Skip This
पर्सामा मिटरब्याजसम्बन्धी चार सय ३८ उजुरी फर्स्याेट
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर ११ सोमबार
  • Friday, 26 July, 2024
फाइल तस्बिर
२o८o मङ्सिर ११ सोमबार ११:२६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पर्सामा मिटरब्याजसम्बन्धी चार सय ३८ उजुरी फर्स्याेट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o मङ्सिर ११ सोमबार ११:२६:oo

जिल्ला प्रशासन कार्यालय पर्साले अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी परेको उजुरीमध्ये हालसम्म चार सय ३८ उजुरी फर्स्याेट गरेको छ।

अनलाइनबाट दर्ता भएका एक हजार तीन सय २१ उजुरीमध्ये छलफल विधिबाट चार सय ३८ वटा उजुरी पीडितको पक्षमा फर्स्याेट गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले जानकारी दिए। 

यस्तै, सहमति नभएपछि दुई मुद्दा दर्ता भएको जनाएको छ। दर्ता भएका उजुरीमध्ये आठ सय ४५ उजुरीको छानबिन गर्दा चार सय ३८ वटामा दुवै पक्षबीच सहमति भएर फर्स्याेट भएको सहायक प्रमुख जिल्ला अधिकारी लम्सालले बताए। 

उनका अनुसार छानबिनपश्चात् ८४ कित्ताको १६ बिघा ६ कट्ठा आठ धुर जग्गा र दुवै पक्षको सहमतिमा रु. आठ करोड ७२ लाख ६४ हजार ६१ फिर्ता गराइएको छ।

मिटरब्याजीविरुद्ध हाल अनलाइनबाट दर्ता भएका उजुरीमा सबैभन्दा बढी लेनदेन र जग्गा–जमिनसम्बन्धी मिटरब्याज पीडितको उजुरी बढी छ। कसै–कसैले थोरै रकम दिएर त्यसबापत बढीको कपाली तमसुक गरेको, दोब्बर–तेब्बरसम्म बढीको बैंक चेक धितोबापत राख्ने प्रवृत्ति रहेको पाइएको उनले बताए। 

परेको उजुरीको छानबिनका क्रममा दुवै पक्षबाहेक कपाली वा अन्य कागजात लेख्ने लेखापढी, साक्षीलाई समेत कार्यालयमा बोलाएर आवश्यक सोधपुछ गर्ने, आवश्यक प्रमाण खोज्ने र सहमतिका लागि अधिकतम् प्रयास गर्ने गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीले बताए।

छानबिनका क्रममा लेनदेन गर्नेहरूको कागजमा उल्लेख रहेको रकम लेनदेन गर्ने हैसियत तथा आवश्यकता र स्रोत रहे–नरहेकोसमेत अनुसन्धान गर्ने गरिएको प्रजिअ रेग्मीको भनाइ छ।

‘उजुरीको छानबिन गर्दा सकेसम्म सहमतिमै समस्या समाधान होस् भन्ने नै हाम्रो चाहना रहन्छ,’ प्रजिअ रेग्मीले भने, ‘त्यहीअनुसार हामीले उजुरीकर्ता र आरोपित दुवै पक्षलाई सहमतिका छलफल गराउँछौँ, अहिलेसम्म धेरैजसोमा सहमतिबाटै उजुरीको फर्स्याेट भइरहेको छ, यो राम्रो पक्ष हो,’ उनले भने।