
भ्रममा बाँच्नु र आफ्नै प्रोपगान्डामा विश्वास गर्नुको सट्टा प्रोपगान्डा र यथार्थबीचको भिन्नताबारे जानकार हुनु राष्ट्रिय स्वार्थअनुकूल हुनु हो
‘स्वदेशी क्षमतामा’ बनेको तेजस लडाकु विमानबाट प्रधानमन्त्री मोदी नाटकीय ढंगले ओर्लनुले सरकारको अतिरञ्जित विश्वव्यापी प्रभावलाई प्रतिबिम्बित गर्छ । स्वदेशी भए पनि तेजस अझै पनि पूर्ण रूपमा सञ्चालनमा आउन योग्य भइसकेको छैन, अर्थात् अझै पनि भारतीय वायुसेना आयातीत विमानमै भर परिरहेको छ । घरेलु राजनीतिमा देखावटी आडम्बर सामान्य हो, तर यसले राष्ट्रिय शक्ति प्रक्षेपणमा प्रभावकारी योगदान गर्दैन । भारतका शत्रु मुलुकलाई हाम्रो मुलुकको सशस्त्र बलको आयात निर्भरताबारे जानकारी छ । रक्षा ‘आत्मनिर्भरता’ प्रवद्र्धनका लागि सरकारले बिल्कुल जस लिन पाउँछ, तर जनतामाझ भ्रम छर्दै गर्दा नेतृत्व आफ्नै प्रोपगान्डामा विश्वास गर्ने जोखिममा पर्छ ।
यस्तै जोखिम क्यानडा र हालै अमेरिकामा भारत सरकार संलग्न हत्या एवं हत्या षड्यन्त्रका आरोप सतहमा आउँदा देखिएको छ । के भारतका सुरक्षा व्यवस्थापकले हत्या षड्यन्त्र रचेर सजिलै जोगिन्छौँ भन्ने ठानेका हुन् ? के राजनीतिक नेतृत्वलाई यस्ता हत्या षड्यन्त्रबारे जानकारी थियो ? वा, राजनीतिक नेतृत्वलाई यस मामिलामा गलत सुझाव दिइएको थियो ?
पार्टीका नेता, प्रोपगान्डाकारी र सरकारका चाकरबाहेकका थिंक ट्यांक र मिडियाका भूराजनीतिक विश्लेषकले पनि भारत ठूलो विश्वव्यापी शक्ति बनेको हो भन्ने भ्रममा योगदान पु¥याएका छन् । यो तप्काले जी–२० शिखर सम्मेलनको नेतृत्व लिँदा भारत ‘विश्वगुरु’ हो भन्ने भ्रमलाई थप चुल्यायो । ‘विश्वगुरु’को भ्रमलाई घरेलु स्तरमा राजनीतिक प्रतिद्वन्द्वीलाई उछिन्न फैलाउँदासम्म पनि अन्तर्राष्ट्रियस्तरमा मुलुकको बेइज्जती भइहाल्दैन । तर, भारतलाई आफैँले फैलाएको ‘विश्वगुरु’को भ्रमले आफैँलाई गाँजेको छ । चीनको उदय भइरहेको अवस्थामा पश्चिमा मुलुकले डराएर अन्तर्राष्ट्रिय मामिलामा भारतले जे गरे पनि वास्ता गर्दैनन् भन्ने सोचबाट भ्रमपूर्ण आत्मविश्वास जागेको हो । भारतले युक्रेनमा भएको रुसी अतिक्रमणका मामिलामा आफ्नो अडानप्रति आएको पश्चिमा प्रतिक्रिया विशेषतः अमेरिकाको असन्तुष्टि पहिल्यै ठम्याउन सक्नुपर्थ्यो ।
हालै भएको सी जिनपिङ र जो बाइडेन भेटले भारतको सीमित भूराजनीतिक स्थितिलाई झल्काउँछ । दक्षिणी गोलार्धको आफू नेता हुँ भन्ने दाबी गरेर भारतीय राजनीतिक नेतृत्वले आफैँले सिर्जना गरेको भाष्यमा विश्वास गरेका छन् ।
यही साता ‘कार्नेगी इन्डाउमेन्ट’का सदस्य एवं भारतका हितैषी रहेका अमेरिकी भूराजनीतिक विश्लेषक एस्ले टेलिसले भारतका एक ‘सरकारी अधिकारी’ले अमेरिकी नागरिकको हत्याको षड्यन्त्र बुनेको भन्दै वासिंटनले लगाएको आरोपका सन्दर्भमा प्रतिक्रिया जनाएका छन् । ‘चीनलाई सन्तुलनमा राख्न भारतलाई अमेरिकाले दिएको महत्वलाई लिएर नयाँदिल्लीले अमेरिकी नागरिकलाई नै तारो बनाउँछु भनेर सोच्नु भूल हुनेछ,’ टेलिस बताउँछन् । यो अभिव्यक्ति सार्वजनिक स्तरबाट आएको एकदमै सौम्य निन्दा थियो । आन्तरिक रूपमा बाइडेन प्रशासनले भारतलाई योभन्दा कैयौँ गुणा ठूलो चेतावनी दिएको हुनुपर्छ ।
वासिंटनबाट आएको यो समाचारमा प्रतिक्रिया जनाउँदै नयाँदिल्लीमा रहेका अहिलेको सत्ता समर्थक अमेरिका पनि के कम छ र भन्ने मार्काको ‘ट्विट’ गरिरहेका छन् । यिनले अमेरिकाले आफ्ना शत्रुलाई रुसमा र रुसले आफ्ना शत्रुलाई अमेरिकामा मार्दा भारतले किन मार्न नपाउने भन्ने प्रश्न गरिरहेका छन् । वास्तवमा यो प्रश्न भारत शक्तिशाली छ र ‘विश्वगुरु’ हो भन्ने मुलुकघाती भ्रमबाट उब्जिरहेको छ ।
मुलुकको शक्ति र प्रभावका मामिलामा राजनीतिक नेतृत्वमाझ रहेको भ्रमका कारण भारतले यसअघि पनि मूल्य चुकाउँदै आएको छ । सन् १९६२ मा मुलुकले मूल्य चुकाएको थियो, किनभने तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरूले पनि भारतको अतिरञ्जित क्षमता र प्रभावको भ्रम पालेका थिए । त्यसैगरी सन् १९९१ को भुक्तानी सन्तुलन एवं आर्थिक संकटका पछाडि आंशिक रूपमा भारतले आफूलाई अतिरञ्जित ढंगले भूराजनीतिक एवं आर्थिक शक्ति ठानेको थियो ।
आवधिक र अनुकूल परिस्थितिमा नयाँदिल्लीका राजनीतिक नेताले भारत महत्वपूर्ण बिन्दुमा ‘पुगिसक्यो’ भन्ने धारणा राख्छन् । पहिले विभिन्न व्यक्ति र संस्थाले यस्ता विश्वासमा प्रश्न र जाँच गर्थे । तर, विगत एक दशकमा यस्ता सबै संस्था राजनीतिक रूपमा विकृत हुँदै बौद्धिक भ्रष्टाचारमा लिप्त छन् । भारत अझै ‘विश्वगुरु’ भइसकेको छैन । भारत अझै ‘अपरित्याज्य’ शक्ति बनिसकेको छैन । बरु अघिल्लो दशकयता छिमेकी राष्ट्रमाझ भारतको प्रभाव घटेको छ ।
सन् २०१९ मा मोदी सरकारले तथाकथित ‘सीमापार’का आतंकवादी अखडामाथि धाबा बोलेको भन्दै पाकिस्तान अधीनस्थ कस्मिरमा भारतको रक्षा क्षमता र अभिप्रायः प्रदर्शन गरेको दाबी गरेको थियो । भारतको आन्तरिक राजनीतिक खपतका लागि यो प्रोपगान्डालाई ठिकै पनि मान्न सकिएला । तर, यो दाबीलाई लिएर कति रक्षा विश्लेषक र स्वनामधन्य विज्ञले इमानदार समीक्षा गरेका थिए ? जिमिनी स्तरमा ‘लाइन अफ एक्चुअल कन्ट्रोल’लाई लिएर भारत र चीनको दाबीबारे विश्वलाई थाहा छ । अब भनौँ, कतिजना स्वनामधन्य विश्लेषक र विज्ञ यसबारे खुलेर बोल्न इच्छुक छन् ?
भारत निःसन्देह एक उदीयमान शक्ति हो । अबको कुनै समयमा वैश्विक शक्ति सन्तुलनको ‘बहुध्रुवीय’ प्रणालीमा भारत एक ध्रुव बन्नेछ । भारतले चीनलाई उछिन्नेछ । एसियाको प्रभाव बढ्नेछ र पश्चिमा मुलुकको प्रभाव घट्नेछ । भविष्यलाई लिएर हुने यी आकलन यथार्थवादी लाग्छन्, तर भारतमा भविष्य नै वर्तमान बनिसक्यो, अर्थात् भारत ‘अमृतकाल’मा पुगिसक्यो र सारा विश्वले ‘हामीलाई नियाल्छ’ । वास्तवमा यी भाष्य फगत घरेलु प्रोपगान्डा हुन् । भ्रममा बाँच्नु र आफ्नै प्रोपगान्डामा विश्वास गर्नुको सट्टा प्रोपगान्डा र यथार्थबीचको भिन्नताबारे जानकारी हुनु भनेको राष्ट्रिय स्वार्थअनुकूल हुनु हो ।
(बरु भारतको राष्ट्रिय सुरक्षा सल्लाहकार बोर्डका पूर्वसदस्य एवं पूर्वप्रधानमन्त्री मनमोहन सिंहका सल्लाहकार हुन्)
– द इन्डियन एक्सप्रेसबाट