Skip This
२५औँ पोखरा सडक महोत्सव सुरु, १६ पुससम्म चल्ने 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २९ शनिबार
  • Saturday, 11 May, 2024
२o८१ बैशाख २९ शनिबार o९:४५:oo
Read Time : > 2 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

२५औँ पोखरा सडक महोत्सव सुरु, १६ पुससम्म चल्ने 

६ लाख दर्शकले महोत्सवको अवलोकन गर्ने अनुमान

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २९ शनिबार o९:४५:oo

फेवाताल किनारालाई बेहुलीजस्तै सिँगारिएको छ । महोत्सव हुने सडकमा ध्वजापतका, ब्यानरसँगै स्वागतद्वारले झकिझकाउ पारिएको छ ।

सडकमै खाऔँ, सडकमै नाचौँ र सडकमै रमाऊँ भन्ने नारासहित पोखराको प्रमुख पर्यटकीय क्षेत्र फेवाताल किनारको लेकसाइडमा २५औँ संस्करणको पोखरा सडक महोत्सव सुरु भएको छ । अंग्रेजी नयाँ वर्ष २०२४ को अवसर पारि रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेबान) पोखराको आयोजना सुरु भएको महोत्सव १६ पुससम्म चल्नेछ ।

महोत्सव उद्घाटनअघि लेकसाइडको हल्लनचोकबाट विभिन्न जातजाति, आमा समूह, विभिन्न संघसंस्थासँगै देशका विभिन्न भागबाट पोखरा आएका सांस्कृतिक समूहको झाँकी र नृत्यसहितको र्‍याली कोमागाने पार्कमा पुगेर उद्घाटन सत्रमा परिणत भएको थियो । 

महोत्सवको उद्घाटन पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले गरेका थिए । महोत्सवस्थललाई सुरक्षित बनाउन सडकमा सिसिक्यामेरा जडान गरिएको छ । महोत्सव हुने क्षेत्रसँगै फेवाताल किनारालाई बेहुलीजस्तै सिँगारिएको छ । महोत्सव आयोजना हुने सडकमा ध्वजापताका, ब्यानरसँगै स्वागतद्वारले झकिझकाउ पारिएको छ। 

सडकका दायाँबायाँमा रहेका रुखहरूसँगै व्यवसायीहरूले आ–आफनो रेस्टुरेन्ट, होटेल र पसलहरूमा रंगीचंगी बत्तीहरू राखेका छन् । जसले गर्दा लेकसाइड क्षेत्र झनै आकर्षक देखिएको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गरी पोखरालाई अंग्रेजी नयाँ वर्ष मनाउने गन्तव्य स्थलको रूपमा विकास गर्ने उद्देश्यसहित विगत २४ वर्षदेखि रेबानले महोत्सव आयोजना गर्दै आएको छ । 

खाना, संस्कृति र पर्यटनलाई मुख्य जोड दिँदै आयोजना गरिएको महोत्सव लेकसाइडको फिस्टेल गेटदेखि गैराको चौतारा हुँदै जहरेवरसम्मको करिब साढे तीन किलोमिटर सडकमा महोत्सव सञ्चालन गरिएको छ । महोत्सव अवधिभर यस क्षेत्रमा सञ्चालित होटेल तथा रेस्टुरेन्टहरूले आफ्ना भान्सा सडकमै राख्ने र त्यहीँबाट पर्यटकलाई सेवा दिने गर्दछन् ।

महोत्सवमा रेबानमा आबद्ध रेस्टुरेन्टसँगै खाना र अन्य गरी करिब चार सय स्टलले रहेका छन् । ती स्टलहरूले महोत्सव अवधिभर आफ्नो सेवा सडकबाटै दिने आयोजक रेवानका अध्यक्ष नरेश भट्टराईले जानकारी दिए ।

महोत्सव हुने क्षेत्रका चार स्थानमा स्टेज राखी विभिन्न कार्यक्रमहरू गरिनेछ । जस्तै: पोखराको पर्यटन विकास, प्रवर्द्धन अवसर र चुनैतीहरूको विषयमा बहस कार्यक्रम हुने छन् । पोखरा र आसपासका क्षेत्रमा रहेका साहसिक खेलहरूको वृत्तचित्र प्रदर्शनसँगै पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धन गर्नेलगायतका विभिन्न कार्यक्रमसमेत महोत्सवमा राखिएको छ।

यसैगरी, महोत्सवमा चितवनका थारूहरूको स्टिकनाच, सिन्धुलीका महिलाहरूको पन्चेबाजा, स्कुमको मयुरनाच, लिम्बूको धाननाच, नेवार जातिको लाखेनाच, गुरुङ समुदायको छेडुनाच, मगर जातिको कौरानाच समेत हेर्न पाइनेछ । महोत्सवमा करिब ६ लाख दर्शकले अवलोकन गर्ने आयोजकको अनुमान रहेको छ ।

अध्यक्ष भट्टराईका अनुसार महोत्सवमा आउने पर्यटककाे मुख्य आकर्षणको रूपमा सडकमै सांस्कृतिक कार्यक्रम, विभिन्न जातीय तथा धार्मिक संस्कृति झल्कने सांस्कृतिक कार्यक्रम र मौलिक वेशभूषा प्रदर्शन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, झाँकी प्रदर्शन, रात्रिकालीन कन्सर्ट, दोहोरी गीत प्रतियोगिता, विभिन्न खेलकुद, पर्यटकीय आकर्षण वृत्तचित्रको प्रदर्शनी, घरेलु एवं हस्तकलाका सामग्री, लाइभ ब्यान्ड, पन्चेबाजा, चित्रकला, मूर्तिकला, गन्धर्व गायनलगायत सडकमै मनोरञ्जनात्मक कार्यक्रमहरूको प्रस्तुति हेर्न पाउने छन् ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पोखरा र यस आसपासका क्षेत्रमा रहेका नेपाली कला, संस्कृति, रहनसहनलगायतका वस्तुलाई जगेर्ना गर्दै विदेशी पर्यटकमाझ पोखरालाई चिनाउन महोत्सवले सहयोग गर्ने बताए । महोत्सव पोखरा र आसपासका क्षेत्रलाई चिनाउन एउटा फरक ब्रान्ड बनिसकेकाले यसलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्न सबैको साथ र सहयोग आवश्यक रहेको उनले बताए ।

होटेल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले नेपालकै नमुना महोत्सवको रूपमा यसलाई लिइएको बताए । पोखरामा हुने महोत्सवहरूमध्ये यो धेरै दर्शकले अवलोकन गर्ने र पोखरामा धेरै पर्यटक भित्र्याउने महोत्सवको रूपमा विकास हुँदै गएको उनको भनाइ  छ ।

महोत्वसको पूर्वसन्ध्यामा संघले पश्चिमका सीमावर्ती चार सहरमा ‘जाउँ है पोखरा’ अभियान सञ्चालन गरेको र पोखरामा हुने सडक महोत्सवबारे समेत जानकारी दिएकाले त्यस क्षेत्रबाट आउने पर्यटकको संख्या यस वर्ष वृद्धि हुने अनुमान छ ।

महोत्सवको मुख्य प्रायोजकमा गोर्खा ब्रुअरी प्रालिको टुबाेर्ग बियर र द नेपाल डिस्ट्रिलरी प्रालिको नुड भोड्का, सहप्रायोजकमा नेपाल लिक्वाएर प्रालिको सिग्नेचर ह्विस्की, नेपाल डिस्ट्रिलरी प्रालिको खुकुरी रम र कोकाकोला रहेका छन् । प्रवर्द्धकमा गण्डकी प्रदेश सरकार, नेपाल पर्यटन बाेर्ड, पोखरा महानगरपालिका र पोखरा पर्यटन परिषद् रहेका छन् ।
                                                             

ad
ad