Skip This
पोर्चुगलका लागि प्रस्तावित राजदूतको सुनुवाइ आज 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर २२ शुक्रबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o मङ्सिर २२ शुक्रबार o८:o१:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

पोर्चुगलका लागि प्रस्तावित राजदूतको सुनुवाइ आज 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o मङ्सिर २२ शुक्रबार o८:o१:oo

पोर्चुगलका लागि नेपाली राजदूतमा प्रस्तावित सनिल नेपालको संसदीय सुनुवाइ शुक्रबार हुने भएको छ । मन्त्रिपरिषद्बाट २३ कात्तिकमा राजदूत सिफारिस नेपालविरुद्ध परेको उजुरीमा छलफल गरेर संसदीय सुनुवाइ समितिले शुक्रबार दिउँसो सुनुवाइ गर्ने निर्णय गरेको हो ।

समितिले बिहीबार प्रस्तावित राजदूत नेपालविरुद्ध परेको एउटा उजुरी खोलेर सांसदहरूलाई वितरण गरेको छ । उज्ज्वलकृष्ण श्रेष्ठले दिएको उजुरीमा राजदूत नियुक्तिसम्बन्धी निर्देशिकाविपरीत भएको अनुपयुक्त सिफारिस अनुमोदन नगर्न माग गरिएको छ । कांग्रेस भ्रातृ संगठन नेविसंघको नेता र कांग्रेस नेता शशांक कोइरालानिकट हुनुबाहेक उनको कुनै योग्यता नरहेको, पोर्चुगल देशसहित कुनै पनि परराष्ट्र मामिला नीति र अन्तर्राष्ट्रिय सम्बन्ध एवं कूटनीतिक क्षेत्रका अनुभव र ज्ञान नभएकाले अयोग्य रहेको उजुरीकर्ताको जिकिर छ । उजुरीको पुस्ट्याइँ र औचित्यतता पुष्टि गर्न समितिले शुक्रबारै उजुरीकर्ता श्रेष्ठलाई बोलाएको छ । उनीसँग छलफल गरिसकेपछि समितिले प्रस्तावित राजदूत नेपालको सुनुवाइ सुरु गर्नेछ । 

पोर्चुगलमा दूतावास खोल्ने र राजदूत पठाउने निर्णयबारे स्पष्ट पार्न समितिले परराष्ट्रमन्त्री एनपी साउदलाई बोलाएको छ । शुक्रबार साढे २ बजे बस्ने बैठकमा दूतावास खोल्ने निर्णयबारे जानकारी गराउन मन्त्री साउदलाई आमन्त्रण गरिएको समिति सचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए । बिहीबारको बैठकमा एमाले सचेतक महेश बर्ताैलाले मुलुकको आर्थिक अवस्था ठीक नभएको, तर दूतावासको आवश्यकता खड्किएका वेला सरकारले आवश्यकताका आधारमा दूतावास खोल्ने निर्णय गरेको हो कि एकाध व्यक्तिलाई नियुक्ति गर्न भन्ने सवाल उठाउँदै सरकारसँग जवाफ मागेका थिए । त्यसपछि समितिले परराष्ट्रमन्त्रीलाई बोलाउने निर्णय गरेको हो ।

६ न्यायाधीशको सुनुवाइ अर्काे साता
समितिले सर्वाेच्च अदालतमा सिफारिस ६ जना न्यायाधीशको सुनुवाइ अर्काे साता गर्ने भएको छ । समितिका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराका अनुसार २७ मंसिरदेखि न्यायाधीशको सुनुवाइ अघि बढ्नेछ । ५ मंसिरमा न्यायपरिषद्ले सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनीलकुमार पोखरेल र बालकृष्ण ढकाललाई सर्वाेच्च न्यायाधीश पदमा सिफारिस गरेको थियो । सुवेदी, मुसलमान, पौडेल र ढुंगाना उच्च अदालतका न्यायाधीश हुन् भने पोखरेल र ढकाल वरिष्ठ अधिवक्ता हुन् ।