१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०८० मङ्सिर ३० शनिबार १८:४९:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

पोखरा घुम्न निम्ता दिँदै पोखरेली पर्यटन व्यवसायी भैरहवामा

भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनका लागि दबाब दिन सहकार्य गर्ने

Read Time : > 1 मिनेट
२०८० मङ्सिर ३० शनिबार १८:४९:००

भैरहवा र पोखराका पर्यटन व्यवसायीले पर्यटन क्षेत्र चलायमान बनाउन सहकार्य गरेर अगाडि बढ्ने बताएका छन्।

होटेल संघ पोखराले सञ्चालन गरेको ‘जाऊँ है पोखरा’ अभियानअन्तर्गत भैरहवामा शनिबार भएकोे पत्रकार भेटघाट एवं अन्तर्क्रिया कार्यक्रममा व्यवसायीहरूले यस्तो बताएका हुन्।

भैरहवामा आएका पर्यटकलाई पोखराको बारेमा जानकारी गराउने र पोखरामा आएका पर्यटकलाई भैरहवाको बारेमा जानकारी गराउने व्यवसायीले प्रतिबद्धता जनाएका छन्। पोखरा र भैरहवामा एकसाथ पर्यटन प्रवर्द्धन गर्नका लागि दुवै सहरमा निर्माण भएका अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनका लागि सामूहिक पहल गर्नुपर्नेमा उनीहरूको जोड छ।

काठमाडौंका सीमित व्यक्तिले आफ्नो फाइदाका लागि पोखरा र भैहरवाका विमानस्थल सञ्चालनमा अवरोध गरेको व्यवसायीहरूको आरोप छ। पोखरा–लुम्बिनी जोड्ने सिद्धार्थ राजमार्ग र बुटवलबाट नारायणगढ, मुग्लिङ हुँदै पोखरा जोड्ने राजमार्गको काम समयमै सम्पन्न गरिनुपर्नेमा समेत उनीहरूले जोड दिएका छन्।

कार्यक्रममा पर्यटन विकास परिषद् लुम्बिनीका अध्यक्ष रामु जोशीले पर्यटन क्षेत्र चलायमान गराउन एकीकृत रूपमा काम गर्नुपर्नेमा जोड दिए। उनले एक-अर्को प्रदेशमा रहेका पर्यटकीय स्थलका बारेमा जानकारी दिन सकिए पर्यटकको बसाई अवधि लम्ब्याउन सकिने प्रस्ट पारे।

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानका लागि आफूहरूले निरन्तर प्रयास गरे पनि केही चार्टर फ्लाइटबाहेक अन्य उडान हुन नसकेको बताए। उनले विमानस्थल सञ्चालनका लागि ठूलै आन्दोलन चलाउनुपर्ने अवस्था आउन सक्ने बताए। पोखरा र भैरहवाबाट सुरुमा नेपाल एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान गर्नुपर्ने उनको भनाइ छ।

सिद्धार्थ होटेल संघ भैरहवाका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले बनेका विमानस्थल सञ्चालन नभए अर्थतन्त्र चलायन नहुने धारणा राखे। अन्तर्राष्ट्रिय उडानका लागि दबाब दिन सिद्धार्थ सञ्जाल लुम्बिनी विगत चार महिनादेखि आन्दोलनमा रहेको उनले जानकारी दिए। माग सुनुवाइ नभए आन्तरिक उडानसमेत बन्द गर्ने व्यवसायीहरूको चेतावनी छ।

होटेल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले देशका सबै पर्यटन व्यवसायीका समस्या साझा रहेको बताए। सरकारले पूर्वाधार निर्माण गर्न उक्साएको, तर ब्याजदर बढाएर धोका दिएको उनको आरोप छ। अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि दबाब दिएजस्तै सञ्चालनका लागि पनि दबाब बढाउनुपर्ने अवस्था आएको उनले बताए। दुवै स्थानका विमानस्थल सञ्चालनका लागि दबाब दिन सहकार्य गर्ने उनले बताए।

पोखरामा यति वेला विभिन्न मेला महोत्सव चलिरहेको, अंग्रेजी नयाँ वर्षको अवसरमा सडक महोत्सव आयोजना भएको र नेपाली नयाँ वर्षमा समेत नव वर्ष फेवा महोत्सवजस्ता गतिविधि हुने भन्दै उनले पोखरामा आउन सबैलाई आग्रह गरे। उनले ४० हजार पर्यटकलाई एकसाथ व्यवस्थापन गर्न सक्ने क्षमता पोखराका होटेलहरूमा रहेको बताए।