१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार १५:३o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

उपराष्ट्रपति यादव र चिनियाँ प्रतिनिधिमण्डलबीच शिष्टाचार भेटघाट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १५:३o:oo

उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग चिनियाँ कम्युनिस्ट पार्टीको युनान प्रान्तको पार्टी स्थायी कमिटीका उपसचिव सी युगाङको नेतृत्वमा नेपाल भ्रमणमा रहेको चिनियाँ प्रतिनिधिमण्डलले शिष्टाचार भेटघाट गरेको छ।

शनिबार हरितगृह लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा भएको भेटघाटमा उपराष्ट्रपति यादव र उपसचिव युगाङबीच दुई मुलुकबीचको द्विपक्षीय सम्बन्ध, भ्रमण, सहयोग, व्यापार तथा पर्यटनलगायतका विविध आयामका विषयमा छलफल भएको छ।

भेटघाटमा उपराष्ट्रपति यादवले प्रधानमन्त्री पुष्पकमल दाहालको गत वर्षको सेप्टेम्बरमा सम्पन्न चीन भ्रमणले सम्बन्धलाई थप उचाइमा पुर्‍याउने तथा सहकार्यका क्षेत्रमा थप विस्तार हुनेमा आफू विश्वस्त रहेको बताए।

उनले मित्रराष्ट्र चीन नेपालको प्रमुख एवं लामो समयदेखिको विकास साझेदार रहँदै झन्डै सात दशकयता नेपालको विकास प्रयासमा पुर्‍याउँदै आएको सहयोगका लागि धन्यवादसमेत व्यक्त गरे। उनले भने, ‘नेपालको कुल बाह्य व्यापारमध्ये चीनसँगको हिस्सा करिब १४ प्रतिशत रहेको छ। यसलाई बढोत्तरी गर्न थुप्रै सम्भावना छन् भन्ने लाग्दछ।’

उपराष्ट्रपति यादवले द्विपक्षीय व्यापारलाई दिगो र व्यापक बनाउन चिनियाँ पक्षबाट नेपाललाई तुलनात्मक लाभका विभिन्न उत्पादनहरूमा उत्पादक क्षमता बढाउनुका साथै तरकारी, मासुजन्य उत्पादन, चिया र जडीबुटीजस्ता उत्पादनहरूको सहयोगका लागि चिनियाँ पक्षलाई अनुरोध पनि गरे। उनले पोखरा र चीनका विभिन्न सहरबीच ‘कमर्सियल फ्लाइट’ सुरु हुनेमा विश्वास व्यक्त गरे।

भेटमा सी युगाङले सन् २०२४ मा चिनियाँ उच्च प्रतिनिधिमण्डलले नेपालबाटै आफ्नो भ्रमण सुरु गरेको जनाउँदै नेपाललाई विशेष महत्त्व दिएरै यो सम्भव भएको प्रस्ट पारे। उनले नेपाल, चीनको सबैभन्दा नजिकको छिमेकी मित्र राष्ट्र भएको बताउँदै छिमेकीसँगको सम्बन्ध राम्रो हुनुपर्ने उल्लेख गरे।

ad
ad