उग्र दक्षिणपन्थी पार्टीको विजयको अर्थ

आइतबार, १० मंसिर, २०८०
डिजिटल संस्करण

चुनावमा सबैभन्दा ठूलो दल बनेको पार्टी फर फ्रिडमका नेता वाइल्डर्सले भाग लिने सरकारमा युरोपियन युनियनप्रति सन्देहास्पद अडान देखिने

नेदरल्यान्ड्सको चुनावमा गिर्ट वाइल्डर्स नेतृत्वको पार्टी फर फ्रिडम विजयी भएको छ र यसले राजनीतिक संस्थापनलाई ठूलो धक्का दिएको छ । डच इतिहासमा पहिलोपटक राष्ट्रिय संसद्मा उग्र–दक्षिणपन्थी पार्टी सबैभन्दा ठूलो पार्टी बनेको छ । वाइल्डर्स एक सनकी नेता हुन्, जो भड्काउ बयानबाजीका लागि चर्चित छन् । उनी नेदरल्यान्ड्सले युरोपियन युनियन छोड्नुपर्ने बताउँछन् र एकपटक उनले इस्लामलाई ‘फासिस्ट’ धर्मको संज्ञासमेत दिएका थिए । सन् २०१६ को एक सुनुवाइले उनलाई विभेद गर्न उक्साएको आरोपमा दोषी ठहर्याएको थियो, तर उनले यस अपराधका लागि सजाय पाएनन् ।   

पूर्वनिर्वाचन सर्वेक्षणले पार्टी फर फ्रिडम प्रमुख पार्टीका रूपमा देखा पर्ने संकेत गरे पनि मूलधारका वाम एवं दक्षिणपन्थी दलसँग कडा प्रतिस्पर्धा गर्ने देखाएको थियो । तर, यी पूर्वानुमान गलत साबित भए, किनभने वाइल्डर्सले अन्ततः संसदीय सिट गणनामा पर्याप्त अग्रता हासिल गरे । तैपनि, उनले साझेदार खोजेर गठबन्धन सरकार बनाउनुपर्नेछ । न्यु सोसल कन्ट्र्याक्ट नाम गरेको एक नयाँ दक्षिणपन्थी पार्टीले पनि पहिलोपटकमै बलियो प्रदर्शन गरेको छ । पार्टी फर फ्रिडमझैँ यसले नेदरल्यान्ड्सको समस्याग्रस्त सार्वजनिक सेवा र किफायती आवासको अभावजस्ता मुद्दाका लागि आप्रवासनलाई दोष दिन्छ । यद्यपि, न्यू सोसल कन्ट्र्याक्टका नेता (पहिले मध्यम–दक्षिणपन्थी क्रिस्टियन डेमोक्य्राटिक पार्टीका पूर्व सांसद) पिटर ओम्जिग्ट वाइल्डर्सको उत्तेजक एवं भड्काउ भाषणप्रति आलोचनात्मक दृष्टिकोण राख्छन् । यसका बाबजुद वाइल्डर्ससँग गठबन्धन बनाउन ओम्जिग्ट नै उपयुक्त पात्र देखिन्छन् ।

यसबाहेक अहिले सत्ताबाहिर रहेका प्रधानमन्त्री मार्क रुटको नेतृत्वमा रहेको पार्टी पनि गठबन्धनमा जोडिन सक्छ । तर, साझेदारीको सम्भाव्यता निर्धारण गर्न समय लाग्नेछ । नेदरल्यान्ड्समा गठबन्धन बनाउन महिनौँ लाग्छ । वाइल्डर्सको व्यक्तिगत छविका कारण गठबन्धन बन्ने प्रक्रिया थप जटिल हुनेछ । वाइल्डर्ससँग सबैभन्दा बढी सिट भए पनि धेरै वर्षदेखि विवादित छविका कारण उनी प्रधानमन्त्रीको भूमिकामा अयोग्य ठहरिन सक्छन् । 

यदि गठबन्धन बन्यो भने पनि युरोपियन युनियनमा नेदरल्यान्ड्सको स्थितिबारे प्रश्न उठ्नेछ । वाइल्डर्स ब्रेक्जिट शैलीको जनमतसंग्रहको वकालत गर्छन् । यस्तो जनमतसंग्रह कार्यान्वयन भएन भने पनि वाइल्डर्सले भाग लिने सरकारमा युरोपियन युनियनप्रति सन्देहास्पद अडान देखिनेछ । यो अवस्थामा युरोपियन युनियनमाथि ठूलो प्रभाव पर्नेछ । युरोपमा उग्र–दक्षिणपन्थी दलले युरोपियन युनियन बहिर्गमनका मामिलामा भिन्न मत राख्ने गरेका छन् । तथापि, युरोपियन युनियन थप घनीभूत अन्तरसरकारी निकायमा रूपान्तरण हुने सम्भावना देखिन्छ । अर्थात् युरोपियन युनियनको ब्रसेल्समा रहेको केन्द्रीकृत शक्ति घट्नेछ ।

वाइल्डर्सले सम्भवतः गत वर्ष इटलीको चुनावी नतिजाबाट केही सिक्नेछन् । सो चुनावमा इटलीमा प्रधानमन्त्रीका रूपमा जर्जिया मेलोनी विजय भएकी थिइन् र मेलोनीसँग वाइल्डर्स वैचारिक रूपमा नजिक छन् । मेलोनीका उग्र–दक्षिणपन्थी ब्रदर्स अफ इटली पार्टी सन् २०२२ को चुनावमा प्रमुख शक्ति बनेको थियो, जसले अन्य दक्षिणपन्थी एवं उग्र–दक्षिणपन्थी पार्टीसँग गठबन्धन बनाएको थियो ।

वाइल्डर्सझैँ मेलोनीलाई राजनीतिक वृत्तमा बाहिरियाका रूपमा हेरिन्थ्यो र उनी लामो समयदेखि राजनीतिक बहसको केन्द्रमा आप्रवासी नै थिइन् । तर, जब उनी सत्तामा पुगिन्, तब उनको उग्र–आप्रवासनविरोधी भाष्य नरम बन्दै गएको छ । पदबहाली भएलगत्तै व्यापारिक समुदायले उनलाई इटलीको श्रमिक संकट समाधान गर्न माग गरेको थियो, अर्थात् थप आप्रवासी श्रमिक बढाउनुपर्ने अवस्था निम्तियो । 

लन्डन स्कुल अफ इकोनोमिक्सबाट सारा होबोल्टसँगको सहलेखनमा पोलिटिकल आन्ट्रप्रेनियर्स नामक मेरो पुस्तक प्रकाशित छ । सो पुस्तकमा हामीले शासन प्रक्रियाले राजनीतिक दलमा परिवर्तन ल्याउँछ भन्ने देखाएका थियौँ । सत्ताबाहिर रहँदा चर्को आलोचक बन्न सजिलो भए पनि सत्तारोहण हुँदा राजनीतिक दल सरकारी नीतिका लागि जवाफदेही हुनुपर्छ । सरकारले निर्णय गर्नुपर्छ, प्रतिस्पर्धात्मक चासोमा विचार गर्नुपर्छ । यसबाहेक बजेट सम्बन्धित प्रावधानले सरकारमा सीमितता ल्याउने गर्छ । अन्य धेरै लोकरिझ्याइँवादी पार्टीका नेताले झैँ मेलोनीले नेतृत्व सम्हालेपछि उनको चर्को दृष्टिकोण साम्य भयो ।

वाइल्डर्सले महत्वपूर्ण रूपमा विचार गर्नुपर्ने विषय भनेको ब्रदर्स अफ इटलीको चुनावी प्रचार र चुनावपछि सरकारमा आउँदा लिएको नीति हो । अर्थात् चुनावी समयमा ब्रदर्स अफ इटलीले युरोपियन युनियनप्रति सन्देह राख्ने नीतिलाई चुनावी वाचाका रूपमा पेस गरेका थिए । यद्यपि अहिले पार्टी युरोपियन युनियनसँग नजिक मात्रै नभई युनियनको आप्रवासन मुद्दामा पनि सहमत भएको छ । मेलोनीले सार्वजनिक रूपमा युरोपियन युनियनका अध्यक्ष उर्सुला भोन डर लेयनसँग निकटता प्रदर्शन गरेकी थिइन् ।

तर, इटलीको अनुभवले अर्को परिदृश्य पनि देखाउँछ, जसले वाइल्डर्सलाई आकर्षित गर्न सक्छ । स्थापित राजनीतिक व्यवस्थालाई चुनौती दिएर लोकप्रियता हासिल गर्ने दलले प्रायः दोहोरो स्थिति कायम गर्ने रणनीति पनि रोज्छन्, अर्थात् आंशिक रूपमा सरकार भित्र र बाहिर रहन खोज्छन् । यसको दृष्टान्त हुन् लेगा पार्टीका नेता माटेओ साल्भिनी । साल्भिनी मेलोनी सरकारका सबैभन्दा साना साझेदार हुन् । साल्भिनी आफ्नो सरकारलाई अप्ठ्यारोमा पारेर भए पनि आफ्नो छविलाई लोकप्रिय बनाइराख्न कुनै कसर बाँकी राख्दैनन् । र, यस्तो सुविधा गठबन्धनको सानो घटकलाई मात्रै हुन्छ, किनभने प्रधानमन्त्रीमाझ अन्य महत्वपूर्ण दबाब आउने गर्छ । यस अर्थमा वाइल्डर्सले साल्भिनीको बाटो पनि रोज्न सक्छन् । जुनसुकै बाटो रोजे पनि वाइल्डर्स यदि सरकारको एक हिस्सा बने भने यो चुनावको नतिजाले निःसन्देह युरोपका बाँकी हिस्सासँग नेदरल्यान्ड्सको सम्बन्धलाई प्रभावित पार्नेछ ।

(भ्राइज इटलीको बोकोनी विश्वविद्यालयकी राजनीतिशास्त्रकी प्राध्यापक हुन्) 
द कन्भर्सेसनबाट

सुझावित समाचार