
कैलालीको सत्यवती एकेडेमी धनगढीको फाप्ला मैदानमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को सेमिफाइनल प्रवेश गरेको छ।
काठमाडौंको क्रिकेट एक्सिलेन्स सेन्टरलाई ११ रनले पराजित गर्दै सत्यवती समूह ‘डी’ को विजेताको रूपमा सेमिफाइनलमा प्रवेश गरेको हो।
सत्यवती एकेडेमीले दिएको एक सय २७ रनको लक्ष्य पछ्याएको क्रिकेट एक्सिलेन्स सेन्टरले १९.१ ओभरमा सबै विकेट गुमाएर ११५ रनमा समेटियो। एक्सिलेन्स सेन्टरको ब्याटिङमा अर्जुन घर्तीले सर्वाधिक ३४ रन बनाए।
त्यस्तै, सचिन लेखकले १९, मनोज यादवले १७ र राजकुमार शाहले १३ रन बनाए। सत्यवती एकेडेमीको बलिङमा फिर्दोस अन्सारी र तृतराज दासले २-२ विकेट लिए। त्यस्तै, अभिषेक कोइराला, सन्तोष कार्की, रञ्जित कुमार र सन्दीप क्षेत्रीले १-१ विकेट लिए।
त्यसअघि टस जितेर ब्याटिङ गरेको सत्यवती एकेडेमीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर एक सय २६ रन बनाएको थियो। सत्यवतीको लागि कप्तान सन्तोष कार्कीले सर्वाधिक ४८ रन बनाए।
ओपनिङ गरेका उनले ३६ बलमा ४ चौका र २ छक्का प्रहार गरे। त्यस्तै इमरान शेख र सुजन गौतमले २१-२१ रन बनाए। क्रिकेट एक्सिलेन्स सेन्टरका अभिनाश बस्यालले २ तथा मनोज यादव, दयानन्द मण्डल र मोन्सन सिंहले १-१ विकेट लिए।
यसअघि समूह ‘सी’ बाट घोडाघोडी क्रिकेट एकेडेमी र समूह ‘बी’बाट युथ अफ टीकापुर सेमिफाइनल प्रवेश गरिसकेका छन्।
लिटल फ्लावरको सान्त्वना जित
सोमबार भएको खेलमा लिटल फ्लावर स्कुल धनगढीले रौतहटको गरुडा नगरपालिकालाई ५७ रनले पराजित गर्दै सान्त्वना जित हासिल गर्यो। लिटल फ्लावरले दिएको एक सय ३० रनको लक्ष्य पछ्याएको गरुडाले १५ ओभरमा ७२ रनमा सबै विकेट गुमायो।
गरुडाका डब्लु मलिकले २३ तथा नितेश यादवले २० रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्। लिटल फ्लावरका कप्तान कृष्ण कार्कीले सर्वाधिक ४ विकेट लिए। जुन क्रममा उनले ४ ओभरमा १० रन खर्चिए। त्यस्तै, विपिन खत्री, दिनेश अधिकारी र सचिन भट्टले २/२ विकेट लिए।
टस जितेर ब्याटिङ गरेको लिटल फ्लावर स्कुलले २० ओभरमा ७ विकेट गुमाएर एक सय २९ रन बनायो। लिटल फ्लावरका ओपनर मनिस थापाले अर्धशतकीय योगदान दिने क्रममा ४७ बलमा ४ चौका र १ छक्का मद्दतले ५० रन बनाए।
त्यसैगरी, अभिषेक पालले २९, अनिल रावतले १४ तथा विपिन खत्री र दिनेश अधिकारीले समान ११ रन बनाए। गरुडा नगरपालिकाको बलिङमा रूपेश सिंह, नितेश यादव र डब्लु मल्लिकले २/२ विकेट लिए।
जितको बाबजुद समूह ‘सी’ को उपविजेता लिटल फ्लावर सेमिफाइनल प्रवेश भने गर्न असफल रह्यो। तीनवटै खेलमा जित हासिल गरेको घोडाघोडी क्रिकेट एकेडेमी समूह ‘सी’ विजेताको रूपमा सेमिफाइनल प्रवेश गरिसकेको छ।
प्रतियोगिताको उपाधि विजेताले दुई लाख ५५ हजार र उपविजेताले एक लाख २८ हजार रुपैयाँ पुरस्कार पाउनेछन्।