१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नेपालगन्जस्थित क्वारेन्टिनको होल्डिङ यार्डमा राखिएका राँगा । तस्बिर : विश्वराज पछल्डङ्ग्या/नयाँ पत्रिका
भोजराज भण्डारी काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार o६:४१:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

भारतबाट आइपुगे १५ वटा मुर्रा राँगा : नेपालगन्ज, पोखरा र लहानमा राखिने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o६:४१:oo

भारतले अनुदानमा दिएको उन्नत जातको १५ वटा मुर्रा राँगा बुधबार नेपाल आइपुगेको छ । नेपाल–भारतबीच कृषि तथा पशुपक्षीको क्षेत्रमा भएको पूर्वसमझदारीअनुसार नेपालगन्ज जमुनाहा नाका भएर मुर्रा राँगा भित्रिएको हो । गत जेठमा भएको प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा भारतले अनुदानमा मुर्रा राँगा दिने बताएको थियो । नेपाल आइपुगेको उक्त राँगालाई पूर्वसहमतिअनुसार तीनवटा नेपालगन्ज, पाँचवटा लहान र सातवटा पोखराको पशु क्वारेन्टिन शाखामा राखिने नेपालगन्ज पशु क्वारेन्टिन शाखा कार्यालयका प्रमुख डा. विनयकुमार कर्णले बताए ।

राँगा लिन पशुसेवा विभाग, पशु क्वारेन्टिन र केन्द्रीय पशु प्रयोगशालाका अधिकारीहरू नेपालगन्ज भन्सार कार्यालय पुगेका थिए । यो नश्लको राँगाले नेपालको दूध उत्पादन क्षमता तथा भैँसीको नश्ल सुधारमा फड्को मार्ने कर्णले बताए । भारतीय सेन्ट्रल इन्स्टिच्युट फर बफेलोले विकास गरेको मुर्रा प्रजातिको भैँसीको जात विश्वमै उन्नतमध्येको एक मानिएको पशुसेवा विभागका निर्देशक डा. चन्द्र ढकालले बताए । भारतको हरियाणामा रैथाने प्रजातिलाई आनुवंशिक विकास गर्दै लामो अध्ययनबाट उन्नत बनाइएको यो जात दूध उत्पादनका लागि सबैभन्दा राम्रो मानिने उनको भनाइ छ ।

यो जातको भैँसीले एक बेतमा पाँच हजार लिटरसम्म दूध दिने अनुमान गरिएको छ । यस्तो भैँसीको कारण भारतले दुग्ध उत्पादनमा तीन गुणा वृद्धि गरेसँगै संसारभर भारतबाट मुर्रा जातको नश्लका लागि माग बढेको पशुसेवा विभागको भनाइ छ । नेपालमा अहिले पालिएका उन्नत जातका भैँसीहरूबाट औसत प्रतिबेत १४ सय लिटर मात्रै दूध उत्पादन क्षमता रहेको विभागको भनाइ छ ।

तत्कालीन प्रधानमन्त्री केपी ओलीकै पालामा मुर्रा जातको राँगा ल्याउने सहमति भएको थियो । ०७५ मै नेपाल–भारत संयुक्त कृषि प्राविधिक कार्य समूहको बैठकमा ३० वटा उन्नत जातका मुर्रा राँगा नेपाल सरकारबाट माग भए थियो । सोहीअनुसार जेठ ०७७ मा भारतीय पशु मन्त्रायलाई नेपालले उच्च प्रजनन क्षमता भएका नश्ल राँगो आपूर्तिका लागि औपचारिक प्रस्ताव गरेको थियो । 

ad
ad