१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २२ शनिबार o६:१o:oo
Read Time : > 1 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

एनसेलको सेयर बिक्री प्रक्रिया शंकास्पद रहेको सत्तागठबन्धनको निष्कर्ष

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o६:१o:oo

सत्तागठबन्धनका दलहरूले एनसेलको सेयर बिक्री शंकास्पद देखिएको निष्कर्ष निकाल्दै गम्भीर छानबिनका लागि सरकारलाई आग्रह गरेका छन् । प्रधानमन्त्रीनिवास बालुवाटारमा मंगलबार साँझ बसेको गठबन्धनको बैठकले छानबिनको निष्कर्षका आधारमा अगाडि बढ्न सरकारलाई सुझाएको छ ।

सत्तागठबन्धनले मन्त्रिपरिषद्बाट छानबिन समिति गठन गरेर सेयर खरिद–बिक्री प्रक्रिया कानुनसम्मत भए–नभएको निर्क्योल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई सुझाव दिएको छ । बैठकमा गठबन्धन दलका शीर्ष नेतासँगै केही मन्त्री, मुख्यसचिव र सचिवसमेत उपस्थित थिए । 

बैठकको सुरुमा प्रधानमन्त्री प्रचण्डले विस्तृत छानबिन गरेर त्यसको निष्कर्षका आधारमा अगाडि बढ्ने बताएका थिए । ‘यो प्रकरणलाई देश र जनताको अधिकतम हितमा केन्द्रित रहेर निष्कर्षमा पुर्‍याइन्छ । सरकारका तर्फबाट हुनुपर्ने अध्ययन, छानबिन गरिन्छ । यसमा सरकारले कुनै पनि मोलाहिजा गर्दैन,’ बैठकमा प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै माओवादी उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले भने । विज्ञहरूको बलियो टिम बनाएर छानबिन गर्ने प्रधानमन्त्रीको प्रस्ताव थियो । 

प्रधानमन्त्रीको प्रस्तावमा कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, लोसपा अध्यक्ष महन्थ ठाकुरलगायत उपस्थित गठबन्धनका सबै नेताले समर्थन जनाए । ‘प्रधानमन्त्रीले भन्नुभएको ठीक हो, सरकारले यसलाई गम्भीर रूपमा लिएर सूक्ष्म अध्ययन गर्नुपर्छ । त्यसको निष्कर्षका आधारमा मात्रै अगाडि बढ्नुपर्छ,’ बैठकमा देउवाको भनाइ थियो । 

एकीकृत समाजवादीका अध्यक्ष नेपालले अपारदर्शी कारोबार देखिएकाले मसिनो ढंगले अध्ययन गरेर निष्कर्षमा पुुग्नुपर्ने बताएका थिए । ‘एनसेल प्रकरणमा प्रधानमन्त्रीको सक्रियता राम्रो छ । बदमासीको राम्रो ढंगले अध्ययन गरेर कानुनी दायरामा ल्याउनुपर्छ,’ बैठकमा उनको भनाइ थियो, ‘मन्त्रिपरिषद्ले आवश्यक निर्णय गरोस् । कानुनविपरीत र देशको हितविपरीतका कामलाई सरकारले रोक्नुपर्छ ।’ लोसपा अध्यक्ष ठाकुरले प्रधानमन्त्रीको कदम सकारात्मक रहेको बताएका थिए । ‘प्रधानमन्त्रीले जुन कदम चाल्नुभयो, त्यसमा हाम्रो साथ छ । छानबिन समिति गठन गरेर अगाडि बढौँ,’ उनको भनाइ थियो । 

बैठकपछि कांग्रेस प्रमुख सचेतक रमेश लेखकले पनि प्रधानमन्त्रीको प्रस्तावमा सबै नेताले समर्थन जनाएको बताए । ‘एनसेलको सेयर खरिद–बिक्री कानुनअनुसार सरकारी निकायको स्वीकृति लिएर गर्नुपर्नेमा त्यसअनुसार भएको छैन । गतिविधि शंकास्पद छन्, त्यसमा प्रश्न उठेका छन् । यसबारे प्रधानमन्त्रीले हिजोअस्ति धारणा राख्नुभयो, यो विषय गम्भीर छ । यसलाई गम्भीरतापूर्वक लिइएको छ,’ उनले भने, ‘देशको हितप्रतिकूल जुन गतिविधि भएका छन् त्यसलाई सूक्ष्म रूपमा छानबिन गर्ने कुरा प्रधानमन्त्रीले भनिसक्नुभएको छ । आजको यो बैठक प्रधानमन्त्रीले भन्नुभएको ठीक छ भन्ने निष्कर्षमा पुगेको छ ।’ 

शंकास्पद रूपमा सेयर खरिद–बिक्री भएको भन्दै संसद्को सार्वजनिक लेखा समितिले पनि नियामक निकायहरू दूरसञ्चार प्राधिकरण, कम्पनी रजिस्ट्रारको कार्यालय र आन्तरिक राजस्व विभागलाई पत्राचार गर्दै जवाफ मागेको छ । 

एनसेलबारे छलफल गर्न आज लेखा समितिको बैठक 

संघीय संसद्को सार्वजनिक लेखा समितिले दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलको सेयर खरिद–बिक्रीबारे छलफल गर्न बैठक बोलाएको छ । समितिका सचिव एकराम गिरीका अनुसार बैठक बुधबार दिउँसो २ बजे बस्नेछ । उनका अनुसार बैठकमा एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा प्रारम्भिक छलफल हुनेछ ।

यसअघि समितिले एनसेलको सेयर खरिद–बिक्रीमा कर छलीको आशंका गर्दै नियामक निकायसँग जवाफ माग गरिसकेको छ । आइतबार समितिले तीनवटा नियामक निकाय आन्तरिक राजस्व विभाग, नेपाल दूरसञ्चार प्राधिकरण र कम्पनी रजिस्ट्रारको कार्यालयसँग जवाफ मागेको थियो । 

ad
ad