Skip This
ad
सीमा विवादबारे बाउन्ड्री वर्किङ ग्रुपले काम गरिरहेको छ : परराष्ट्रमन्त्री
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २६ बुधबार ११:२१:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सीमा विवादबारे बाउन्ड्री वर्किङ ग्रुपले काम गरिरहेको छ : परराष्ट्रमन्त्री

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार ११:२१:oo

परराष्ट्रमन्त्री एनपी साउदले नेपाल–भारतबीच रहेको सीमा विवादबारे बाउन्ड्री वर्किङ ग्रुपले काम गरिरहेको बताएका छन्। शुक्रबार बिहान नेपाल प्रेस युनियन डडेल्धुरा शाखाले जिल्ला सदरमुकाममा गरेको पत्रकार सम्मेलनमा मन्त्री साउदले कालापानी, लिम्पियाधुरा, लिपुलेक र सुस्ताबाहेकका सीमामा धेरै सहमति भइसकेको बताए।

उनले सीमा विवाद समाधानका लागि दुवै देशको जोइन्ट बाउन्ड्री वर्किङ ग्रुपले काम गरिरहेको जानकारी गराए। ‘कालापानी, लिम्पियाधुरा, लिपुलेक र सुस्ताबाहेकमा धेरै सहमति भइसकेको छ। यसअघि भएको सीमा नक्सांकन र रेखांकनका वेला केही ठाउँ नेपाल पक्षको भारत र भारततिरको नेपालमा आएको छ,’ मन्त्री साउदले भने, ‘यसमा दुवै देशको जोइन्ट बाउन्ड्री वर्किङ ग्रुपले काम गरिरहेको छ। सहमतिका साथ यो काम अघि बढिरहेको छ।’ 

उनले नेपाल सरकार आफ्नो सीमा र देशको स्वामित्व रहने जमिनबारे पूर्ण रूपमा सजग रहेकोसमेत बताए। सीमा समस्या वार्ता, छलफल र कूटनीतिक पहलबाट टुंग्याउने प्रयास भइरहेको उनको भनाइ थियो।

यसका साथै मन्त्री साउदले भारतका विदेशमन्त्री एस जयशंकरको हालैको भ्रमण सार्थक, महत्त्वपूर्ण र फलदायी भएको दाबी गरे। ‘भारतलाई १० हजार मेघावाट विद्युत् बिक्री गर्ने, पञ्चेश्वर सुरु गर्ने, जाजरकोट भूकम्पपीडितलाई १० अर्बबराबरको भारतीय अनुदान ल्याउनेलगायतका हामीबीच सम्झौता भएका छन्,’ उनले भने, ‘दुवै देशबीचको सम्बन्धलाई अगाडि बढाउन जयशंकरको नेपाल भ्रमण सार्थक रह्यो।’

पञ्चेश्वर परियोजना ब्रेक थ्रुको विन्दुमा मन्त्री साउदले पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको ब्रेक थ्रुको विन्दुमा पुगिसकेको दाबी गरेका छन्। उनले पञ्चेश्वर परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) फाइनल गर्ने काम अन्तिम चरणमा पुगेको र केही दिनमै ब्रेक थ्रुक हुने बताए।

पञ्चेश्वर परियोजना बन्नु सुदूरपश्चिमवासीका लागि मात्रै नभई सिंगो नेपालकै लागि फाइदाजनक भएको उनको तर्क थियो। पञ्चेश्वर परियोजनाले यहाँको रोजगारीमा सहयोग पुर्‍याउने मन्त्री साउदले विश्वास व्यक्त गरे। उनले पञ्चेश्वर, पश्चिम सेती, अरुण तेस्रो र अपर कर्णली विद्युत् परियोजन अगाडि बनाउन सकेमा रोजगारीका लागि विदेश जाने युवाहरूको संख्या घट्ने बताए।

विपिन जोशीको रिहाइका लागि प्रयासरत छौँ
मन्त्री साउदले हमासको अपहरणमा परेका कञ्चनपुरका विपिन जोशीको सकुशल रिहाइका लागि सरकारको तर्फबाट प्रयास भइरहेको बताएका छन्। ‘विपिनको रिहाइका लागि पटक–पटक हामीले इजरायल सरकारसँग पनि आग्रह गरेका छौँ,’ उनले भने, ‘मैले कतारका प्रधानमन्त्री र विदेशमन्त्रीसँग आग्रह गरेको छु।’ उनले दोस्रो युद्धविरामका वेला विपिनको रिहाइ हुने विश्वास व्यक्त गरे। 

‘कतारले दोस्रो युद्धविरामका लागि आफूहरू प्रयासरत रहेको जवाफ दिएको छ दोस्रो युद्धविराममा विपिन सकुशल फर्किने अपेक्षा छ,’ उनले भने, ‘पहिलो चरणमा महिला र बालबालिका प्राथमिकतामा परेको र अब विपिनको रिहाइ हुनेमा आशावादी छौँ। विपिन सुरक्षित छन्। उनी चाँडै रिहा हुनेछन्।’

यसका साथै मन्त्री साउदले रुसी सेनामा भर्ती भएकाहरू नेपाल सरकारको अनुमतिमा त्यहाँ भर्ती नभएको स्पष्ट पारे। उनले विद्यार्थी भिसा र भिजिट भिसालगायतमा रुस पुगेकाहरू त्यहाँको सेनामा भर्ती भएको बताए। उनले रुसमा अहिलेसम्म १० जनाको मृत्यु भइसकेको जानकारी प्राप्त भएको र आठवटा शव अहिले त्यहाँको शवगृहमा राखिएको जानकारी दिए।  

शव नेपाल ल्याउन कूटनीतिक पहल भइरहेको उनको भनाइ छ। उनले भने, ‘त्यसबाहेक एक सय ३३ परिवारले हामीलाई आफ्ना परिवारका सदस्य त्यहाँ पुगेको र जोखिममा परेको भनेर आग्रह गरेअनुसार हामीले उहाँहरूलाई स्वदेश फिर्ताको प्रबन्ध मिलाउन पहल गरिरहेका छौँ।’

ad
ad