१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o पौष ६ शुक्रबार
  • Saturday, 06 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o पौष ६ शुक्रबार ११:४२:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

जाडोमा बच्चाको स्याहार

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o पौष ६ शुक्रबार ११:४२:oo

जाडो बढिरहेको छ । यस मौसममा वयस्क, वृद्धवृद्धा र बालबालिका सबैमा शारीरिक समस्या देखिन सक्छ । साना बच्चामा जोखिम अझै धेरै देखिने भएकाले उनीहरूको विशेष ख्याल गर्नुपर्छ । 

६ महिनासम्म 
६ महिनासम्मका शिशुको धेरै ख्याल गरिरहनुपर्छ । किनकि, उनीहरूले यो मौसमको सामना पहिलोपटक गरिरहेका हुन्छन् । चिसो र सुक्खा हावा, राति र बिहान अचानक हुने तापक्रम गिरावट, दिउँसोको गर्मी । यी सबै बदलावले उनीहरूलाई असर गरिरहेको हुन्छ । ज्वरो, बान्ता, छालामा संक्रमण, धब्बाहरू आउने, पेट दुख्ने, सुक्खा खोकी लाग्ने, पानीको कमी, निमोनिया, भाइरल इन्फेक्सनलगायत समस्या देखिन सक्छन् । शरीरको तापक्रम अचानक घट्ने अवस्था अर्थात् हाइपथर्मिया हुन सक्छ । त्यसैले उनीहरूलाई न्यानो हुने गरी राख्नुपर्छ । 

बच्चालाई ६ महिनासम्म आमाको दूध मात्रै खुवाउनुपर्छ । आमाको दूधले पौष्टिक आहार पुग्छ । जुन बच्चालाई पर्याप्त आमाको दूध पुगेको हुँदैन, त्यस्ता बच्चा पछि बिरामी हुने सम्भावना बढी हुन्छ । आमाको दूधले पुग्दैन भने चिकित्सकको सल्लाहअनुसार ‘फर्मुला दूध’ खुवाउन सकिन्छ । नवजात शिशुको शरीरका सबै अंग राम्ररी विकसित भइसकेको हुँदैन । यस्तो वेला बच्चालाई संक्रमण हुने खतरा हुन्छ । त्यसैले कोठालाई न्यानो बनाएर राख्नुपर्छ । कम्तीमा कोठाको तापक्रम २७–२८ डिग्री हुनुपर्छ । 

कोठा न्यानो पार्नका लागि बालिने कोइला, दाउरा, ग्यास हिटर, होलोजन हिटर बाल्ने चलन छ । तर, यसबाट निस्केको कार्बनमोनोअक्साइडले झन् बच्चालाई असर गर्छ । कोठाको तापक्रमलाई सन्तुलनमा राख्नुपर्छ । बच्चालाई न्यानो घाममा सेकाउँदा राम्रो हुन्छ । धेरै हावा नचल्ने, चिसो नहुने, घाम लाग्ने ठाउँमा सेकाउन सकिन्छ । 

खानपानमा दिनुस् ध्यान 
खेल्ने उमेरका बच्चालाई बाहिर खेल्न पठाउन सकिन्छ । तर, अत्यधिक चिसो भएका वेला बाहिर पठाउनुहुँदैन । त्यस्तै, प्रदूषित स्थानमा पठाउन हुँदैन । खेलेर फर्किएपछि उनीहरूको हात तथा मुख सफा गरिदिनुपर्छ । शरीरबाट पसिना निस्किएको हुन सक्छ, कपडा फेरिदिनुपर्छ । 

संक्रमणसँग लड्नका लागि पोषक तत्वको महत्वपूर्ण भूमिका हुन्छ । सुन्तला, स्ट्रबेरी, टमाटर, ब्रोकाउलीलगायत भिटामिन सीयुक्त खानेकुराले रोगसँग लड्ने क्षमता बढाउँछ । झोलिलो खानेकुरामा जोड दिनुपर्छ । पानीको मात्रा पुगेको हुनुपर्छ । छालालाई घामबाट डढ्न नदिनका लागि सनस्क्रिन क्रिम लगाइदिनुपर्छ । रोगसँग लड्न खोपले महत्वपूर्ण भूमिका खेल्ने भएकाले आवश्यक खोपहरू नियमित रूपमा लगाउनुपर्छ । 

न्यानो कपडा लगाइदिनुपर्छ । टाउको तथा कान छोप्ने गरी टोपी लगाइदिनुपर्छ । निद्रा पर्याप्त पुगेको हुनुपर्छ । बच्चालाई मालिस गरिदिनुपर्छ । यसले रक्तसञ्चार 
राम्रो बनाउँछ । 

ad
ad
ad
ad