१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
रामकृष्ण थापा सिन्धुपाल्चोक
२o८१ बैशाख २१ शुक्रबार १o:o८:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

चिनियाँ लगानीको १० अर्ब सकिँदा पनि कोदारी सडकको अवस्था फेरिएन 

Read Time : > 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १o:o८:oo

नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादव सन् २०१५ मार्चमा चीन भ्रमणमा जाँदा चिनियाँ राष्ट्रपति सी जिनपिङले अरनिको राजमार्गअन्तर्गत कोदारी सडक स्तरोन्नतिका लागि १४ अर्ब रुपैयाँ दिने घोषणा गरेका थिए । दुई मुलुकको राष्ट्रपतिस्तरको समझदारी कार्यान्वयन तहमा तुरुन्तै आयो पनि।

२५ अप्रिल २०१५ को विनाशकारी भूकम्पपछि तातोपानी नाका भएर चिनियाँ जनमुक्ति सेना सदरमुकाम चौतारा आएका थिए । केही महिना उनीहरूले सडक मर्मतमा सहायता दिए ।

भूकम्पले लथालिंग पारेको कोदारी सडक पुनर्निर्माणमा ०७३ देखि हालसम्म चिनियाँ ठेकेदार कम्पनी चिनियाँ रेलवे कन्स्ट्रक्सन कम्पनी लिमिटेड (सिआरसिसी)ले काम गरिरहेको छ । एक चरणको काम सक्दा–नसक्दै १७ साउन ०७३ मा भोटेकोसी नदीमा बाढी आयो।

बाढीपहिरोले कोदारी सडक पुनः लथालिंग भयो । यो सडकलाई सिआरसिसीले तीन चरणमा काम गरिसकेको छ । तर, सडकको स्तरोन्नतिको अवस्थामा कुनै प्रगति छैन । सिआरसिसीको अलावा सडक डिभिजन चरिकोटले पनि वेलावेलामा सडक मर्मत गर्छ । यी सबै प्रयास बालुवामा पानी खन्याएझैँ भएको छ । 

गत सेप्टेम्बरमा प्रधानमन्त्री प्रचण्डको आठ दिन लामो चीन भ्रमणको क्रममा पनि अरनिको राजमार्ग स्तरोन्नतिको विषय राखिएको छ । जसमा चीन सरकारले चौथो चरणको  स्तरोन्नति भनेर समझदारीमा समावेश गरेको छ । ‘चीन नेपालको असल मित्रराष्ट्र हो । उसले गर्ने हरेक विकासबाट हामीले सिक्नुपर्छ । तर, विकासका काम गर्दा पारदर्शिता भएन भने नेपाल–चीनबीच अनावश्यक असमझदारी बढ्न सक्छ,’ सिन्धुपाल्चोक क्षेत्र नंं. १ का सांसद माधव सापकोटाले भने । चौथो चरणको काम गर्दा सरोकारवाला सबैले ध्यान दिनुपर्ने उनले प्रस्ट्याए ।

अरनिको राजमार्ग स्तरोन्नतिका लागि भनेर आएको १४ अर्बमध्ये १० अर्ब रकम सकिएको भन्ने छ । यद्यपि, सडकको अवस्थामा कुनै सुधार छैन । ‘भौगोलिक अवस्थाले सडकको काम भनेजस्तो भएन,’ नेपाली कांग्रेसका जिल्ला उपसभापतिसमेत रहेका तातोपानीका स्थानीय दोर्जे लामाले भने ।

चिनियाँ ठेकेदार कम्पनी सिआरसिसीले  नेपालको अर्थ मन्त्रालयसँग सम्झौता गरेर कामको थालनी गरेको हो। अर्थ मन्त्रालयको वैदेशिक समन्वय महाशाखा  र भौतिक योजना मन्त्रालयको सडक विभागले सडक स्तरोन्नतिको काम हेर्छ। तीन चरणसम्म भएका कामको सबै प्रगति विवरण ठेकेदार कम्पनी सिआरसिसी, वैदेशिक समन्वय महाशाखा र सडक विभागसँग छ । तर, सडकको अवस्था फेरिएको छैन ।
 

ad
ad