१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
२o८१ जेठ ३ बिहीबार १o:o५:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

ओलीलाई गुल्मेलीकाे माया : कफीकै माला, कफी नै उपहार

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १o:o५:oo

नेपालमा गुल्मीको आँपचौरलाई कफीको उदगम स्थल मानिन्छ । गत बुधबार मुसिकोट नगरपालिकाको प्रशासकीय भवनको उद्घाटन गर्न वामी आएका नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीदम्पतीलाई आयोजकले कफीको माला लगाइदिए ।

स्वागतपछि मञ्चमा बसेका ओलीले फूलकाे माला टेबलमा राखे । कफीको माला पहिरिरहे । ओलीदम्पतीले त्यति मात्रै गरेनन्, केहीबेर मालाको विषयमा गफ पनि गरे । भवन उद्घाटन र सम्बाेधन सकेर फर्किने समयमा नगरपालिकाले मायाकाे चिनाेस्वरूप ओलीलाई कफी नै उपहार दियो । 

कफी गुल्मी जिल्लाको पहिचान हो । कफीसँग गुल्मीको करिब ८० वर्ष पहिलेको इतिहास छ । जहाँ नेपालमै पहिलोपटक तत्कालीन आँपचौर गाविसका स्थानीय हिरा गिरीले म्यानमारबाट ल्याएर कफीको बिरुवा रोपेका थिए । आँपचौरका कफी बगैँचा तत्कालीन राजा वीरेन्द्रले समेत अवलोकन गरेका थिए । गुल्मीकै कारण नेपालभर कफीको व्यावसायिक खेती विस्तार सुरु भएकाे मानिन्छ । गुल्मीमा कफीको विकास र विस्तारका लागि ०४१ सालमा  कफी विकास केन्द्र स्थापना गरिएको छ ।

पछिल्लो समय कफीमा सेतो गवारो र सिन्दुरे रोगको प्रकोप देखिएको छ । जसले गर्दा किसान हैरान छन् ।  तैपनि कफी खेतीको आकर्षण घटेको छैन । कफीको उदगमस्थल आँपचौर मुसिकोट नगपालिका- ५ मा पर्ने भएकाले नगरलाई पहिचान जोगाउनुपर्ने चुनौती पनि छ । किसानले कफीका बोटहरू काटेर अरू खेती गर्न थालेपछि कफीको उदगम जिल्लामै कफीको उत्पादन ह्वात्तै घट्दै गयो । जसले मुसिकोटसँगै जिल्लाको पहिचान गुम्ने भएपछि स्थानीय तहपछि मुसिकोट नगरपालिकाले कफीको क्षेत्रमा थुप्रै काम गरेको छ । जसका कारण किसानहरू उत्साहित भएका छन् ।

‘कफी लगाऔँ, आम्दानी बढाऔँ’

मुसिकोटले ०७४ सालबाटै ‘कफी लगाऔँ, आम्दानी बढाऔँ’ अभियान सुरु गरेको छ । कफी क्षेत्र विस्तारमा टेवा पुर्‍याउने उद्देश्यले कार्यविधि निर्माण गरेर एक सय बिरुवा कफी रोप्ने किसानलाई १० हजार अनुदानको व्यवस्था गरिएको मुसिकोट नगरपालिकाका मेयर जीवन खरेलले बताए । अभियानअन्तर्गत अहिलेसम्म एक लाख एक हजार पाँच सय कफीका बिरुवा रोपिएको छ । 

कृषि पर्यटन र उद्योग नै मुसिकोटको समृद्धिको आधार भएकाले कफीको विकासमा आफूहरूको जोड रहेको खरेलले बताए । अभियानबाट एक सय २७ जना कृषक र चार समूह लाभान्वित भएका छन् । त्यस्तै नगर र कृषि ज्ञान केन्द्र गुल्मीको साझेदारीमा २० हजार, प्रधानमन्त्री आधुनिककीरण परियोजनामार्फत १४ हजार तीन सय कफीका बिरुवा नगरका विभिन्न स्थानमा रोपिएको नगरपालिकाका कृषि अधिकृत जनक पौडेलले जानकारी दिए । 

कफी विकास केन्द्रमार्फत करिब दुई सय रोपनी जग्गामा कफी बिरुवा रोपेर बगैँचा विस्तार, नर्सरी स्थापना र कफी अनुसन्धानका कामहरू अगाडि बढेको पौडेलले बताए । मुसिकोट नगरपालिका- ५ आँपचौरमै पाँच हजार कफीका बिरुवा रोपिएको छ । मुसिकोट नगरपालिका- ३ र ५ लाई कफी पकेट क्षेत्र बनाइएको छ । 

ad
ad