
परिस्थितिले बेसाहारा बने १०१ वर्षका गोरे र ९३ वर्षीया पवी पुन। चाइनाबगरको चिसो बतास, दिउँसो घामले जमिन छोप्दा पनि पीडाले मन न्यानो छैन। बिहान–साँझ ज्यान खाने जाडो छ। भूकम्पले घर ढलेपछि ज्यानमा सिरेटाे छेक्ने ठाउँ छैन। उनीहरू भूकम्प गएको रातदेखि पालको ओतमा बसेका छन्। पुनदम्पतीले आयु त भाग्यमानी पाए। तर, दैवले जीवन, जीवनजस्तो कहिल्यै हुन दिएन। उनीहरूले एउटा छोरा द्वन्द्वमा गुमाए। अरू दुईजना कालगतिले बिते।
वृद्ध जोडी भूकम्पले घरवास गुमाए, भाग्यले ज्यान जोगाए। तर, पालका चिसा रात बिताइरहेका उनीहरू चिसो नै काल हुने आशंका गर्छन्। नसुतेका रात र नरुचेको खानाले बुढेसकाल निकै कष्टपूर्ण बनिरहेको छ। ‘द्वन्द्वले छोरा ढल्यो भूकम्पले घर। अब जीवनमा गुमाउनुबाहेक प्राप्त गर्नु केही रहेन,’ ९३ वर्षीया पवि पुनले भनिन्, ‘मर्ने वेलामा घरबाहिर भइयो।’
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका– १ चाइनाबगर भूकम्पको सबैभन्दा प्रभावित ठाउँ हो। १७ कात्तिकको भूकम्पले चाइनाबगरमा उठेका घरहरू कम छन्। ढलेका घर र गलेका बेचैन पीडितहरूलाई उद्धारमा खटिएका स्वयंसेवकहरूबाहेक ढाडस दिन राज्य पनि संयन्त्र छैन। गुल्मीबाट खटिएका एमालेका युवा स्वयंसेवकहरूले पालबाट टहरामा सारेपछि प्रेमबहादुर पुनले आँखाबाट आँसु झारे। पुनले भूकम्पबाट छोराबुहारी र नातिनातिना गरेर चारजनासहित घरगोठ गुमाए। कान्छा छोरा गोविन्द पुन त सानो छोरा बोकेर भागेका पनि हुन्। तर, माथिबाट झरेका ढुंगाले छोरा खोस्यो, आफू जोगिए। पुन परिवार अझै पीडाले मूर्च्छित छ। कैयौँ दिन खाद्यान्न र लत्ताकपडा भत्किएका घरभित्रबाट निकाल्ने हिम्मत आएन। ‘गुमेका सन्तानको पीडा र भूकम्पको त्रासले ननिदाएर कैयौँ रात बिते। ढलेका छोराबुहारी र नातिनातिनासँगै घरको आस त भएन,’ उनले भने, ‘पुरिएको सम्पत्तिसमेत पाउँला भन्ने भएन।’
गुल्मीबाट खटिएका युवा स्वयंसेवकहरूले पुनको परिवारलाई पालबाट टहरोमा सारेका छन्। शेरबहादुर पुन र निर्मला पुनको मानवीय क्षति भएन। तर, ढलेका घरहरूसँगै खाने र ओढ्नेओछ्याउने पुरिए। दुई साता बारीमा पालको ओतसँग चिसो रात कटाए। ‘कैयौँ दिन भोक टार्ने र चिसो छेक्ने उपाय भएन। घर ढल्यो अन्न र कपडा पुरिए,’ निर्मला पुनले भनिन्, ‘सरकारले पालबाहेक केही दिएको छैन।’
राष्ट्रपति, प्रधानमन्त्री र नेताहरू भूकम्प प्रभावित क्षेत्रमा पुगेर गफ गरेजस्तो काम गाउँमा काम देखिएन। अहिलेसम्म गाउँमा सरकारले घटना मुचुल्का गरेर सकेको छैन। भूकम्पपीडित बालबालिका, वृद्धा र सुत्केरी चिसोले बिरामी पर्न थालेका छन्। तर, सरकारका संयन्त्र अलमलमै देखिएको स्थानीय कृष्णबहादुर पुनले गुनासो गरे। उनले गाउँमा अहिलेसम्म गुल्मी एमालेका युवाहरूबाहेक पुनर्स्थापनाका लागि सहयोग गर्न कोही नआएको बताए। ‘गुल्मीको स्वयंसेवक टोली पहिलोपटक आएर भग्नावशेष हटाउने र टहरा निर्माणमा ठूलो सहयोग गरिरहेको छ,’ उनले भने, ‘अझै मुचुल्का नसक्ने राज्यसँग जनताको के आस।’
स्थानीयलाई अहिले भूकम्प र चिसोको मात्रै डर छैन, वर्षात् सुरु भएपछि तल भेरी नदीले तान्ने र माथिबाट भूकम्पले चर्किएका पहाड खस्ने चिन्ता उस्तै छ।
स्वयंसेवक भन्छन्– आँसुमा डुबेको छ चाइनाबगर
१७ कात्तिकमा रुकुमपश्चिम र जाजरकोटमा भूकम्प गएपछि नेकपा एमालेले देशभरबाट स्वयंसेवक घटनास्थलमा खटाउने निर्णय गर्याे। गुल्मीबाट जिल्ला अध्यक्ष बालसिंह काउछाको नेतृत्वमा १५ जनाको टोली ६ मंसिरमा रुकुम पश्चिम पुगेको थियाे।
टोलीले १५ दिन भग्नावशेष हटाउने, टहरा निर्माण गर्ने र पीडितलाई मनोसामाजिक परामर्श दिने काम गर्नेछ। टोलीको नेतृत्व गरिरहेका अनेरास्वावियु लुम्बिनी प्रदेशका सहसचिव शोभाखर गिरीले आफूहरू पुग्दा रुकुम पश्चिमको चाइनाबगर आँसुमा डुबेको बताए। ‘तल भेरी नदी, माथि भूकम्पले फाटेका पहाड। चाइनाबगरमा उठेका घर देखिँदैनथे,’ उनले भने, ‘सवैको आँखामा आँसु देख्यौँ, सरकारको तर्फबाट शव निकाल्नेबाहेकका केही काम भएको रहेनछ।’
अहिले पनि अधिकांश पीडित बाहिर पालमा र राहतका लागि चिट्टा थुत्ने अवस्था रहेको गिरीले बताए। उनले द्वन्द्वबाट परिवारका सदस्य गुमाएका परिवारलाई भूकम्पले दिएको चोट निकै पीडादायी रहेको बताए। सहसचिव गिरीका अनुसार टोलीले अहिलेसम्म गोरे पुन, प्रेम पुन, शेरबहादुर पुन, निर्मला पुन र पल्लबी पुनको परिवारलाई टहरामा राख्ने तथा भग्नावशेष हटाउने काम गरिरहेको बताए।
त्यस्तै भूकम्पले क्षतिग्रस्त भेरीदोभान माविका विद्यार्थीको लागि आठवटा टहरा निर्माण गरेर विद्यार्थीलाई राख्न सफल भएको गिरीले बताए।