१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नवीन अर्याल काठमाडाैं
२०८० मङ्सिर १६ शनिबार १०:३६:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेवानिबाट ग्राउन्ड ह्यान्डलिङ सेवा खोसिँदै

Read Time : > 2 मिनेट
नवीन अर्याल, काठमाडाैं
२०८० मङ्सिर १६ शनिबार १०:३६:००

टिआइएमा ग्राउन्ड ह्यान्डलिङका लागि प्रतिस्पर्धाबाट कम्पनी छनोट गर्ने नियमनकारी निकाय क्यानको तयारी

नेपाल वायुसेवा निगम (नेवानि)ले वर्षौँदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दिँदै आएको ‘ग्राउन्ड ह्यान्डलिङ’ सेवा खोसिने भएको छ । नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले निगमबाट ‘ग्राउन्ड ह्यान्डलिङ’ सेवा खोसेर प्रतिस्पर्धाका माध्यमबाट छनोट भएको संस्थामार्फत गराउने निर्णय गरेको छ ।

विमानस्थल सेवा शुल्क नियमावली, २०७८ को नियम ५(२) बमोजिम ग्राउन्ड ह्यान्डलिङ सेवाका लागि प्रतिस्पर्धाबाट सक्षम कम्पनी छनोट गर्ने तयारी भएको क्यानका प्रवक्ता जगन्नाथ निरौलाले बताए । हालसम्म उक्त सेवा विनाप्रतिस्पर्धा नेपाल वायुसेवा निगमले उपलब्ध गराउँदै आएको थियो । निगमले गुणस्तरीय सेवा दिन नसकेको र ग्राउन्ड ह्यान्डलिङ सेवा पनि महँगो भएको गुनासो आइरहेपछि प्रतिस्पर्धाबाट अन्तर्राष्ट्रिय अनुभवप्राप्त कम्पनी छनोट गर्ने तयारीमा लागेको उनको भनाइ छ । निगम र क्यानबीच भएको सम्झौताअनुसार सन् २०२४ सम्म निगमले नै ग्राउन्ड ह्यान्डलिङ सेवा प्रदान गर्नेछ । सन् २०२४ पछिको सेवा प्रवाहका लागि क्यानले प्रतिस्पर्धाबाट सक्षम कम्पनी छनोट गर्ने तयारी थालेको हो ।

युरोपेली आयोग (इयू)ले पनि नेपाली उड्डयन क्षेत्रलाई सुरक्षा चासो (कालोसूची)को लिस्टबाट हटाउन नमिल्ने कारणमध्ये एउटा राष्ट्रिय ध्वजावाहक एयरलाइन्सको सेवा प्रवाहलाई पनि आधार बनाएको छ । इयूले बिहीबार एयर सेफ्टी लिस्ट प्रकाशित गरी नेपाली उड्डयन क्षेत्रलाई कालोसूचीबाट हटाउन अस्वीकार गरेको छ, जहाँ नेपालमा दर्ता भएका सबै वायुसेवा कम्पनीहरू सुरक्षा चासोको लिस्टमा दोहोरिएका छन् । 

इयूको एयरसेफ्टी कमिटीले क्यानलाई बुझाएको अडिट रिपोर्टमा निगमको वर्तमान संगठन संरचना, कार्यपद्धति, आर्थिक एवं प्राविधिक क्षमता, जनशक्ति एवं सेवा प्रवाहको गुणस्तर, सोको अभिलेखीकरणलगायत समग्र संस्थागत संरचनामा आमूल परिवर्तन गर्नु संस्थाको सुदृढीकरणका लागि आवश्यक रहेको औँल्याएको छ । अडिटमा औँल्याइएका उल्लिखित पूर्वसर्तहरूको प्रभावकारी कार्यान्वयन गरेर मात्रै अगाडि बढ्न सकिने भएकाले सो सम्बन्धमा संवेदनशील हुन पनि इयूले घचघच्याएको छ । 

युरोपेली युनियनले नेपाललाई कालोसूचीबाट हटाउन अस्वीकार गरेको अर्को दिन नै क्यान निगमप्रति ‘एक्सन’मा उत्रिएको हो । निगमको ग्राउन्ड ह्यान्डलिङ सेवाप्रति अन्तर्राष्ट्रिय वायुसेवा र यात्रुहरूले गुनासो गर्दै आइरहेका छन् । एयरपोर्टमा ब्यागेज चोरी तथा टुटफुट भएको गुनासो दिनहुँजसो आइरहने निगमकै विमानस्थलका कर्मचारी बताउँछन् । 

निगमलाई वायुयान सञ्चालनमा घाटैघाटा रहेको छ । निगमले ग्राउन्ड ह्यान्डलिङ सेवा प्रवाहबाट हुने आम्दानीले कर्मचारीलाई तलब खुवाउँदै आइरहेको छ । ‘निगम जहाज उडाएर आम्दानी गर्नेतिरभन्दा ग्राउन्ड ह्यान्डलिङ सेवाबाट हुने आम्दानीमा रमाइरहेको छ,’ निगम स्रोत भन्छ, ‘निगमको फोकस नै जहाज उडाएर आम्दानी गर्नेभन्दा पनि ग्राउन्ड ह्यान्डलिङ बढ्ता देखिन्छ ।’ 

ग्राउन्ड ह्यान्डलिङ बढ्दा निर्भर र केन्द्रित हुँदा निगम जहाजविहीन हुनुका साथै भएकै जहाज पनि पूर्ण क्षमतामा सञ्चालन गर्न नसक्ने स्थितिमा पुगेको देखिन्छ । निगमले त्रिभुवन विमानस्थलका अलावा पोखरा र भैहरवा अन्तर्राष्ट्रिय विमानस्थलमा पनि ग्राउन्ड ह्यान्डलिङ सेवा दिँदै आएको छ ।

गत आर्थिक वर्षको पहिलो दश महिना (साउन–वैशाख)को तथ्यांक हेर्दा निगमलाई न्यारोबडी एयरबस–३२० उडान र ग्राउन्ड ह्यान्डलिङमा मात्रै नाफा देखिन्छ । १० महिनाको अवधिमा निगमलाई न्यारोबडी जहाजबाट ९५ करोड ७८ लाख र ग्राउन्ड ह्यान्डलिङ सेवा दिएबापत ६६ करोड ७२ लाख रुपैयाँ नाफा भएको छ । तर, दुईवटा वाइडबडी एयरबस–३३० जहाज उडाउँदा निगमलाई १० महिनामा तीन अर्ब २८ करोड र आन्तरिक उडानमा ६६ करोड ७२ लाख रुपैयाँ घाटा भएको देखिन्छ ।

निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि दुईवटा न्यारोबडी र दुईवटा वाइडबडी तथा आन्तरिक उडानका लागि दुईवटा ट्विनअटर जहाज मात्रै रहेका छन् । आन्तरिक उडानका लागि भनेर चीनबाट ल्याइएका पाँचवटा जहाज आम्दानीभन्दा खर्च धेरै भएपछि ०७७ साउनदेखि ग्राउन्डेड गरिएको छ, जसका लागि वार्षिक ४८ करोड रुपैयाँ खर्च हुने गरेको पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री संयोजकत्वमा भएको एक अध्ययनले देखाएको छ । 

ग्राउन्ड ह्यान्डलिङ सेवा खोसिनेबित्तिकै निगम व्यवस्थापनले कर्मचारीलाई तलबसमेत खुवाउन नसक्ने स्थिति सिर्जना हुने देखिन्छ । तर, निगम नेतृत्व भएका जहाजलाई पूर्ण क्षमतामा उडाउने, नयाँ–नयाँ गन्तव्य खोज्ने, सेवा चुस्त बनाउनेतर्फ भन्दा पनि कमिसनको चक्करमा महिनौँसम्म जहाज ग्राउन्डेड गराएर राख्ने गरेको छ । 

‘अहिलेसम्म निगमले विनाप्रतिस्पर्धा ग्राउन्ड ह्यान्डलिङ सेवा प्रवाह गर्दै आएको थियो, त्यसैले सेवा–सुविधा चुस्त बनाउनेतर्फ ध्यान नै दिएन,’ क्यानका प्रवक्ता निरौलाले भने, ‘अब गुणस्तरीय र सुलभ सेवा प्रवाहका लागि अन्तर्राष्ट्रिय अनुभवप्राप्त कम्पनी छनोट गर्छौँ ।’ यसका लागि क्यानले अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्ने तयारी गरिरहेको छ ।  

पटक–पटक ताकेता गर्दा पनि सेवा प्रवाह चुस्त नभएको र लापरबाही बढेको भन्दै क्यानले निगमको एकाउन्टेबल म्यानेजरलाई स्पष्टीकरण सोधेको छ । ‘तपाईंलाई एकाउन्टेबल म्यानेजर पदबाट किन नहटाउने ?’ क्यानको पत्रमा उल्लेख छ । निगमले प्रस्ताव गरेको एकाउन्टेबल म्यानेजरलाई क्यानले स्वीकृति दिएर राख्ने गरिन्छ ।