Skip This
मध्यपहाडी लोकमार्गका ४० स्थानमा एमालेको सभा र अन्तर्क्रिया
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर ११ सोमबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o मङ्सिर ११ सोमबार o८:४o:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

मध्यपहाडी लोकमार्गका ४० स्थानमा एमालेको सभा र अन्तर्क्रिया

नेताहरूलाई १५ बुँदे आचारसंहिता, आफूलाई आवश्यक पर्ने सबै सामानको आफैँ प्रबन्ध गर्नुपर्ने

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o मङ्सिर ११ सोमबार o८:४o:oo

एमालेले आगामी १४ मंसिरबाट गर्ने मध्यपहाडी लोकमार्ग यात्रा अभियानमा ४० स्थानमा कोणसभा, अन्तर्क्रिया र स्थानीयसँग भेटघाट कार्यक्रम राखेको छ । अध्यक्ष केपी ओलीले बैतडीको झुलाघाटमा राष्ट्रिय झन्डोत्तलन गरेर सुरु गर्ने अभियान तीन साता चलेर २ पुसमा पाँचथरको चिवाभञ्ज्याङमा पुगेर समापन हुनेछ । 

केन्द्रीय प्रचार विभागका सचिव गगन विष्टका अनुसार अभियानका क्रममा २५ जिल्लाका ४० स्थानमा कार्यक्रम हुनेछन् । गत ६ मंसिरको केन्द्रीय कमिटी बैठकले अभियानको कार्ययोजना पारित गरेको थियो । संकल्प यात्रामा अध्यक्ष ओलीको नेतृत्वमा पदाधिकारी, केन्द्रीय निकायका अध्यक्ष÷प्रमुखहरू, भूगोल कार्यक्षेत्र नभएका स्थायी कमिटी सदस्य र तोकिएका व्यक्ति टोलीमा रहनेछन् ।

अभियानमा सहभागी हुनेका लागि अलग्गै १५ बुँदे आचारसंहितासमेत बनाइएको प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । जसअनुसार अध्यक्ष ओलीबाहेक कसैले पनि निजी सुरक्षा गार्ड प्रयोग गर्न पाउनेछैनन् । नेताहरूका सवारीसाधनका अतिरिक्त चारवटा विशेष टिम यात्रामा संलग्न हुनेछ । जसअनुसार एम्बुलेन्ससहितको मेडिकल टिम, सवारीसाधन मर्मतसम्भार गर्ने मेकानिकल टिम, केन्द्रीय प्रचार टिमका साथै न्यूनतम २० जना दक्ष स्वयंसेवकका लागि चारवटा गाडी प्रयोग गरिनेछन् । अभियानमा सहभागी सबै केन्द्रीय नेताहरूले सवारीसाधनको इन्धनको प्रबन्ध आफैँले गर्नुपर्नेछ । त्यस्तै, सहभागी सबैले नियमित सेवन गर्ने औषधि, न्यानो कपडा, स्लिपिङ ब्याग, ड्राई फुड, मोबाइल चार्जर र आफूलाई आवश्यक पर्ने रकम पनि बोकेर हिँड्नुपर्नेछ ।

नेतृत्वले जनतासँग गर्ने संवादमा अवरोध पुर्‍याउन नपाइने, औपचारिक कार्यक्रममा पनि तोकिएका नेताबाहेकले मञ्चमा भिडभाड गर्न नपाउने, यात्राका क्रममा खानपिन, बोलीचाली र आचरणमा मर्यादा कायम गर्नुपर्ने, स्थानीय भाषा, संस्कृति, परम्परा र चालचलनको सम्मान गर्नुपर्ने आचारसंहिता जारी गरिएको छ । पहाडका समस्या, पूर्वाधार र उत्पादनका विषय, पहाडलाई विकास र समृद्धिको नमुना बनाउनेलगायतमा विषयमा जवाफ खोज्ने गरी अभियानका लागि एमालेले अलग्गै पाँचवटा प्रश्न बनाएको छ । 

जटिल भौगोलिक संरचना, छरिएका बस्ती, प्राकृतिक विपत्तिको उच्च जोखिम, वन्यजन्तुका कारण कृषि उत्पादनमा ह्रास तथा जलवायु संकट पहाडको विकासका मुख्य चुनौती रहँदै आएको जनाउँदै एमालेले पहाड पूर्वाधार, विद्युतीकरण, खानेपानी र स्वास्थ्य तथा शिक्षामा पहुँचका दृष्टिले उल्लेख्य ढंगले रूपान्तरित हुँदै आएको दाबी गरेको छ । तीव्र बसाइँसराइ पहाडको मुख्य समस्या बन्न थाले पनि एकातिर विकासका योजना पहाड चढ्दै जाने, अर्कातिर पहाडबाट जनसंख्याको ठूलो हिस्सा तराई, सहर हुँदै बिदेसिँदै जाने चुनौती नै अर्थ–राजनीतिको सर्वाधिक जटिल प्रश्न समाधानका लागि अभियान केन्द्रित हुने जनाइएको छ । 

अहिले विभिन्न नाममा यस एकतालाई खलबलाउने, सामाजिक सद्भावलाई कमजोर पार्ने र जनताका बीचमा फाटो ल्याउने प्रयास देखा पर्न थालेकाले अभियानले सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई बलियो बनाउन योगदान गर्ने एमालेको दाबी छ । समाजमा निराशा फैलाउने, नकारात्मक मनोविज्ञान निर्माण गर्ने र नेपाल समृद्ध बन्दैन, बन्नै सक्दैन भन्ने संकथन निर्माण गर्ने प्रयास निकै व्यापक रूपमा भइरहेको भन्दै मुलुक बन्छ, बन्दै छ भन्ने दह्रो आत्मविश्वास निर्माण गर्नु, प्राप्त उपलब्धिको रक्षा एवं संवद्र्धन गर्नु तथा समाजमा आशावाद र सकारात्मक मनोविज्ञान निर्माण गर्नु अभियानको उद्देश्य रहेको प्रस्ट्याएको छ ।

नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ७५औँ वर्षमा पार्टीले पुर्‍याएको योगदान जनतालाई प्रस्ट्याउँदै बलियो राष्ट्रिय शक्ति निर्माण गर्न सहयोग पुर्‍याउनु अभियानको अर्को उद्देश्य रहेको पनि एमालेको भनाइ छ । अभियानमा हुने जनसंवादमार्फत सुझाव लिने र त्यसबाट सिकेर पार्टीलाई अगाडि बढाइने बताइएको छ । 

एमाले सचिव भट्टराई चढेको गाडी तोडफोड
 एमाले सचिव योगेशकुमार भट्टराई चढेको गाडी पहिचान पक्षधरले तोडफोड गरेका छन् । ताप्लेजुङबाट काठमाडौं फर्कने क्रममा आइतबार सदरमुकाम फुङलिङको तोक्मे डाँडामा पहिचान पक्षधरले आक्रमण गरेर गाडीको सिसासमेत फुटाएका छन् । सात–आठजनाको समूहमा रहेकाले भट्टराई सवार गाडीमा ढुंगा र लाठीले हानेको एमालेका कार्यवाहक जिल्ला अध्यक्ष सन्तोष खतिवडाले बताए । आक्रमणकारीले हानेको ढुंगा भट्टराई सवार गाडीको अगाडिको भागमा लागेको प्रत्यक्षदर्शीले बताएका छन् । भट्टराईको गाडीलाई सशस्त्र र नेपाल प्रहरीले स्कर्टिङ गरेका थिए । आक्रमणबाट भट्टराईलगायत कसैलाई क्षति पुगेको छैन ।

एमाले सचिव भट्टराईले राजनीति गर्ने भए झ्यालबाट नभई ढोकाबाट आउन पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनौती दिएका छन् । प्रतिनिधिसभा सदस्यसमेत रहेका भट्टराईले गणतन्त्र अन्त्य गर्छु भन्दै हिँड्नेहरू र पूर्वराजा ज्ञानेन्द्र शाहका गतिविधि नियन्त्रणमा तत्काल कदम चाल्न सरकारलाई आग्रह गरे । उनले पूर्वराजाका गणतन्त्रविरोधी गतिविधि र चलखेलबारे सरकारको धारणा माग गरे ।

पत्रकार महासंघ ताप्लेजुङले आइतबार बिहान फुङलिङमा गरेको पत्रकार सम्मेलनमा भट्टराईले पूर्वराजालाई नेपालले दिएजस्तो आवास, सुरक्षालगायतको सुविधा कुनै पनि देशमा नभएको जिकिर गरे । पूर्वराजाले आफ्नो हैसियत बिर्सिएर तमासा देखाउने र नेपाली जनताको समृद्धिको चाहनामा अवरोध सिर्जना गर्ने कार्य कुनै हालतमा नेपाली जनतालाई मान्य नहुने बताए ।