Skip This
सुदूरपश्चिम महोत्सवको तयारी अन्तिम चरणमा, प्रधानमन्त्रीले शुक्रबार उद्घाटन गर्ने 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर २१ बिहीबार
  • Friday, 26 July, 2024
तस्बिर : महोत्सवस्थलमा बनाइएको थारु समुदायको परम्परागत घर
२o८o मङ्सिर २१ बिहीबार १७:४o:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

सुदूरपश्चिम महोत्सवको तयारी अन्तिम चरणमा, प्रधानमन्त्रीले शुक्रबार उद्घाटन गर्ने 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o मङ्सिर २१ बिहीबार १७:४o:oo

धनगढीमा शुक्रबारबाट सुदूरपश्चिम महोत्सव सुरु हुँदै छ। आयोजक कैलाली उद्योग वाणिज्य संघले बिहीबार पत्रकार सम्मेलन गरेर महोत्सवको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महोत्सव उद्घाटन गर्ने कार्यक्रम छ। महोत्सव उद्घाटन गर्न प्रधानमन्त्री दाहाल शुक्रबार बिहान नियमित हवाई उडानबाट धनगढी आउँदै छन्।

मध्याह्न साढे १२ बजे महोत्सव उद्घाटन कार्यक्रम तय गरिएको संघका अध्यक्ष पुष्पराज कुँवरले जानकारी दिए। सो क्रममा प्रधानमन्त्रीलाई सुदूरपश्चिमको विकाससँग सम्बन्धित १० बुँदे मागपत्र बुझाउने संघको तयारी छ। महोत्सव उद्घाटनमा सरकार प्रमुख, राष्ट्रप्रमुखलगायत विशिष्ट व्यक्तिहरूलाई आमन्त्रण गरेर सुदूरपश्चिमको विकासमा ध्यानाकर्षण गराउने परम्परालाई यसवर्ष पनि निरन्तरता दिन लागिएको अध्यक्ष कुँवरले बताए।

धनगढीसँग जोडिएको गौरीफन्टा नाकालाई अन्तर्राष्ट्रिय नाकाको रूपमा स्तरोन्नति गर्नुपर्ने, सुदूरपश्चिममा प्रदर्शनीस्थल निर्माण गर्नुपर्ने, उद्योग स्थापनामा प्रोत्साहन गर्न सुदूरपश्चिमलाई १० वर्षसम्म करमुक्त क्षेत्र घोषणा गर्नुपर्ने माग संघले अघि सारेको छ। त्यस्तै, यहाँ विशेष औद्योगिक क्षेत्र स्थापना, चीनसँगका नाका खोल्नुपर्ने, पश्चिम सेती आयोजनाको निर्माण, कृषि विश्वविद्यालय र सूचना प्रविधि केन्द्र स्थापनालगायतका मागहरू प्रधानमन्त्रीसमक्ष राखिने अध्यक्ष कुँवरले बताए।

संघले १७ वर्षदेखि बर्षेनि गर्दै आएको महोत्सवमा राष्ट्रप्रमुख, सरकार प्रमुख र विशिष्ट व्यक्तिलाई बोलाएर सुदूरपश्चिमको विकाससँग सम्बन्धित मागपत्र बुझाउँदै आएको छ। संघले महोत्सवको सुरुवातका वर्षमा तत्कालीन सरकार प्रमुखलाई आमन्त्रण गरेर २१ बुँदे मागसहित २१ किलोको माला पहिर्‍याएको थियो। २१ मध्ये हालसम्म पाँचवटा माग पूरा भएका र छवटा माग आंशिक पूरा भएका अध्यक्ष कुँवरले बताए।
    
महोत्सवले सुदूरपश्चिमको विकासमा राज्यको ध्यानाकर्षण गराउनुका साथै यहाँका सम्भावनाको उजागर गर्न र कला, संस्कृतिको संरक्षणमा योगदान गर्दै आएको संघको दाबी छ। ‘सुदूरपश्चिमको पर्यटन, कृषि र उद्योग व्यापारको विकास तथा यहाँका सम्भावनाको उजागर गर्न महोत्सवले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ,’ अध्यक्ष कुँवरले भने, ‘व्यापार व्यवसाय विस्तारमा पनि महोत्सव सहयोगी बनेको छ।’

पछिल्लो समय आर्थिक, सामाजिक कारणले प्रतिकूल अवस्थाबाट गुज्रिरहेको व्यापार व्यवसायलाई पुनर्स्थापित गर्न पनि महोत्सव सहयोगी साबित हुने उनले दाबी गरे।

१० करोडको कारोबार हुने अनुमान
१० दिनसम्म सञ्चालन हुने महोत्सवलाई साढे छ लाख व्यक्तिले अवलोकन गर्ने संघको अनुमान छ। महोत्सवस्थलमा रहेका स्टलहरूबाट १० करोडको आर्थिक कारोबार हुने अनुमान गरिएको अध्यक्ष कुँवरले बताए।

कृषि, जडिबुटी, हस्तकला, फर्निचर, अटोमोबाइल, गार्मेन्ट, इलेक्ट्रोनिक, होटेल, सूचना प्रविधिलगायतका चार सयवटा स्टलहरू रहने संघले जनाएको छ।

थारू र रानाथारू समुदायको संस्कृति जगेर्नाका लागि संग्रहालयसहित निर्माण गरिएको गाउँ महोत्सवको आकर्षणको रूपमा रहेको छ। त्यस्तै, कृषि र घरेलु उत्पादनलाई प्राथमिकता दिइएको अध्यक्ष कुँवरले बताए।