१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० पौष १८ बुधबार १२:००:००
Read Time : > 1 मिनेट
Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० पौष १८ बुधबार १२:००:००

डाक्टरको सल्लाह

अत्यधिक बोल्दा वा भाइरल, ब्याक्टेरियल संक्रमणका कारण स्वरयन्त्र सुन्निने गर्छ । गला दुख्ने, खसखस हुने, खानेकुरा निल्दा दुख्ने, स्वर धोद्रो हुने, स्वर बस्ने, अचानक बन्द हुनेलगायत समस्या देखिन्छ ।

सामान्य अवस्थामा स्वरयन्त्र (लेरिंक्स)भित्रका भोकल कर्डस सहज रूपमा खुल्छन् र बन्द हुन्छन्, अनि त्यसको भाइब्रेसनबाट आवाज निस्कन्छ । तर ‘लेरिन्जाइटिस’ भएका वेला भोकलकर्ड सुन्निएको हुन्छ र दुखाइले आवाज कमजोर हुने वा बस्ने गर्छ । अत्यधिक बोल्दा वा भाइरल, ब्याक्टेरियल संक्रमणका कारण स्वरयन्त्र सुन्निने गर्छ । गला दुख्ने, खसखस हुने, खानेकुरा निल्दा दुख्ने, स्वर धोद्रो हुने, स्वर बस्ने, अचानक बन्द हुनेलगायत समस्या देखिन्छ । 

शिक्षण, गायन, रेडियो वा टेलिभिजनमा कार्यक्रम प्रस्तोताको भूमिका निर्वाह गर्नेलगायत व्यावसाहिक रूपमा आफ्नो स्वर कलाको प्रयोग गर्नेहरूले अत्यधिक रूपमा गलाको प्रयोग गर्ने भएकाले उनीहरूमा जुनसुकै समय पनि यस्तो समस्या देखिन सक्छ । किनकि, उनीहरूको आवाज डिमान्डेड हुन्छ र त्यहीअनुसार उनीहरूले अत्यधिक रूपमा यसको प्रयोग गरेका हुन्छन् । उनीहरू आफ्नो स्वरलाई सुरक्षित राख्ने विषयमा पनि उत्तिकै सतर्क रहनुपर्छ । वेला–वेलामा चिकित्सकसँग परामर्श लिइराख्नुपर्छ । आममानिसका हकमा गर्मीको दाँजोमा जाडोमा यस्तो समस्या धेरै देखिने गर्छ । किनकि, यस मौसममा मानिसलाई भाइरल इन्फेक्सन तथा रुघाखोकी धेरै लाग्ने गर्छ, त्यस्तै हावा सुक्खा हुन्छ र धुलोधुवाँ बढी उड्छ ।

लेरिन्जाइटिस दुई प्रकारका हुन्छन् : एक्युट वा क्रोनिक । एक्युट लेरिन्जाइटिस अस्थायी हुन्छ । चिच्याउने, बढी बोल्ने वा भाइरल–ब्याक्टेरियल इन्फेक्सनले निम्तिएको यस्ता अवस्था धेरै दिनसम्म रहँदैन । नाक, कान र घाँटीको जाँच गरेर समस्या पत्ता लगाउन सकिन्छ । तीन साताभन्दा बढी समयसम्म आवाज सुधार नभएको अवस्थालाई क्रोनिक मान्न सकिन्छ । केमिकलयुक्त धुवाँ, चुरोटको धुवाँ वा एलर्जी पैदा गर्ने र सासको माध्यमबाट शरीरभित्र पुगेर यस्तो अवस्था सिर्जना भएको हुन सक्छ । यस्तो अवस्थामा ब्लड टेस्ट, एक्स–रे वा अन्य परीक्षण पनि गर्नुपर्ने हुन सक्छ । 

सम्भावित कारण 
- संक्रमण श्वासप्रश्वाससम्बन्धी संक्रमण, भाइरल इन्फेक्सन, ब्याक्टेरियल इन्फेक्सनका कारण पनि गला सुन्निएको हुन सक्छ । धेरै बोल्दा, गाउँदा, चिच्याउँदा अर्थात् आफ्नो स्वरतन्त्रहरूको अत्यधिक प्रयोग गर्दा गला सुन्निन सक्छ । 

- धूम्रपान/मदिरा सेवन अत्यधिक धूम्रपान गर्ने व्यक्तिमा पनि यस्तो समस्या देखिने जोखिम रहन्छ । त्यस्तै, अत्यधिक मदिरा सेवनले पनि यस्तो अवस्था निम्त्याउँछ । 

के गर्ने ?
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखराकी नाक, कान, घाँटी रोग विशेषज्ञ डा. स्वस्ती शर्मा एक साताभन्दा बढी समयसम्म घाँटीमा संक्रमण देखिएमा चिकित्सकसँग परामर्श गर्नुपर्ने बताउँछिन् । ‘कतिपय मानिसहरू स्वर बिग्रनासाथ एन्टिबायोटिक प्रयोग गर्छन् । रुघाखोकी लाग्दा वा घाँटी दुख्दा औषधि लिने गर्छन् । तर, यसरी जथाभावी औषधि प्रयोग गर्नुहुँदैन । सुरुमा आराम गर्र्ने, कम बोल्ने, मनतातो पानी पिउने, मनतातो पानीले कुला गर्नुपर्छ । धुलो–धुवाँबाट जोगिनुपर्छ । ७–१० दिनसम्म पनि सुधार भएन भने चिकित्सकसँग परामर्श गरेर चेकजाँच गर्नुपर्छ,’ उनले भनिन् । 

घरेलु विधि 
आयुर्वेद क्याम्पस कीर्तिपुरका उपप्रधाध्यापक डा.युगराज सापेकाटा भान्छामै उपलब्ध केही जडीबुटीको प्रयोगले स्वर बसेको समस्या समाधानमा मद्दत गर्ने बताउँछन् । ‘सबैभन्दा राम्रो औषधि बोजो हो । ससाना टुक्रा बनाएर यसलाई चुस्यो भने स्वर खुलाउन सहयोग गर्छ । खयर, जेठीमधुले पनि स्वर खुलाउन सहयोग गर्छ । त्यस्तै, सितोपलादीमा मह मिसाएर खान सकिन्छ । एकचोटिमा एक चिया चम्चा र धेरै मह मिसाएर त्यसलाई लेदोजस्तो बनाएर प्रयोग गर्न सकिन्छ । मनतातो बेसारपानीमा नुन मिसाएर कुला पनि गर्न सकिन्छ,’ उनले भने ।