१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार ११:१६:oo
Read Time : > 2 मिनेट
ad
ad
विश्व प्रिन्ट संस्करण

विपक्षीको बहिष्कारबीच बंगलादेशमा आमनिर्वाचन

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार ११:१६:oo

प्रमुख विपक्षीदलको बहिष्कारबीच बंगलादेशमा आमनिर्वाचन सम्पन्न भएको छ । १२औँ राष्ट्रिय निर्वाचनअन्तर्गत तीन सयजना प्रतिनिधिका लागि आइतबार मतदान सम्पन्न भएको हो । बिहान आठ बजेदेखि सुरु भएको मतदानमा मतदाताहरूको न्यून उपस्थिति रहेको बंगलादेशी सञ्चारमाध्यमहरूले जनाएका छन् ।

प्रधानमन्त्री शेख हसिनाको राजीनामा र कामचलाउ सरकारद्वारा निर्वाचन गर्न माग गर्दै आएको पूर्वप्रधानमन्त्री खालिदा जिया नेतृत्वको प्रमुख विपक्षी दल बंगलादेश नेसनलिस्ट पार्टी (बिएनपी)ले भने मतदान बहिष्कार ग¥यो । निर्वाचन विफल पार्न बिएनपीले आमहडताल घोषणा गरेको थियो । विपक्षीको बहिष्कारका कारण प्रधानमन्त्री शेख हसिनाले पाँचौँ कार्यकालका लागि जित्ने पक्काजस्तै भएको छ । प्रधानमन्त्री हसिनाले निर्वाचन बहिष्कार गर्ने प्रमुख प्रतिपक्षी बिएनपीलाई ‘आतंकवादी’ संगठन भनेकी छिन् ।  प्रधानमन्त्री हसिनाले राजीनामा दिने र कामचलाउ सरकारलाई चुनाव चलाउन दिनुपर्ने मागलाई अस्वीकार गरेपछि बिएनपीले चुनाव बहिष्कार गरेको थियो र  पार्टीले चुनावलाई ‘धोखा’ भनेको थियो ।

निर्वाचनका लागि ४२ हजारभन्दा बढी मतदान केन्द्र निर्धारित गरिएको थियो । अपराह्न ४ बजेसम्म मतदान केन्द्रभित्र पुगेका मतदाताले साँझ अबेरसम्म पनि मतदान गर्न पाउने व्यवस्था गरिएको थियो । निर्वाचन आयोगका अनुसार लगभग करिब १२ करोड योग्य मतदातामध्ये झन्डै आधा महिला छन् भने पहिलोपटक मतदानका लागि योग्य बनेका मतदाताहरूको संख्या लगभग डेढ करोड छ । स्वतन्त्र निर्वाचन विश्लेषकहरूले मतदाताको उपस्थिति निकै कम रहेको बताएका छन् । निर्वाचन आयोगका अनुसार मतदान सम्पन्न हुनुभन्दा एक घन्टाअगाडि करिब २७ प्रतिशत मतदाताले मतदान गरेका थिए ।

निर्वाचन आयोगका अनुसार मतदान सम्पन्न हुनुभन्दा एक घन्टाअगाडि करिब २७ प्रतिशत मतदाताले मतदान गरेका थिए

मतदानको प्रारम्भिक परिणाम सोमबार बिहानसम्म आइसक्ने बताइएको छ । बिएनपीले शनिबारदेखि नै हिंसा र प्रदर्शनकारीमाथिको दमनबीच ‘अवैध सरकार’विरुद्ध ४८ घन्टे राष्ट्रव्यापी हडताल सुरु गरेको छ । सर्वोच्च अदालतले पुस ५ गते निर्वाचन आयोगलाई निर्वाचन अघि बढाउन अनुमति दिएको थियो । अल जजिराका अनुसार प्रमुख विपक्षी दल बिएनपीको अनुपस्थितिमा भएको यस निर्वाचनमा प्रधानमन्त्री शेख हसिनाले लगातार चौथो कार्यकाल जित्ने सम्भावना छ ।

निर्वाचनमा २७ दल र स्वतन्त्रसमेत गरी कुल एक हजार पाँच सयजना उम्मेदवारले प्रतिस्पर्धा गरेका निर्वाचन आयोगले जनाएको छ । आइतबारको निर्वाचनका क्रममा छिटपुट झडप भएका अधिकारीले बताएका छन् । आइतबार निर्वाचन भइरहेको समयमा एक व्यक्तिको छुरा प्रहार गरी हत्या गरिएकोे स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । स्वतन्त्र उम्मेदवारका समर्थकले सत्तारूढ अवामी लिगका उम्मेदवारका समर्थकलाई छुरा प्रहार गरी हत्या गरेको स्थानीय प्रहरी अधिकारीलाई उद्धृत गर्दै फाइनान्सियल एक्सप्रेसले जनाएको छ ।

मुंसीगन्जको सदर उपजिल्लाको मिरकादिमको तेन्गोरमा स्थानीय समयअनुसार आइतबार बिहान पौने १० बजे स्वतन्त्र उम्मेदवारका समर्थकले पीडितमाथि धारिलो हतियार प्रहार गरेका थिए । घटनाको जानकारी पाएपछि प्रहरी घटनास्थलमा पुगेर स्थिति नियन्त्रणमा लिएको थियो । 

निर्वाचनका क्रममा हिंसात्मक झडप भएका विवरण सार्वजनिक भएका छन् । ढाका ट्रिब्युनका अनुसार चट्टोग्राममा प्रहरी र बिएनपीका सदस्यबीच झडप भएको थियो । बिएनपीका केही सदस्यहरूले बन्दरगाह सहरमा जुलुस निकाल्ने प्रयास गरेपछि विवाद सुरु भएको थियो भने प्रहरीले उनीहरूलाई रोक्ने प्रयास गरेको थियो । स्थानीय सञ्चारमाध्यमका अनुसार मुन्सीगन्जका अवामी लिगका समर्थकमाथि मतदान सुरु भएको करिब डेढ घन्टापछि स्थानीय मतदान केन्द्रनजिकै टाउकोको पछाडिको भागमा छुरा प्रहार गरिएको र उनको घटनास्थलमा नै मृत्यु भएको थियो । तर, केन्द्रीय निर्वाचन आयोगका सिइओ एमवाई कुहेलले निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको दाबी गरे ।

सत्तारूढ अवामी लिग तानाशाहतर्फ उन्मुख भइरहेको विपक्षीले आरोप लगाउँदै आएका छन् । तानाशाह कदमका बाबजुद बंगलादेश सन् २०४१ सम्ममा मध्यम आय भएको देश बन्ने अपेक्षा गरेको छ र सन् २०२६ सम्ममा संयुक्त राष्ट्रसंघको अतिकम विकसित देश (एलडिसी)को सूचीबाट माथि उक्लिने पथमा छ । अन्य दक्षिण एसियाली देशको तुलनामा बंगलादेशले आफूलाई मानव विकास सूचकांकको मापदण्डमा औसतभन्दा माथि पाएको छ ।

अक्टोबरको विश्व बैंकको प्रतिवेदनले चरम गरिबी सन् २०१६ मा नौ प्रतिशतबाट २०२२ मा पाँच प्रतिशतमा घटेको जनाएको छ । इन्डिया एक्सप्रेसका अनुसार शेख हसिना नेतृत्वको सरकारले भारत र चीनजस्ता प्रमुख देशसँग उलेख्य संख्यामा पूर्वाधार परियोजनामा काम गरेको छ । बिएनपीको बहिष्कारले चरमपन्थी इस्लामी समूहको दबदबा रहन सक्ने पर्यवेक्षक र कार्यकर्ताले चिन्ता जनाएका छन् ।

ad
ad