मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० फाल्गुण २२ मंगलबार
  • Tuesday, 05 March, 2024
सिराहा नगरपालिका– ४ खिरौनामा रहेको तिलेश्वरी आधारभूत विद्यालयमा कक्षा १ मा १०, कक्षा २ मा पाँच, कक्षा ३ मा पाँच, कक्षा ४ मा सात र कक्षा ५ मा तीन गरी ३० बालबालिका मात्र नियमित आउँछन्
२०८० मङ्सिर २४ आइतबार ०६:०८:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

भर्ना ३०३ विद्यार्थी, आउँछन् ३० मात्र

Read Time : > 2 मिनेट
२०८० मङ्सिर २४ आइतबार ०६:०८:००

सिराहाको तिलेश्वरी आधारभूत विद्यालयमा भर्ना भएका दलित समुदायका विद्यार्थी कहिले भोज, मेला त कहिले खेताला जानुपर्ने भएकाले अधिकांश समय हुँदैनन् उपस्थित

सिराहा नगरपालिका– ४ खिरौनामा रहेको तिलेश्वरी आधारभूत विद्यालयमा तीन सय तीनजना विद्यार्थी अध्ययनरत छन् । विद्यालयको हाजिरी रजिस्टरमा बालकक्षादेखि कक्षा ५ सम्म तीन सय पाँचजना भर्ना भएको उल्लेख छ । तर, विद्यालयको रजिस्टरमा उल्लेख भएका बालबालिकाको १० प्रतिशत मात्र नियमित पठनपाठन गर्न विद्यालय आउने गरेका छन् । गाउँमा कहिले भोज त कहिले धान काट्न खेताला बस्नुपर्ने भएकाले धेरैजसो नआउने गरेको शिक्षकहरूको भनाइ छ ।

नयाँ पत्रिका टोली विद्यालय पुग्दा बालकक्षा र कक्षा १ एउटै कक्षाकोठामा सञ्चालनमा रहेको पाइयो । जसमध्ये कक्षा १ मा १०, कक्षा २ मा पाँच, कक्षा ३ मा पाँच, कक्षा ४ मा सात र कक्षा ५ मा तीन गरी ३० जना बालबालिका मात्र भेटिए । बालबालिका न्यून हुने हुँदा शिक्षकहरू समयअगाडि नै विद्यालय बन्द गरेर घर जाने गरेका छन् ।

प्रदीप यादव, प्रधानाध्यापक
२० वर्षदेखि यहीँ छु । गुणात्मक सुधार ल्याउन सकिएन । अभिभावकबाट पनि पूर्ण सहयोग नहुँदा शैक्षिक सुधारमा असर गरेको छ । दलित बालबालिका नै बढी भएकाले होला पालिकाले पनि त्यति वास्ता गरेको छैन ।

सो विद्यालयमा भर्ना भएका अधिकांश विद्यार्थी दलित समुदायका छन् । तीन सय तीनमध्ये एक सय ४० जना बालबालिका पासमान, महरा र दास थरका छन् । विद्यालयका प्रधानाध्यापक प्रदीप यादवले दलित समुदायका बालबालिका विद्यालय कम आउने गरेको भन्दै पन्छिए । ‘गाउँमा भोज छ, त्यही भएर बालबालिका आएनन्,’ उनले भने, ‘अरू दिन पनि दलित समुदायको बालबालिका विद्यालय कम आउँछन् ।’

कहिले धान काट्न खेताला बस्नुपर्ने बहाना, कहिले गाउँमा पूजा, मेला त कहिले भोजभतेरको बहानामा बालबालिका कम आउने गरेको भन्दै यादवले यसमा अभिभावक नै दोषी रहेको बताए । उनी २० वर्षदेखि सोही विद्यालयमा शिक्षण पेसामा छन् । पाँचजना दरबन्दी रहेको विद्यालयमा दरबन्दीअनुसारको शिक्षक पदपूर्ति भए पनि पठनपाठनमा लापरबाही भइरहेको छ । विद्यालयमा यादव २० वर्षदेखि, शिक्षक मो. असफाक २३ वर्षदेखि, शिक्षक श्यामकुमार महरा नौ वर्षदेखि, शिक्षक हरिनारायण यादव ६ वर्षदेखि, शिक्षक उर्मिला यादव १५ वर्षदेखि कार्यरत छन् ।

विद्यालयमा शिक्षक दरबन्दीअनुसार नै भए पनि पठनपाठनमा गुणात्मक सुधार ल्याउन नसकिएको यादवले स्वीकार गरे । ‘२० वर्षदेखि यहीँ छु । गुणात्मक सुधार ल्याउन सकिएन्,’ उनले भने, ‘अभिभावकवाट पनि पूर्ण सहयोग नहुँदा शैक्षिक सुधारमा असर गरेको छ ।’ विद्यालयमा बालमैत्री पठनपाठन गर्ने सामग्रीको अभावसँगै अतिरिक्त क्रियाकलाप पनि कमै मात्र हुँदै आएको स्थानीय आशा पासमानले बताइन् । शिक्षकहरू भए पनि पठनपाठन राम्रोसँग नहुँदा बालबालिका अन्यन्त्र पढ्न जान बाध्य भएको उनको भनाइ छ ।

प्रधानाध्यापक यादवले पठनपाठनको गुणात्मक सुधारमा स्थानीय सरकारबाट सहयोग नभएको गुनासो गरे । ‘दलित बालबालिका नै बढी भएकाले होला पालिकाले पनि त्यति धेरै वास्ता गरेको छैन,’ उनले भने, ‘लिखित रूपमा फर्निचर, बालबालिकालाई पोसाक, बाउन्ड्रीवाल, पंखा जडान गर्न आग्रह गरेको छु । केही दिएको छैन ।’

विद्यालयमा नयाँ पक्की भवन निर्माण भइसकेको छ । ३५ लाखको लागतमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत दुई आर्थिक वर्षमा गरी दुईतले दुई–दुई कोठाको पक्की भवन निर्माण भइरहेको छ । भवनको रंगरोगन र फिनिसिङको काम मात्र बाँकी छ । 

दातृ संस्थाले उपलब्ध गराएको एउटा टेलिभिजन बालबालिकालाई दिइएको छ । बालकक्षा र कक्षा १ का बालबालिका संयुक्त रूपमा पढ्ने कक्षाकोठामा टेलिभिजन जडान गरे पनि अहिले चल्दैन । टेलिभिजन नै बिग्रिएकाले चकडस्टरबाटै पठनपाठन गराउनुपरेको शिक्षक श्यामकुमार महराले बताए ।

कक्षाकोठामा थोत्रा चकटी
बालमैत्री विद्यालय लागू भएपछि सेभ द चिल्ड्रेनको सहयोगमा तत्कालीन जिल्ला शिक्षा कार्यालय सिराहाले बालबालिकालाई पढ्न फर्निचर, शैक्षिक सामग्री र भुइँमा ओछ्याउन चकटी प्रदान गरेका थिए । अहिले चकटी च्यातिएर थोत्रो भइसकेको छ भने अन्य शैक्षिक सामग्रीको उपयोग नै भइरहेको छैन ।

विद्यालयले व्यवस्थापन समिति गठन गर्न गत वर्ष ०७९ पुसमा अभिभावक भेला राखेको थियो । भेलाबाट चारजना सर्वसम्मत रूपमा चयन भए । रामअधिन पासमान, लक्षणा महरा, रेणु पासमानलगायत चयन भए । समिति चयन भए पनि विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा विवाद भएपछि एक वर्षदेखि समितिले पूर्णता पाउन सकेको छैन ।