१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार १३:१६:oo
Read Time : > 2 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

लालुपाते सहकारी घोटाला : ३५ प्रतिवादीविरुद्ध बयान सुरु

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १३:१६:oo

दिक्तेलस्थित लालुपाते बहुउद्देश्यीय सहकारी संस्थाको बचत ठगीसम्बन्धी कसुरमा ३५ जनालाई प्रतिवादी बनाएर जिल्ला सरकारी वकिलको कार्यालय खोटाङले जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको छ।

बचतकर्ताको लगानी अपचलन आरोपमा सहकारीका वर्तमान तथा निवर्तमान सञ्चालक समिति, सहकारीका तत्कालीन अध्यक्ष अनिल जोशी (मृतक) तथा जोशीका परिवार, सहकारीका प्रबन्धक, लेखापाल र ऋणीविरुद्ध अभियोगपत्र दायर गरेको हो। 

मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३२ बमोजिम प्रतिवादीविरुद्ध सरकारी वकिलले तयार गरेको अभियोगपत्र दायर भएको अदालतका श्रेस्तेदार सीताराम खड्काले जानकारी दिए। सहकारीका दुई सय ६५ बचतकर्ताले ३५ प्रतिवादीबाट रु. चार करोड ४० लाख ६१ हजार १८ बिगो माग दाबी गरेका छन्।

अभियोगपत्र पेस भएसँगै प्रतिवादीमध्ये हिरासतमा रहेका नौजनाको बिहीबारदेखि बयान सुरु गरिएको श्रेस्तेदार खड्काले जानकारी दिए। ‘बयान सकिएपछि सरकारी वकिल र प्रतिवादीका तर्फबाट मुद्दा लड्ने वकिलबीच बहस हुन्छ। बहस सकिएपछि उनीहरूलाई थुनामा राख्ने, तारेखमा छाड्ने वा धरौटीमा छोड्ने निर्णय हुन्छ,’ उनले भने, ‘प्रतिवादीमध्ये २६ जना फरार सूचीमा रहेका छन्। उनीहरू आफैँ पनि अदालतमा हाजिर हुन सक्छन् । यदि हाजिर नभएको खण्डमा पक्राउ गरेर ल्याइन्छ।’

आफूहरूले जम्मा गरेको बचत डुबाइदिएको भन्दै बचतकर्ताले ०७९ फागुन २ गते पहिलोपटक सहकारीका अध्यक्ष जोशीको परिवारका पाँच सदस्यसहित आठजनाविरुद्ध जिल्ला प्रहरी कार्यालय खोटाङमा जाहेरी दिएका थिए। केही समयअघि सञ्चालक र केही ऋणीविरुद्ध पनि बचतकर्ताले जाहेरी दिएका हुन्।

जाहेरी परेपछि सहकारीको सञ्चालक समितिका उपाध्यक्ष अर्जुन चौलागाईं, सचिव मनोज राई, कोषाध्यक्ष रमा शाक्य, लेखा समिति संयोजक प्रीतम श्रेष्ठ र लेखापाल सुमना राईलाई प्रहरीले कातिक १२ गते पक्राउ गरेको थियो। यस्तै, सहकारीका तत्कालीन अध्यक्ष जोशीका भाइ सौर्य एयरलायन्सका क्याप्टेन सुनील जोशी र सुनीलकी श्रीमती रविना जोशी (श्रेष्ठ) गत असोज १३ गते तथा तत्कालीन प्रबन्धक रुकु जोशी असोज १७ गते काठमाडौंबाट पक्राउ परेका हुन्।

तत्कालीन अध्यक्ष जोशीसँगको मिलेमतोमा सहकारीबाट लाखौँ ऋण लगेको, तर फिर्ता नगरेको भन्दै परेको किटानी जाहेरीका आधारमा पोखराकी जसुदा पौडेल गत कातिक १५ गते चितवनबाट पक्राउ परेकी थिइन्। अन्य २६ प्रतिवादी भने फरार सूचीमा रहेका छन्।

प्रहरीले पक्राउ परेका नौजनालाई संगठित अपराधमा मद्दा चलाउने भन्दै ६० दिनसम्म हिरासतमा राखेर सरकारी वकिलको कार्यालयमा राय प्रतिवेदन बुझाएको थियो। प्रहरीले संगठित अपराधअन्तर्गतको राय प्रतिवेदन बुझाए पनि सरकारी वकिलले ठगी मुद्दाको अभियोगपत्र तयार गरेर अदालतमा बुझाएको हो।

बचतकर्ताले रु. आठ सयदेखि रु. ५५ लाखसम्म आफ्नो बचत रकम फिर्ता गरिदिन माग गर्दै निवेदन दिएको प्रहरीले जनाएको छ। ०७२ मंसिर १० गतेदेखि दिक्तेलबजारमा कारोबार सुरु गरेको सहकारीको बचत अपचलन भएको विषय भने तत्कालीन अध्यक्ष जोशीको निधनपछि मात्र खुलेको हो।

तत्कालीन अध्यक्ष जोशीको कोभिड– १९ को संक्रमणका कारण ०७८ वैशाख १५ गते पोखरामा निधन भएको थियो। जोशीको निधनपछि निक्षेपकर्ताहरू निक्षेप रकम फिर्ता माग्न आउँदा सञ्चालक समितिका पदाधिकारी तथा सरोकारवालाले सहकारीको कारोबार तथा हिसाब हेर्ने क्रममा निक्षेप फिर्ता गर्ने मौज्दात रकम नै नदेखिएपछि खोजी गर्ने क्रममा बचत अपचलन भएको विषय बाहिरिएको हो।

जोशीको निधनपछि ०७८ वैशाख १६ गतेदेखि सहकारीको कारोबार ठप्प छ। प्रहरीका अनुसार सहकारीबाट ५९ वटा खातामा रु. चार करोड ४७ लाख ६ हजार ९६७ ऋण प्रवाह भएको पाइएको छ। सहकारीबाट ऋणीलाई रु. २५ हजारदेखि रु. ९९ लाखसम्म ऋण दिइएको देखिएको छ। त्यसमध्ये २४ जनालाई सहकारीको नियम मिचेर ऋण प्रवाह गरेको पाइएको प्रहरीले जनाएको छ।

चारजनालाई तमसुकविनै ऋण दिएको पाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक बेनु कार्कीले जानकारी दिए। ‘सहकारीको नियम मिचेर मनोमानी गरेकै कारण सहकारी संकटमा फसेको देखिएको छ। सहकारीको निक्षेप रु. चार करोड ४७ लाख ५७ हजार २२१, सेयर पुँजी रु. ५१ लाख १४ हजार ७८१, जगेडा कोषमा रु. १९ लाख ५८ हजार ४९२ र संस्थागत कोषमा रु. २४ लाख ८६ हजार ५६४ देखिन्छ,’ उनले भने, ‘रु. चार करोड ९० लाख ९७ हजार ३९३ तिर्नुपर्ने देखिएको छ। वित्तीय अवस्था हेर्दा सहकारी डुबेको छैन।’

सहकारीको नाममा हलेसीमा ४८ लाखमा खरिद गरिएको ६ रोपनी ३ आना १ पैसा १ दाम (दुई कित्ता) जग्गा अध्यक्ष जोशीको भाइको नाममा पास गरेको पाइएको छ। सहकारीको नाममा जग्गा किन्ने निर्णय गरेर तत्कालीन अध्यक्ष जोशीको मिलेमतोमा व्यक्तिको नाममा पास गरेको पाइएको प्रहरीले जनाएको छ।

तत्कालीन व्यवस्थापक जोशीको नाममा राखिएको बाम्राङको १६ रोपनी (तीन कित्ता) जग्गा सहकारीको नाममा ल्याइसकिएको पाइएको छ। बचत अपचलनका कारण लगानी डुबेको भन्दै बचतकर्ता चरणबद्ध आन्दोलनमा छन्।

डुबेको साँवा र ब्याज फिर्ता लिनका लागि बचतकर्ताले पदमकुमारी सैंजूको संयोजकत्वमा संघर्ष समिति बनाएर चरणबद्ध आन्दोलन गर्दै आएका छन्। बचतकर्ताले घेर्न थालेपछि अप्ठ्यारोमा परेको सञ्चालक समितिले ऋण असुल गर्दै बचत फिर्ता गर्ने असफल प्रयास गरेको थियो। 

लालुपाते सहकारी संकटमा फसेको विषयमा अनुसन्धान अघि बढाएको प्रहरीले ऋण तिर्नका लागि सूचना जारी गर्दा तोकिएको समयभित्र पाँचजनाले ऋण फिर्ता गरेका छन्। कमल गिरीले रु. १० लाख, निकिता राईले रु. दुई लाख, नवराज थापाले रु. एक लाख ५० हजार, राजन सैंजूले रु. एक लाख ३५ हजार र इन्द्र श्रेष्ठले रु. ३१ हजार ऋण फिर्ता गरेको प्रहरीले जनाएको छ। 

ad
ad