Skip This
प्रतिक्विन्टल २५ रुपैयाँ बढाएर तोकियो उखुको समर्थन मूल्य
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २७ बिहीबार
  • Thursday, 09 May, 2024
भोजराज भण्डारी काठमाडाैं
२o८१ बैशाख २७ बिहीबार o७:२८:oo
Read Time : > 2 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

प्रतिक्विन्टल २५ रुपैयाँ बढाएर तोकियो उखुको समर्थन मूल्य

उखु किसानको असन्तुष्टि कायमै, किसानको आन्दोलन जारी

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २७ बिहीबार o७:२८:oo

किसानले उखु क्रसिङ सुरु गरिसकेको सरकारले बल्ल उखुको मूल्य निर्धारण गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गत वर्षभन्दा प्रतिक्विन्टल २५ रुपैयाँ बढाएर उखुको समर्थन मूल्य प्रतिक्विन्टल ६ सय ३५ रुपैयाँ तोकेको हो । जसमा किसानले चिनी उद्योगीबाट प्रतिक्विन्टल पाँच सय ६५ रुपैयाँ र सरकारले दिने अनुदानस्वरूप ७० रुपैयाँ पाउँछन् । सरकारले हरेक वर्ष अनुदानस्वरूप ७० रुपैयाँ दिँदै आएको छ ।

अघिल्लो आर्थिक वर्ष ०७९/८० मा प्रतिक्विन्टल ६ सय १० रुपैयाँ समर्थन मूल्य तोकिएको थियो । जसमा उद्योगीबाट किसानले प्रतिक्विन्टल पाँच सय ४० रुपैयाँ पाउने र सरकारले अनुदानस्वरूप प्रतिक्विन्टल ७० रुपैयाँ दिएको थियो । उखु किसानले सामान्यतया कात्तिकको अन्तिम साताबाट उखु क्रसिङ थाल्छन् । त्यसैले असोजको पहिलो सातामै उखुको समर्थन मूल्य तोक्नुपर्ने हो । तर, ढिलाइ गर्दा किसानले पुरानै मूल्यमा उखु बेच्न बाध्य भएका छन् । ढिलो गरी तोकिएको समर्थन मूल्यमा पनि किसानहरूले असन्तुष्ट जनाएका छन् ।

उखु उत्पादक संघका अध्यक्ष कपिलमणि मैनालीले सरकारले अहिले तोकेको मूल्यले उखु किसानलाई निरुत्साहित बनाएको बताए । ‘चिनीको मूल्य बढेर एक सय २५ रुपैयाँसम्म पुगेको छ, तर किसानलाई भने मूल्य नै छैन यो त अन्याय भयो,’ उनले भने, ‘धेरैपटक मन्त्रालयमा गएर उखुको समर्थन मूल्य र अनुदानस्वरूप दिइने रकम बढाउन भन्यौँ, तर हाम्रो कुराको कुनै सम्बोधन हुँदैन ।  किसानहरूलाई कसरी उखुखेतीप्रति आकर्षण बढाउने भन्ने चिन्ता देखिएन ।’

अहिलेको समर्थन मूल्यमा आगामी दिनमा उखुखेती गर्न नसकिने सर्लाहीका उखु किसान राकेश यादवले बताए । उनले भने, ‘आजको दिनमा चिनीको मूल्य सय रुपैयाँभन्दा माथि छ, तर सरकारले अहिले पनि ६५ रुपैयाँको रेटमा उखुको समर्थन मूल्य तोक्दै छ, यस्तो अवस्थामा सहमत हुन सकिँदैन ।’

तर, कृषि तथा पशुपक्षी विकास मन्त्रालय प्रवक्ता सवनम सिवाकोटीले चिनीको मूल्यको अनुपातमा नभई उत्पादन लागतका आधारमा समर्थन मूल्य तोकिएको जानकारी दिइन् । उनले भनिन् ,‘माग र आपूर्तिसँग मूल्य जोडिन्छ, तर हामीले उत्पादन लागतका आधारमा सिफारिस गरेको हो, अब यो मूल्यका आधारमा चिनीको मूल्य कति हुनुपर्ने भन्ने विषयमा केही दिनपछि निर्धारण हुन्छ ।’

 करिब चार लाख टन उखु क्रसिङ
तराईका विभिन्न जिल्लामा करिब चार लाख टन उखु क्रसिङ भइसकेको उखु उत्पादक संघका अध्यक्ष कपिलमणि मैनालीले जानकारी दिए । हिमालयन सुगर मिल सिराहा, महालक्ष्मी सुगर मिल सिराहा, बाबा सुगर मिल र रिलाइन्स सुगर मिलले पुरानै मूल्यमा उखु खरिद गरेको उनको भनाइ छ । उनले भने, ‘किसानले उखु सुक्ने डरले पुरानै मूल्यमा बेच्न बाध्य भए अब उद्योगीले तोकिएको मूल्य पनि किसानले पाउने–नपाउने अनिश्चित छ ।’कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अनुसार पछिल्ला केही आर्थिक वर्षदेखि उखुको उत्पादन क्षेत्र घट्दै गएको मन्त्रालयको तथ्यांकले देखाएको छ । आर्थिक वर्ष 

०७५/७६ मा ७१ हजार ६ सय २५ हेक्टरमा उखुखेती गरिएको थियो । जसमा ३५ लाख ५७ हजार मेट्रिकटन उखु उत्पादन भएको थियो । त्यस्तै, आर्थिक वर्ष ०७६/७७ मा ६८ हजार पाँच सय हेक्टरमा उखुखेती गरिएको थियो । जसमा ३४ लाख मेट्रिकटन उखु उत्पादन भएको थियो । आर्थिक वर्ष ०७७/७८ मा ६४ हजार तीन सय ५४ हेक्टरमा उखुखेती गरिएकोमा ३१ लाख ८३ हजार नौ सय ४३ मेट्रिकटन उखु उत्पादन भएको मन्त्रालयको भनाइ छ । त्यस्तै, आर्थिक वर्ष ०७८/७९ मा ६२ हजार पाँच सय ६७ हेक्टरमा उखु लगाइएको थियो जसमा २८ लाख ९३ हजार सात सय ७० मेट्रिकटन उखु उत्पादन भएको मन्त्रालयको भनाइ छ । 

पूर्व–पश्चिम राजमार्ग चार घन्टा अवरुद्ध

उचित समर्थन मूल्य र अनुदानबापतको बक्यौता माग गर्दै सर्लाहीका उखु किसानहरूले संघर्षलाई निरन्तरता दिएका छन् । किसानहरूले उखुको समर्थन मूल्य सात सय ५० रुपैयाँ हुनुपर्ने र अनुदान रकम तत्काल पाउनुपर्ने माग गर्दै गत शुक्रबारदेखि चरणबद्ध आन्दोलन गरिरहेका छन् । किसानले बुधबार चार घन्टा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । उनीहरूले उखु काट्नै छोडेर आन्दोलन थालेपछि उद्योगसमेत बन्द रहेका छन् । किसानले विज्ञप्तिनै पेस गरेर क्रसिङ स्थगित गर्न आग्रह गरेपछि सर्लाहीको इन्दुशंकर चिनी उद्योग र महोत्तरीको चिनी उद्योग रामनगरले तत्काल सञ्चालन गर्न नसकिएको जनाएको हो । क्रसिङको सम्पूर्ण तयारी भइसकेको अवस्थामा किसानकै आग्रहमा क्रसिङ सुरु नगरेको इन्दुशंकर चिनी उद्योगका उखु प्रबन्धक योगनारायण रजकले बताए । 

पुसको पहिलो हप्ता सकिनै लाग्दासमेत उखु काट्ने सुरसार नभएपछि यसपटक उखु कटान चैत–वैशाखसम्म पुग्न सक्ने किसानको अनुमान छ । सो समयमा गर्मी बढ्दै जाने भएकाले मजदुरले काम गर्नसमेत नमान्ने हरिवन नगरपालिका– ८, निवासी कमलविक्रम कार्कीले बताए । उनले भने, ‘२० प्रतिशतसम्म ज्याला थपेर काम लगाउनुपर्छ ।’ त्यसले समेत किसानहरूलाई नै मारपर्ने किसान कार्कीको भनाइ थियो । 

 अनशनरत युवकको अवस्था जटिल
उखुको उचित समर्थन मूल्य र बाँकी अनुदान माग्दै आमरण अनशन बसेका किसानहरूको अवस्था जटिल बन्दै गएको छ । इन्दुशंकर चिनी उद्योगको मूलगेटमा आमरण अनशन बसेका हरिवन– ११, निवासी शेष इस्तिहारको स्वास्थ्य अवस्था गम्भीर बनेको चिकित्सकहरूले बताएका छन् । तीन दिनदेखि आमरण अनशनमा रहेका उनको स्वास्थ्य अवस्था मंगलबार एक्कासी बिग्रिएपछि स्लाइन पानी दिएर राखिएको छ ।  इस्तिहार विभिन्न पाँचबुँदे मागसहित चिनी उद्योगको मुख्य द्वारमा अनिश्चितकाल आमरण अनशन बसेका हुन् ।

उखुको लागत पनि नउठ्ने मूल्य मान्दैनौँ
कपिलमणि मैनाली, अध्यक्ष, उखु उत्पादक संघ

अहिलेको समर्थन मूल्यमा सहमति जनाउन सकिँदैन । चिनीको मूल्य बढ्ने, तर किसानको उखुको मूल्यचाहिँ लागतसमेत नउठ्ने गरी तोक्ने यस्तो पनि हुन्छ ? उखु किसानलाई निरुत्साहित बनाउने काम भयो । 

ad
ad