कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा अवैध रूपमा नदी दोहनमा प्रयोग भएका दुई ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीले शुक्रबार शुक्लाफाँटा– ८ धारापानी खोला क्षेत्रबाट गैरकानुनी रूपमा नदीखोला दोहन गरेर ढुंगा, ग्राभेल तस्करीमा प्रयोग भएका दुई ट्याक्टर नियन्त्रणमा लिएको हो। लोकेन्द्रबहादुर महराका नाममा रहेका दुई ट्याक्टर नियन्त्रणमा लिए पनि चालक र संलग्न व्यक्तिहरू पक्राउ गर्न नसकिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकाश डाँगीले अवैध रूपमा नदी दोहन गरेर नदीजन्य पदार्थ उत्खनन गरेर ओसार्ने क्रममा सुपप्र ०२–००१ त १२६५ र से १ त ६५५८ नम्बरका दुई ट्याक्टर नियन्त्रणमा लिएको बताए। उनका अनुसार दुवै ट्याक्टर इलाका प्रहरी कार्यालयको नियन्त्रमा छ।
महाकाली सिँचाइ तेस्रो चरणको नहर निर्माण कम्पनी वेस्टर्न डेभलपमेन्ट कन्स्ट्रक्सन प्रालिले झलारीका व्यवसायी लोकेन्द्रबहादुर महराको आरपी हार्डवेयर एन्ड सप्लायर्ससँग ती ट्याक्टर भाडामा लिएको पाइएको छ।
पहुँचवालाहरूको ट्याक्टर त्यसै छाडिने र पहुँच नहुनेलाई मात्रै कारबाही गर्ने प्रवृत्ति बढेको भन्दै स्थानीयवासी भने असन्तुष्ट छन्। शुक्लाफाँटा नगरपालिकाले चालू आर्थिक वर्षमा नदी र खोला ठेक्का लगाउन नसक्दा नदीजन्य पदार्थको खुलेयाम चोरी तस्करी बढेको स्थानीयवासीको बुझाइ छ।