्रको वृद्धिदर पहिलो त्रैमासमा ९.६ प्रतिशत, दोस्रो त्रैमासमा ७.९ प्रतिशत र तेस्रो त्रैमासमा ३.१ प्रतिशतले ऋणात्मक थियो । चौथो त्रैमासमा भने १० प्रतिशतको बढोत्तरी देखिएको थियो ।
थोक तथा खुद्रा व्यापार क्षेत्र ऋणात्मक
समीक्षा अवधिमा थोक तथा खुद्रा व्यापार क्षेत्रको वृद्धिदर भने १.२ प्रतिशतले ऋणात्मक रहेको अनुमान गरिएको छ । कार्यालयका अनुसार समीक्षा अवधिमा वृद्धिदर ऋणात्मक रहेको क्षेत्र यही मात्रै हो । उपभोक्ताको मागमा आएको कमीका कारण यस क्षेत्रको वृद्धिदर ऋणात्मक देखिएको हो ।
समीक्षा अवधिमा नेपालको वस्तु आयात सामान्य बढे पनि यस क्षेत्रको वृद्धिदर ऋणात्मक देखिएको तथ्यांक कार्यालयको भनाइ छ । पछिल्लो समयको आर्थिक शिथिलताका कारण उपभोक्ताको क्रयशक्ति घटेको छ । यस्तै, पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिले वस्तुको मूल्यसमेत बढाएको छ । यसैले पनि पछिल्लो समय बजारमा त्यस्ता वस्तुहरूको माग न्यून देखिन्छ । गत आवमा थोक तथा खुद्रा व्यापार क्षेत्रको वृद्धिदर २.९६ प्रतिशतले ऋणात्मक थियो । चालू आवमा पनि खासै सुधारको संकेत नदेखिएको तथ्यांक कार्यालयको प्रतिवेदनले पुष्टि गर्छ ।