मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o पौष ७ शनिबार
  • Wednesday, 18 December, 2024
नवीन अर्याल काठमाडाैं
२o८o पौष ७ शनिबार o७:१९:oo
Read Time : > 3 मिनेट
अर्थ प्रिन्ट संस्करण

निर्यातमा आशा जगाउँदै विद्युत्, सिमेन्ट, प्लाइउड र आइटी सेवा

आइआइडिएसको अध्ययनअनुसार आइटी कम्पनी र फ्रिलान्सरद्वारा व्यक्तिगत तहबाट सन् २०२२ मा करिब ६७ अर्बबराबरको आइटी सेवा निर्यात

Read Time : > 3 मिनेट
नवीन अर्याल, काठमाडाैं
नयाँ पत्रिका
२o८o पौष ७ शनिबार o७:१९:oo

नेपालबाट निर्यात हुने कतिपय वस्तु तथा सेवाले निर्यात व्यापारमा केही आशा जगाएको छ । चालू आवको पहिलो पाँच महिनाको समीक्षामा नेपालको निर्यात व्यापारमा केही वस्तुको निर्यात तथ्यांकले आशा जगाउन सफल भएको हो । नेपालबाट भारतीय सीमावर्ती क्षेत्रमा सिमेन्ट र क्लिंकर निर्यात सुरु भएको डेढ वर्ष हुँदै छ । ०७९ साउनमा ४९ लाखको सिमेन्ट निर्यात भएकोमा ०८० मंसिरसम्म आइपुग्दा ३६ करोड नाघिसकेको छ । असोजमा एकै महिना साढे ४३ करोडको सिमेन्ट निर्यात भएको भन्सार विभागको तथ्यांक छ । सिमेन्ट र क्लिंकरको बढ्दो निर्यातले वैदेशिक व्यापारमा केही आशा छाएको छ । 

नेपालबाट ०७८ कात्तिकदेखि भारतमा व्यावसायिक रूपमा बिजुली निर्यात सुरु भएको थियो । चालू आर्थिक वर्षको साउनदेखि २० मंसिरसम्म १३ अर्ब २४ करोड रुपैयाँको बिजुली निर्यात भएको छ । चार महिनामा कम्पनीमार्फत पाँच अर्ब ५७ करोडको आइटी सेवा निर्यात भएको राष्ट्र बैंकको तथ्यांक छ । व्यक्तिगत तहबाट झन् ठूलो रकमको आइटी सेवा निर्यात भइरहेको सर्वांगीण विकास अध्ययन केन्द्र (आइआइडिएस)को अध्ययनले देखाएको छ । 

समग्र निर्यात उत्साहप्रद नभए तापनि सिमेन्ट, क्लिंकर, बिजुली, प्लाइउड, आइटी सेवालगायतको बढ्दो निर्यातले उत्साह थपेको छ । धागो, गलैँचा, पस्मिना, तयारी कपडा, जुस, चियालगायत वस्तुहरू पनि निर्यातको अग्रस्थानमा छन्, भलै पछिल्लो समयमा वृद्धिदर घट्दो क्रममा भए पनि । चालू आर्थिक वर्षमा ६–७ अर्बको सिमेन्ट र क्लिंकर निर्यात हुने सम्भावना रहेको सर्वोत्तम सिमेन्टका सञ्चालक विष्णु न्यौपानेको आकलन छ ।

 सवा १३ अर्बको बिजुली निर्यात
०८० को वर्षायाममा १५ अर्ब २४ करोडको विद्युत् भारततर्फ निर्यात भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । यस वर्ष २८ जेठबाट २० मंसिरसम्म दैनिक सात सय मेगावाटसम्म बिजुली बिक्री गरिएको थियो । चालू आर्थिक वर्षको साउनदेखि २० मंसिरसम्म १३ अर्ब २४ करोड मूल्यको करिब डेढ अर्ब युनिट बिजुली निर्यात भएको छ । निर्यात गरिएको विद्युत्को औसत बिक्रीदर प्रतियुनिट ८.७७ रुपैयाँ रहेको थियो । 

आगामी वर्ष २५–३० अर्बको बिजुली निर्यात हुने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको अनुमान छ । उनले भने, ‘दुई देशबीचको विद्युत् प्रसारणका लागि ठूलो क्षमताका लाइनहरू बनिरहेका छन्, देशभित्र धमाधम जलविद्युत् आयोजनाहरू निर्माण भइरहेका छन्, आगामी पाँच वर्षभित्रमा वार्षिक करिब एक खर्बको विद्युत् निर्यात हुने अवस्था बनिरहेको छ ।’ 

 डेढ अर्बको सिमेन्ट निर्यात
चालू आर्थिक वर्षको साउनदेखि मंसिरसम्म पाँच महिनामा एक अर्ब ४९ करोड रुपैयाँको सिमेन्ट र क्लिंकर भारतीय बजारमा निर्यात भएको छ । अघिल्लो वर्षभरिमा भने ७८ करोड रुपैयाँको मात्रै सिमेन्ट र क्लिंकर निर्यात भएको थियो । अबको पाँच वर्षभित्र सिमेन्ट र क्लिंकर निर्यात ५० अर्बको पुग्ने अनुमान नेपाल सिमेन्ट उत्पादक संघको छ । अहिले पाल्पा, अर्घाखाँची, सिजी पाल्पा, सर्वोत्तम, बालाजीलगायतका उद्योगले सिमेन्ट निर्यात गरिरहेका छन् ।

सरकारले स्वदेशी वस्तु निर्यातलाई प्रोत्साहन गरेपछि भारतीय सीमावर्ती क्षेत्रमा सिमेन्ट–क्लिंकर निर्यात बढ्न थालेको हो । सरकारले स्वदेशी वस्तु निर्यात गर्ने उद्योगलाई आठ प्रतिशतसम्म नगद अनुदान र १० करोड रुपैयाँभन्दा बढीको विद्युत् खपत गर्ने उद्योगलाई महसुलमा १५ प्रतिशतसम्म छुट दिने व्यवस्था गरेको छ । 

 आइटी सेवा निर्यातमा ठूलो सम्भावना 
नेपालबाट आइटी सेवा निर्यातमा ठूलो सम्भावना देखिएको छ । आइआइडिएसको अध्ययनले नेपालबाट आइटी कम्पनी र फ्रिलान्सरले व्यक्तिगत तहबाट करिब ६७ अर्ब रुपैयाँबराबरको आइटी सेवा निर्यात गरेको देखाएको छ । कम्पनीबाट मात्रै २०२२ मा २० करोड १३ लाख अमेरिकी डलरको आइटी सेवा निर्यात भएको छ । यो वर्षको पहिलो चार महिनामा कम्पनीमार्फत पाँच अर्ब ५७ करोडको आइटी सेवा निर्यात भएको राष्ट्र बैंकको तथ्यांक छ ।

आइआइडिएसको अध्ययनअनुसार भने सन् २०२० मा ३० करोड ८३ लाख अमेरिकी डलर, २०२१ मा ३१ करोड ३९ लाख डलर र २०२२ मा ५१ करोड ५४ लाख डलरको आइटी सेवा निर्यात भएको छ । तत्कालीन विनिमयदरअनुसार एक डलरको एक सय ३० रुपैयाँले ६७ करोड रुपैयाँ हुन आउँछ ।  

 प्लाइउडको निर्यातमा उछाल
नेपालबाट निर्यात हुने प्रमुख १० वस्तुहरूको सूचीमा प्लाइउड पर्न थालेको छ । सरकारले स्वदेशी वस्तु निर्यातमा ८ प्रतिशतसम्म नगद अनुदानको व्यवस्था गरेपछि एकाएक प्लाइउड निर्यातमा चमक आएको हो । चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा दुई अर्ब ८९ करोड रुपैयाँबराबरको प्लाइउड निर्यात भएको भन्सार विभागको तथ्यांक छ । गत आर्थिक वर्षभरिमा चार अर्ब ७० करोड ५१ लाखको प्लाइउड निर्यात भएको थियो । यो वर्ष प्लाइउड निर्यात करिब आठ अर्ब पुग्ने अनुमान छ । विदेशबाट ठूलो परिमाणमा काठ तथा फर्निचर आयात भइरहेका वेलामा पनि प्लाइउड निर्यात भने उत्साहप्रद देखिएको छ ।  

 पाँच अर्बभन्दा बढीको फलामे पाता निर्यात
नेपालबाट अहिले सबैभन्दा बढी निर्यात हुने वस्तुमा फलाम तथा स्टिल र तिनबाट बनेका सामग्री पर्ने गरेका छन् । चालू आर्थिक वर्षको पाँच महिनामा पाँच अर्ब रुपैयाँभन्दा बढीको तीन करोड ७८ लाख ३० हजार केजी फलामे पाता निर्यात भएको भन्सार विभागले जनाएको छ । गत आर्थिक वर्षभरिमा सात अर्ब १९ करोड ५१ लाख रुपैयाँबराबरको फलामे पाता निर्यात भएको थियो ।

 धेरै निर्यात हुने परम्परागत वस्तुहरू 
कुनै समय नेपालबाट सबैभन्दा धेरै निर्यात हुने वस्तुहरूमा ऊनी गलैँचा, पस्मिना, गार्मेन्टलगायत पर्थे । तर, अमेरिकालगायतले कोटा प्रणाली खारेज गरेसँगै निर्यात पनि ओरालो लागेको थियो । तैपनि, अझै ऊनी गलैँचा–कार्पेट, पस्मिना, तयारी पोसाक धेरै निर्यात हुने वस्तुमै पर्छन् । यस्तै, धागो, जुस, चिया र जडीबुटी निर्यात पनि ठूलो मात्रामै भइरहेको छ ।

चालू आवको पाँच महिनामा सिन्थेटिक धागो चार अर्ब ८८ करोडको निर्यात भएको छ । गत आवभरिमा सिन्थेटिक धागो १२ अर्ब २० करोड रुपैयाँबराबरको निर्यात भएको थियो । पाँच महिनामा ऊनीको गलैँचा तथा कार्पेट चार अर्ब ५३ करोड, तयारी कपडा चार अर्ब ११ करोड, जुस तीन अर्ब ४० करोड, अलैँची तीन अर्ब १० करोड, चिया एक अर्ब ८७ करोड, पस्मिना सल एक अर्ब ४९ करोड, जडीबुटी एक अर्ब एक करोड रुपैयाँको निर्यात भएको छ । यस्तै, जुटका कपडा एक अर्ब ९८ करोड, कुकुर–बिरालोको खाना एक अर्ब १९ करोड, पिना एक अर्ब १३ करोड, ऊनी, सुती, टेरिकटनबाहेकका कपडा एक अर्ब तीन करोड, जुटका बोरा–झोला ९८ करोडको निर्यात भएको देखिन्छ ।