Skip This
एनसेलको कुल सम्पत्ति ८४ अर्ब २७ करोड, पछिल्ला वर्षको औसत नाफा पौने १० अर्ब 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर २१ बिहीबार
  • Saturday, 27 July, 2024
कृष्ण रिजाल काठमाडाैं
२o८o मङ्सिर २१ बिहीबार o६:२७:oo
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

एनसेलको कुल सम्पत्ति ८४ अर्ब २७ करोड, पछिल्ला वर्षको औसत नाफा पौने १० अर्ब 

Read Time : > 2 मिनेट
कृष्ण रिजाल, काठमाडाैं
नयाँ पत्रिका
२o८o मङ्सिर २१ बिहीबार o६:२७:oo

वार्षिक सरदर नौ अर्ब ७५ करोड रुपैयाँ नाफा आर्जन गरिरहेको मोबाइल सेवाप्रदायक कम्पनी एनसेलको ८० प्रतिशत सेयर ६ अर्ब ६६ करोड रुपैयाँमा मात्रै बिक्री गरेपछि कारोबार शंकास्पद देखिएको छ । जब कि कम्पनीको कुल सम्पत्ति नै सवा ८४ अर्ब रुपैयाँ रहेको छ । 

एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो वेबसाइटमा राखेको त्रैमासिक प्रतिवेदनअनुसार एनसेलको कुल सम्पत्ति ८४ अर्ब २६ करोड ८० लाख रुपैयाँबराबरको छ । जसमध्ये खुद सम्पत्ति ७० अर्ब ४३ करोड ७० लाख र नगदसहितको तरल सम्पत्ति १३ अर्ब ८३ करोड १० लाख रहेको छ । तर, कुल सम्पत्तिभन्दा ७८ अर्ब २६ करोड रुपैयाँ कममा सेयर बिक्री भएको देखिन्छ । 

आजियाटाले एनसेलमा रहेको आफ्नो ८० प्रतिशत हिस्सा (सम्पूर्ण सेयर) बेलायतको कम्पनी स्पेक्ट्रलाइट युके लिमिटेडलाई बिक्री गर्ने गरी ‘सेयर खरिद–बिक्री सम्झौता’ गरिसकेको छ । सन् २०१६ मा करिब एक खर्ब ४३ अर्ब रुपैयाँ (एक अर्ब ३६ करोड ५१ लाख डलर)मा टेलियासोनेरासँग खरिद गरेको सेयर ६ अर्ब ६६ करोड रुपैयाँ (पाँच करोड अमेरिकी डलर)मा बिक्री गरेको आजियाटाले बताएको छ । 

एनसेलको पछिल्लो तीन वर्षको औसत नाफा नौ अर्ब ७५ करोड रुपैयाँ रहेको देखिन्छ । सन् २०२१ मा १२ अर्ब २३ करोड र सन् २०२२ नौ अर्ब १५ करोड नाफा आर्जन गरेको थियो । चालू वर्ष सन् २०२३ को तेस्रो त्रैमासमा एनसेलले ६ अर्ब नौ करोड रुपैयाँ नाफा आर्जन गरिसकेको छ । यसलाई आधार मान्दा यस वर्ष एनसेलकोे नाफा सवा आठ अर्बसम्म पुग्ने देखिन्छ । 

कम्पनीको दायित्वतर्फ बैंकको ऋण १५ अर्ब ५१ करोड रुपैयाँ पुगेको आजियाटाले जनाएको छ । त्यस्तै, लिज दायित्व तीन अर्ब ५७ करोड रुपैयाँ रहेको छ । कम्पनीको विद्यमान दायित्वभन्दा सम्पत्ति तीन गुणाभन्दा बढी देखिन्छ । 

नियमित नाफा आर्जन गरिरहेको तथा देखिने दायित्वभन्दा सम्पत्ति बढी भएको कम्पनीको स्वामित्व बिक्री अपत्यारिलो मूल्यमा भएको दूरसञ्चार प्राधिकरणका एक अधिकारीले बताए । ‘एनसेलको ८० प्रतिशतको सेयर मूल्य ६ अर्ब ६६ करोड मात्रै हुनु अपाच्य देखिन्छ, यसमा केही न केही चलखेल छ,’ उनले भने, ‘मुख्यगरी कर छली गर्ने र एनसेललाई ऐनअनुसार सरकारको स्वामित्वमा आउनबाट रोक्ने प्रपञ्च भएको देखिन्छ ।’ विदेशी लगानी पनि निरुत्साहित नहुने गरी कर छली र स्वामित्व हस्तान्तरणमा गर्न खोजिएको तिकडमलाई रोक्नुपर्ने उनले बताए । 

कम्पनीसँग तीन हजार दुई सय ४० वटा थ्रिजी र चार हजार दुई सय ९२ वटा फोरजीका बिटिएस टावर रहेका छन् । हाल एनसेलका एक करोड ६६ लाख ग्राहक छन् । नेपालको कुल जनसंख्याको ८८.३१ प्रतिशतभन्दा बढीमा एनसेलको फोरजी पहुँच पुगिसकेको आजियाटाले जनाएको छ । 

एनसेलले १६ भदौ ०६१ मा मोबाइल सेवाप्रदायकको अनुमति प्राप्त गरेको हो । दूरसञ्चार ऐन, २०५३ को दफा २५ अनुसार अनुमतिपत्रको अवधि २५ वर्षको हुन्छ । सोही ऐनको दफा ३३ ले म्याद सकिएपछि अनुमतिपत्र सरकारको स्वामित्वमा आउने व्यवस्था गरेको छ । 

‘जम्मा पुँजी लगानीको ५० प्रतिशतभन्दा बढी विदेशी व्यक्ति वा संगठित संस्थाको लगानी भएको दूरसञ्चार सेवासँग सम्बन्धित जग्गा, भवन, यन्त्र–उपकरण तथा संरचनामा अनुमतिपत्रको अवधि समाप्त भएपछि नेपाल सरकारको स्वामित्व हुनेछ,’ ऐनको व्यवस्था छ । यो व्यवस्थाअनुसार १७ भदौ ०८६ मा एनसेलको स्वामित्व नेपाल सरकारको नाममा आउँछ । तर, सोही ऐनको अर्को व्यवस्थालाई टेकेर अहिले नेपाल सरकारमा आउने स्वामित्व रोक्ने प्रपञ्च भइरहेको प्राधिकरणका अधिकारीहरू बताउँछन् । 

ऐनको दफा ३३ को उपदफा ४ मा भनिएको छ, ‘जम्मा पुँजी लगानीको ५० प्रतिशतसम्म विदेशी व्यक्ति वा संगठित संस्थाको लगानी भएको दूरसञ्चार सेवाको संरचना अनुमतिपत्रको अवधि समाप्त भएपछि पूर्वअनुमतिपत्र प्राप्त व्यक्तिले पुनः अनुमतिपत्र लिई सञ्चालन गर्न सक्नेछ ।’ यही व्यवस्थालाई टेकेर सस्तो मूल्यमा विदेशी स्वामित्व नेपालीको नाममा ल्याएर कर पनि छल्ने अनि सरकारमा जाने स्वामित्व पनि रोक्ने गरी चलखेल भएको हुन सक्ने प्राधिकरणका एक अधिकारीले बताए ।