मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर २७ बुधबार
  • Wednesday, 18 December, 2024
२o८o मङ्सिर २७ बुधबार १६:१२:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

आर्थिक अनियमितता गरेको आरोपमा प्रधानाध्यापक र खरिदारविरुद्ध शिक्षकले दिए उजुरी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o मङ्सिर २७ बुधबार १६:१२:oo

रौतहटको दुर्गा भगवती गाउँपालिकामा रहेको सरस्वती माध्यमिक विद्यालयमा व्यापक आर्थिक अनियमितता भएको भन्दै विद्यालयकै शिक्षकले अख्तियारमा उजुरी दिएका छन्।

दुर्गा भगवती– २ पिपरा भलोहियास्थित उक्त विद्यालयका तत्कालीन प्रधानाध्याक र खरिदारको मिलेमतोमा विभिन्न शीर्षकमा लाखौँ आर्थिक अनियमितता भएको भन्दै सोही विद्यालयका शिक्षक विपिनकुमार पाण्डेयले अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडामा उजुरी दर्ता गराएका हुन्।

सरस्वती माविका तत्कालीन प्रधानाध्याक यदुनी दास र विद्यालयका खरिदार अग्रजकुमार पाण्डेयको मिलेमतोमा विद्यालयको रकम अनियमितता गरेको भन्दै छानबिनको माग गर्दै अख्तियारमा उजुरी परेको हो।

०६६ सालमा विभागीय कारबाहीमा परेका खरिदार अग्रजकुमार पाण्डेयले पछिल्लो समयसमेत व्यापक आर्थिक अनियमितता गरेको र उनीमाथि कारबाहीको माग गर्दै सोही विद्यालयका शिक्षक विपिनकुमार पाण्डेयले अख्तियारमा उजुरी दिएका हुन्। प्रधानाध्यापक दास र खरिदार पाण्डेयले मिलेमतोमा विद्यालयको रकम पटकपटक आफ्नै बैंक खातामा हालेको उजुरीमा उल्लेख छ।

दास र पाण्डेयको मिलेमतोमा ०७९ सालको विभिन्न मितिमा विद्यामन्दिरको नाममा ६ लाख, जानकी पुस्तक पसलको नाममा ७५ हजार, प्रधानाध्यापक यदुनी दासको नाममा २५ हजार, सुलभ ट्रेडर्सको नाममा १९ हजार, यदुनी दासकै नाममा २० हजार, खरिदार अग्रजकुमार पाण्डेयको नाममा ८२ हजार ६ सय ६२, सुस्ती इलेक्ट्रोनिक्सको नाममा ९८ हजार ९ सय ७१ रुपैयाँ निकासा गरी आर्थिक अनियमितता गरेको उजुरीमा उल्लेख छ।

यसैगरी, जानकी पुस्तक पसलको नाममा दुई लाख ५० हजार, प्रियान्सु पुस्तक पसलको नाममा दुई लाख ५० हजार, यदुनी दासको नाममा १२ हजार पाँच सय १०, खरिदार अग्रजकुमार पाण्डेयको नाममा एक लाख ४९ हजार चार सय र पाण्डेयकै नाममा एक लाख पाँच हजार दुई सय ५१ रुपैयाँ निकासा गरेको पनि उजुरीमा दाबी गरिएको छ।

विभिन्न पसल र आफ्नै नाममा प्रधानाध्यापक र खरिदारले मिलेमतोमा चेक काटेर आर्थिक अनियमितता गरेको उजुरीमा उल्लेख छ। सरस्वती माविका प्रधानाध्यापक यदुनी दासले भने आफूहरूले विद्यालयको रकम हिनामिना नगरेको भन्दै आरोप अस्वीकार गरेका छन्।