मूल्य घट्ने पूर्वानुमानमा देशभरका पम्पले २०% मात्रै उठाए तेल

शुक्रबार, १५ मंसिर, २०८०
डिजिटल संस्करण
मूल्य घट्ने पूर्वानुमानमा देशभरका पम्पले २०% मात्रै उठाए तेल

पेट्रोल–डिजेल खरिद गर्न लामबद्ध उपभोक्ता । फाइल तस्बिर : नयाँ पत्रिका

निर्धारित कार्यतालिकाअनुसार बिहीबार दिउँसो इन्डियन आयल कर्पोरेसन (आइओसी)बाट पेट्रोलियम पदार्थ खरिदको नयाँ सूची घटेर आउने अनुमान गर्दै देशभरका पेट्रोलपम्प व्यवसायीले आयल निगमको डिपोबाट निकै कम इन्धन खरिद गरेका छन् । उनीहरूले नाफा–नोक्सान हिसाब गरी ‘गैरव्यावसायिक चरित्र’ देखाउँदा शुक्रबार दिउँसो बजारमा पेट्रोल–डिजेल अभाव हुने उच्च जोखिम छ ।

पछिल्लो १५ दिनमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ घटेका कारण आइओसीले ३० तारिख (बिहीबार)मा पठाउने मूल्य घटेर आउने पम्प व्यवसायीहरू जानकार थिए । त्यसैले उनीहरूले सामान्य अवस्थाको भन्दा न्यून तेल उठाएको आयल निगमका प्रवक्ता मनोज ठाकुरले बताए । निगमका अनुसार बिहीबार देशभर मागको तुलनामा मुस्किलले २० प्रतिशत मात्रै पेट्रोलियम व्यवसायीले खरिद गरेका छन् ।

काठमाडौंमा पेट्रोल–डिजेल वितरण गर्ने आयल निगमको थानकोटस्थित बागमती प्रादेशिक कार्यालयका प्रमुख अशोक साहका अनुसार  बिहीबार एक सय ८७ किलोलिटर पेट्रोल र एक सय ७५ किलोलिटर डिजेल बिक्री भएको छ । जबकि, सामान्य अवस्थामा काठमाडौंमा दैनिक पेट्रोल सात सय किलोलिटर र डिजेल आठ सय किलोलिटर खपत हन्छ ।

निगमले पम्प व्यवसायीलाई प्रत्येक दिन बिहान खरिद गर्न चाहेको पेट्रोल–डिजेलको परिमाणबराबरको रकम भुक्तानी गर्न लगाएर मात्र तेल दिन्छ । जसकारण बिहान पैसा बुझाएका पम्प व्यवसायीले दिउँसो तेल पाउँछन् । बिहीबार भने बिहानदेखि नै मूल्य घट्ने आकलन गरी उनीहरूले तेल उठाएनन् । व्यवसायीको अनुमानअनुसार नै दिउँसो आइओसीले नयाँ मूल्यसूची पठाउँदा पेट्रोल २.१२ रुपैयाँ र डिजेल ४.०९ रुपैयाँ प्रतिलिटर घटेर आयो ।

मूल्य घट्ने अनुमानका आधारमा देशको सबैभन्दा ठूलो डिपो मधेश प्रादेशिक कार्यालय, अमलेखगन्जमा पनि व्यवसायीले न्यून परिमाणमा तेल खरिद गरेका छन् । अमलेखगन्ज डिपो प्रमुख विनीतमणि उपाध्यायका अनुसार बिहीबार सो डिपोबाट पेट्रोल ७५ किलोलिटर र डिजेल तीन सय ८० किलोलिटर वितरण भएको छ । जबकि, सामान्य अवस्थामा पेट्रोल तीन सय र डिजेल नौ सय किलोलिटरसम्म बिक्री हुने गरेको छ ।

कोशीका व्यवसायीले पनि बिहीबार कुल मागको २५ प्रतिशत मात्रै इन्धन खरिद गरेका छन् । निगमको कोशी प्रादेशिक कार्यालय, विराटनगरका प्रमुख पूर्ण रिजालका अनुसार बिहीबार पेट्रोल ५२ किलोलिटर र डिजेल एक सय ७२ किलोलिटर वितरण भएको छ । पूर्वमा दैनिक औसतमा दुई सय किलोलिटर पेट्रोल र पाँच सय किलोलिटर डिजेलको माग हुने गरेको छ ।

लुम्बिनी प्रदेशका पेट्रोलपम्प व्यवसायीले भने बिहीबार एक लिटर पनि पेट्रोल खरिद गरेका छैनन् । डिजेल भने एक सय ९६ किलोलिटर खरिद गरेको आयल निगमको लुम्बिनी प्रादेशिक कार्यालय, भैरहवाकी प्रमुख कमला न्यौपानेले जानकारी दिइन् । उनका अनुसार सो डिपोबाट सामान्य अवस्थामा दैनिक औसतमा साढे चार सय किलोलिटर पेट्रोल र आठ सय किलोलिटर डिजेलको माग हुने गरेको छ । देशभरका पम्प व्यवसायीको छाता संस्था पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका अध्यक्ष लिलेन्द्रप्रसाद प्रधानले भने मूल्य घट्नेबारे आयल निगमका कर्मचारीले बिहीबार बिहानै सञ्चारमाध्यमबाट जानकारी दिएकाले असर देखिएको बताए । ‘मूल्य घट्दै छ भन्ने कुराले व्यवसायी सशंकित भएका थिए । त्यसकै असर हो,’ अध्यक्ष प्रधानले भने ।

पेट्रोल दुई र डिजेल–मट्टीतेल प्रतिलिटर चार रुपैयाँ घट्यो
नेपाल आयल निगम लिमिटेडले पेट्रोल दुई रुपैयाँ र डिजेल तथा मट्टीतेल समान चार रुपैयाँ प्रतिलिटरका दरले मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बिहीबार साँझ बसेको बैठकले मूल्य घटाउने निर्णय गरेको हो । मूल्य घटेपछि काठमाडौंमा पेट्रोल एक सय ७० रुपैयाँ र डिजेल तथा मट्टीतेल एक सय ६० रुपैयाँ प्रतिलिटर कायम भएको छ ।

मंगलबारदेखि आयल निगम ऋण र बक्यौतालगायतका सबै दायित्वबाट मुक्त भएकाले यसपटक थोरै दरमा नाफा राखेर ठूलो अन्तरले मूल्य घटाउनुपर्ने दबाब थियो । निगमले ३१ असारदेखि लागू गरेको ‘पेट्रोलियम पदार्थ तथा ग्यासको स्वचालित मूल्य प्रणाली कार्यविधि, ०८०’ अनुसार पेट्रोलमा २.५ प्रतिशत र डिजेलमा २ प्रतिशत नाफा राख्ने व्यवस्था छ । निगमले ग्यासमा भने प्रतिसिलिन्डर तीन सय रुपैयाँ नोक्सान खेपिरहेको जानकारी दिएको छ ।

See More On

सुझावित समाचार