मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o पौष ८ आइतबार
  • Wednesday, 18 December, 2024
२o८o पौष ८ आइतबार १२:४६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

आक्रामक बन्दै सिराहा डिभिजन वन, पुनः एक्स्काभेटर, ठेकेदारसहित दुई पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o पौष ८ आइतबार १२:४६:oo

अवैध गिटी, ढुंगा, बालुवा उत्खनन रोक्न लहानस्थित डिभिजन वन कार्यालय सिराहा आक्रामक बन्दै गएको छ।

कानुनविपरीत वन क्षेत्रको खोला ठेक्का लगाएको र अवैध उत्खनन गरेको आरोपमा प्रमुख प्रशासकीय अधिकृतसहित १८ जनाविरुद्ध मुद्दा चलाएको डिभिजनले शनिबार सिराहाको पश्चिमवर्ती कर्जन्हा नगरपालिका– १ बल्टियाको वन क्षेत्रमा पर्ने कमला किनारबाट एउटा एक्स्काभेटरसहित दुईजनालाई नियन्त्रणमा लिएको छ। 

डिभिजन वन प्रमुख सुजितकुमार झाका अनुसार कर्जन्हाको बन्दीपुरस्थित सबडिभिजन वन कार्यालयको गस्ती टोलीले बल्टियाको वन क्षेत्रमा पर्ने कमला नदी किनारबाट प्रारम्भिक वातावरणीय परीक्षण (आइई) नगरी खन्दै गरेको अवस्थामा एक्स्काभेटरसहित दुईजनालाई नियन्त्रणमा लिइएको हो। 

‘वन क्षेत्रमा पर्ने कमला नदी किनारबाट उत्खनन गरिरहेको अवस्थामा एक थान एक्साभेटरसहित चालक प्रदीपकुमार दर्लामी र स्थानीय ठेकेदार नीरज बस्नेतलाई नियन्त्रणमा लिइएको हो,’ उनले भने, ‘नियन्त्रणमा लिइएकाहरूलाई डिभिजन वन कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान थालेका छौँ।’

डिभिजन वनले ४ पुसमा सिराहा जिल्ला अदालतमा कानुनविपरीत वन क्षेत्रको खोला ठेक्का लगाएको आरोपमा सिराहाको धनगढीमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश महतो, प्रशासन शाखा सहायक रञ्जितकुमार सिंह र वन वरुण कन्स्ट्रक्सनका प्रोप्राइटर नीलमकुमारी यादव, अवैध उत्खननमा संलग्न आठ ट्याक्टर तथा जेसिबीचालक र सातजना व्यवसायीविरुद्ध मुद्दा दायर गरेको थियो।