वार्षिक ५० करोडसम्म घाटा भएपछि ०७७ सालदेखि ग्राउन्डेड गरिएका पाँचवटै जहाजमा थपिँदै छ लगानी
साढे तीन वर्षदेखि नउडाई पार्किङ गरेर राखिएका चिनियाँ जहाजहरू नेपाल वायुसेवा निगम (नेवानि)का लागि आर्थिक रूपले बोझिलो बनेका छन् । जहाज उडाउँदा आम्दानीभन्दा खर्च बढी भएको भन्दै ग्राउन्डेड गरिएका जहाजहरूमै निगमको वार्षिक ४८ करोड नौ लाख रुपैयाँ खर्च हुने गरेको एक अध्ययनले देखाएको छ ।
जहाज ग्राउन्डेड गरिए पनि इन्स्योरेन्स प्रिमियम, मर्मत–सम्भार, पार्किङ, ह्रासकट्टी र कर्जाको ब्याजसमेत निगमले व्यहोर्नुपरिरहेको छ । निगमले आन्तरिकतर्फ स्टल र ट्रंक रुटमा उडान गर्नका लागि भनेर चीनबाट अनुदान तथा सहुलियत कर्जामा दुईवटा ५६ सिटे एमए–६० र चारवटा १८ सिटे वाई–१२ई गरी ६ वटा जहाज किनेर ल्याएको थियो । जसमध्ये एउटा एमए–६० र एउटा वाई–१२ई चीन सरकारले अनुदानमा उपलब्ध गराएको हो । चारवटा जहाज चिनियाँ बैंककै पौने चार अर्ब रुपैयाँ सहुलियतपूर्ण कर्जामा किनेर ल्याइएको हो ।
चिनियाँ जहाजहरू उडाउँदा वार्षिक सञ्चालन घाटा नै ५० करोड रुपैयाँसम्म हुन थालेपछि निगमले उड्दा–उड्दैका पाँचवटै जहाज १६ साउन ०७७ देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थन्क्याएर राखेको छ । एउटा वाई–१२ई नेपालगन्जमा दुर्घटनामा परेर काम नलाग्ने भएको थियो । चिनियाँ जहाज उडाउँदा ०७१ देखि ०७७ साउनसम्म साढे दुई अर्बभन्दा बढी सञ्चालन नोक्सानी भएको बताइएको छ ।
अनुदानका दुईवटा जहाज ०७१ वैशाख र कात्तिकमा नेपाल भित्रिएका थिए । निगमले ४० वर्षपछि नयाँ जहाज (एमए–६०) त्रिभुवन विमानस्थलमा पञ्चेबाजा बजाएर भित्र्याएको थियो । अनुदान ऋणमा किनेका दुईवटा जहाज ०७३ माघ र थप दुईवटा जहाज ०७४ फागुनमा नेपाल आइपुगेका थिए । पहिलो जहाज भित्रिएको ६ वर्षमै उडान खर्च थेग्न नसकेको भन्दै सबै जहाज ग्राउन्डेड गरिएका थिए ।
निगमले जहाज पार्किङ गरेर राख्दा पनि वार्षिक झन्डै ४८ करोड अनावश्यक खर्च व्यहोर्नुपरिरहेको छ । इन्स्योरेन्स प्रिमियम, मर्मत–सम्भार, पार्किङ, ह्रासकट्टी र ब्याजसमेत जोड्दा पाइलटको पारिश्रमिक तथा तालिम खर्चबाहेक ग्राउन्डेड एमए–६० का लागि वार्षिक २८ करोड ३१ लाख र वाई–१२ई जहाजका लागि १९ करोड ७८ लाख रुपैयाँ खर्च हुने गरेको पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीको संयोजकत्वमा गठित ‘निगमको संरचनागत एवं व्यवस्थापकीय अध्ययन तथा सिफारिस समितिको प्रतिवेदन–२०८०’ मा उल्लेख छ । यी जहाजले अत्यधिक इन्धन खपत गर्नुका साथै यात्रु क्षमता पनि कम भएको, चिनियाँ पक्षबाट पार्टपुर्जा उपलब्ध गराउन ढिलाइ गरेको, स्पेयर पार्टस् पनि अत्यधिक महँगो, पाइलट–इन्जिनियरको महँगो तालिम, चर्को इन्स्योरेन्सलगायतका कारण अत्यधिक घाटा व्यहोर्नुपरेको निगमको दाबी छ ।
ग्राउन्डेड चिनियाँ जहाजहरू भाडामा दिन वा बिक्री गर्नका लागि निगमले अनुमति पाइसकेको छ । तर, पटक–पटक सार्वजनिक टेन्डर आह्वान गर्दा पनि जहाज भाडामा लैजाने कोही नभेटिएपछि निगमले जहाज बिक्रीका लागि प्रक्रिया अगाडि बढाएको छ । निगमले चाइनिज जहाज बिक्रीका लागि अमेरिकी मूल्यांकनकर्ता कम्पनी छनोट गरेर मूल्यांकन गरेको छ । तर, निगम व्यवस्थापनको बदनियतपूर्ण सोचका कारण मूल्यांकनकर्ताले उडान गर्न मिल्ने जहाजको मूल्यांकन कबाडीको सरह गरेको पर्यटन मन्त्रालय स्रोत बताउँछ ।
अहिले निगमसँग आन्तरिक उडानका लागि तीन थान डिएचसी–६ मोडेलका ४० वर्ष पुराना ट्विनअटर जहाज छन्, जसमध्ये एउटा ट्विनअटर १२ वर्षदेखि ग्राउन्डेड छ । अहिले सञ्चालनमा रहेका दुई ट्विनअटरमध्ये एउटा मात्र पूर्ण नियमित सञ्चालनमा रहेको अध्ययन प्रतिवेदनमा उल्लेख छ । निगम व्यवस्थापनले भएकै जहाज पूर्ण रूपमा उडाउन नसकिरहेका वेलामा थप तीनवटा ट्विनअटर जहाज खरिद गर्न टेन्डर आह्वान गरेको छ । भएकै जहाजहरू उडाउन नसक्ने निगमलाई नयाँ जहाज खरिद गर्न अर्थ मन्त्रालयले सहमति दिन मानेको छैन ।
निगमलाई आन्तरिक उडानतर्फ आर्थिक वर्ष ०७९/८० (वैशाखसम्म)मा १० महिनामा ५० करोड १० लाख रुपैयाँ घाटा भएको छ । आन्तरिकतर्फ नोक्सानी हुनुमा जहाजहरू सञ्चालनमा नहुनु, ट्रंक गन्तव्यमा नभई स्टल गन्तव्यमा मात्र जहाज उड्नु, माथिल्लो निकायको निर्देशनअनुसार उडाउनुपर्ने बाध्यतालगायत कारण रहेको समितिको ठम्याइ छ ।
अध्ययन समितिको प्रतिवेदनअनुसार निगमलाई सबैभन्दा धेरै नोक्सानी अन्तर्राष्ट्रिय उडान गर्ने दुईवटा वाइडबडी एयरबस–३३० जहाज उडाउँदा हुने गरेको छ । दुईवटा वाइडबडी जहाज उडाउँदा निगमलाई आव ०७९/८० को दश महिनामै तीन अर्ब २८ करोड पाँच लाख रुपैयाँ घाटा भएको छ । अन्तर्राष्ट्रिय उडान गर्ने न्यारोबडी एयरबस–३२० जहाज उडानमा भने नाफा देखिएको छ । आव ०७९/८० को १० महिनामा निगमलाई न्यारोबडी उडाउँदा ९५ करोड ७८ लाख रुपैयाँ नाफा भएको देखिन्छ ।