१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर ८ शुक्रबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o मङ्सिर ८ शुक्रबार o६:५२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

बँदेल कृषि हानिकारक वन्यजन्तु घोषणा : बाली क्षति गर्ने बँदेल मार्नसमेत पाइने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o मङ्सिर ८ शुक्रबार o६:५२:oo

सरकारले बँदेललाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको छ । बिहीबार राजपत्रमा सूचनाजारी गर्दै निजी खेत, खला, बारीमा आउने सानो जातको बँदेलबाहेकको जंगली बँदेललाई एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको हो । नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली २०३० को नियम ३६ ले दिएको अधिकार प्रयोग गरी घोषणा गरिएको छ ।

जंगली बँदेलले किसानको खेतबारीमा आई बालीनाली वा धनजनको हानि–नोक्सानी पुर्‍याएमा किसान एक्लै वा सामूहिक रूपमा त्यस्तो बँदेललाई धपाउन, लखेट्न वा मार्न पनि पाउनेछन् ।

जंगली बँदेललाई पक्रिएको खण्डमा सम्बन्धित राष्ट्रिय निकुञ्ज कार्यालय, वन्यजन्तु आरक्षण, सिकार आरक्ष कार्यालय, संरक्षण क्षेत्रको कार्यालय, डिभिजन कार्यालयमा बुझाउनुपर्ने र उक्त सूचना स्थानीय वडा कार्यालयमा समेत दिनुपर्ने राजपत्रमा उल्लेख गरिएको छ ।

बँदेललाई धपाउने वा लखेट्ने क्रममा मृत्यु भएमा सम्बन्धित वडाको एकजना प्रतिनिधिसहित कम्तीमा पाँचजना स्थानीय व्यक्तिको रोहबरमा मुचुल्का खडागरी गाड्न वा तौलका आधारमा मूल्य तोकी उक्त रकम राजस्वमा दाखिला गर्न सकिने उल्लेख छ । यसबारे वन्यजन्तु आरक्ष कार्यालय, सिकार आरक्ष, डिभिजन वन कार्यालयमा जानकारी दिनुपर्ने उल्लेख छ ।

मारिएको बँदेल वन्यजस्तुलगायत कार्यालयले प्रत्येक महिना नेपाल सरकारको वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग तथा सम्बन्धित प्रदेश सरकारको सम्बन्धित मन्त्रालयमा बुझाउनुपर्ने उल्लेख छ । तर, राजपत्रमा उल्लेख भएअनुसार राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, सिकार, संरक्षण क्षेत्र वा राष्ट्रिय वन क्षेत्रमा जंगली बँदेललाई धपाउन, लखेट्न, पक्रन वा मार्न पाइनेछैन ।