१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर ७ बिहीबार
  • Friday, 09 May, 2025
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका– १ चाइनाबगरका भूकम्पपीडित खेतमा पाल टाँगेर बसिरहेका छन्
मनीष खड्का रुकुम पश्चिम
२o८o मङ्सिर ७ बिहीबार o६:२७:oo
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

भूकम्पपीडितले अस्थायी आवासको अनुदान पाउन अझै डेढ साता लाग्ने

Read Time : > 2 मिनेट
मनीष खड्का, रुकुम पश्चिम
नयाँ पत्रिका
२o८o मङ्सिर ७ बिहीबार o६:२७:oo

स्थानीय तहबाट लाभग्राहीको तथ्यांक संकलनमा ढिलाइ हुँदा संघीय सरकारले निकासा गरेको अस्थायी आवास निर्माणको अनुदान भूकम्पपीडितले अझै पाएनन्, मंसिरको चिसोमा पीडितहरू त्रिपालमुनि रात काट्न बाध्य छन्

सरकारले भूकम्पपीडितका लागि अस्थायी आवास निर्माणको घोषणा गरे पनि लाभग्राहीको तथ्यांक संकलनमा ढिलाइ हुँदा अनुदान पाएका छैनन् । निर्माण गर्नुपर्ने अस्थायी घरको विवरण पालिकाहरूले संकलन गर्न नसक्दा अनुदान वितरण हुन नसकेको हो । 

गृहको तथ्यांकअनुसार १७ कात्तिकको जाजरकोट भूकम्पले जाजरकोट, रुकुम पश्चिम, बझाङ, बाजुरा र सल्यानमा ६२ हजारभन्दा बढी घर (२६ हजार पाँच सय ५७ घर पूर्ण र ३५ हजार चार सय ५५ घर आंशिक) भत्किएका छन् । तर, कतिपय परिवारको दुई वा दुईभन्दा बढी घर भत्किएकाले कति अस्थायी आवास आवश्यक छ भन्ने यकिन विवरण तयार भएको छैन । सरकारले प्रतिपरिवार एउटा अस्थायी आवासका लागि मात्र अनुदान दिन्छ । लाभग्राहीलाई अस्थायी आवास निर्माणका लागि राष्ट्रिय विपत् प्राधिकरणले जिल्लास्थित विपत् कोषमा ४ मंसिरमै पहिलो किस्ताबापतको एक अर्ब ४१ करोड निकासा गरेको थियो । 

भौगोलिक विकटता र क्षतिको विवरण संकलनका लागि दिइएको प्रश्नावली लामो भएका कारण क्षतिको विवरण संकलनमा ढिलाइ भइरहेको जाजरकोटको भेरी नगरपालिकाका प्रमुख डम्बरबहादुर रावतले बताए । ‘हामीले क्षतिको विवरण संकलनको काम गरिरहेका थियौँ । जिल्ला विपत् व्यवस्थापन समितिले पुनः विवरण संकलन गर्न भनेपछि ढिलाइ भएको हो,’ रावतले भने, ‘समितिले भनेबमोजिम विवरण संकलनका लागि टोली परिचालन गरिएको छ । बस्न नमिल्ने र मिल्ने भनेर घरलाई दुई भागमा वर्गीकरण गर्न लागिएको छ ।’ भेरीमा १० मंसिरसम्म विवरण संकलन भइसक्ने उनले बताए । 

रुकुम पश्चिममा बिहीबारसम्म विवरण पठाइसक्न भनिएको छ । तर, यहाँ पनि अझै केही समय लाग्ने देखिन्छ । रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले वडाबाट आएको विवरणलाई रुजु गर्ने काम भइरहेको बताए । ‘हामीले क्षतिको यकिन गरेर विवरण पठाइसकेका थियौँ, फेरि बस्न मिल्ने र नमिल्ने गरी दुई क्याटागोरीमा विवरण माग भएपछि सोही ढाँचामा विवरण पठाउने तयारी छ,’ उनले भने ।

रुकुम पश्चिममा पीडितको खातामा पैसा पठाउन अझै १० दिन लाग्ने, जाजरकोटमा झन् ढिला
तथ्यांक संकलनमा केही अगाडि देखिएको रुकुम पश्चिममा अस्थायी आवासका लागि व्यक्तिको खातामा पहिलो किस्ता पठाउन अझै १० दिन लाग्ने देखिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले लाभग्राही छनोट, प्रमाणीकरण र खातामा रकम जम्मा गर्न कम्तीमा १० दिनजति लाग्ने बताए । तर, चिसो अध्यधिक बढेको र चिसोका कारण भूकम्पपीडितहरू बिरामी पर्न थालेपछि जिल्लामा जतिसक्दो छिटो अस्थायी आवासको प्रक्रिया थाल्ने योजनाअनुसार काम भइरहेको उनले बताए । 

प्रारम्भिक तथ्यांकअनुसार रुकुम पश्चिममा १६ हजार पाँच सय ७० वटा घरमा पूर्ण र नौ हजार नौ सय ६१ घर आंशिक गरी कुल २६ हजार पाँच सय ३१ घरमा क्षति पुगेको छ । 

जाजरकोटमा त झन् तथ्यांक संकलनमै समय लाग्ने देखिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्माका अनुसार २ मंसिरको जिल्ला विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठकले सात दिनभित्र अस्थायी आवासका लागि घरसंख्या यकिन गरी समितिमा पठाउन स्थानीय तहलाई पत्राचार गरेको थियो । उक्त समय ९ मंसिरमा सकिँदै छ । तर, पालिकाले तोकिएको समयमा क्षतिको विवरण यकिन गर्न मुस्किल हुने बताइरहेको शर्माले बताए । यो आधारमा जाजरकोटका भुकम्पपीडितले आवासको रकम कहिले पाउँछन् टुंगो छैन र जाजरकोटमा कुल ३४ हजार चार सय ९८ घरमा क्षति पुगेको प्रारम्भिक विवरण छ । जसमा नौ हजार सात सय ९४ घरमा पूर्ण र २४ हजार सात सय सात घरमा आंशिक क्षति पुगेको छ ।

चिसोबाट  जाजरकोटमा १० पीडितको मृत्यु
चिसोका कारण जाजरकोटमा बुधबार थप एकसहित १० भूकम्पपीडितको ज्यान गइसकेको छ । कुशे गाउँपालिका– ९, मोताई गाउँमा पालमा बसेका ५३ वर्षीय रामसिलम गिरीको बुधबार दिउँसो मृत्यु भएको वडाध्यक्ष शिवराज गिरीले जानकारी दिए ।

कसरी जान्छ लाभग्राहीको खातामा पैसा ?
भूकम्पबाट प्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण अनुदान कार्यविधि, २०८० अनुसार भूकम्पले पूर्ण वा आंशिक रूपमा घर क्षति गर्दा बसोवास गर्न योग्य नरहेका घरपरिवारका लागि एउटा अस्थायी आवासका लागि अनुदान दिइनेछ । यो अनुदान दुई किस्तामा ५० हजार हुनेछ । अस्थायी आवास आवश्यक रहेका घरपरिवारको पहिचान गरी वडाले पालिकामा पठाउनुपर्नेछ । त्यसमा हेरफेर र प्रमाणीकरण गरी पालिकाले जिल्ला विपत् समितिमा सिफारिस गर्नुपर्नेछ ।

जिल्ला विपत् समितिले छानबिन गरी राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाउनेछ । प्राधिकरणले छानबिनसहित प्रमाणीकरण गरेपछि जिल्ला विपत् कोषमा रहेको रकम स्थानीय विपत् कोषमा निकासा हुनेछ । अस्थायी आवास निर्माणका लागि पालिका र भूकम्पपीडितबीच सम्झौता भएपछि धमाधम पहिलो किस्ताबापत २५ हजार पीडितको खातामा जम्मा गरिनेछ । दोस्रो किस्ता भने घरको छानो हाल्ने तहसम्म पुगेपछि वा निर्माण सकिएपछि मात्र पाइनेछ । यी प्रक्रियामा ढिलाइका कारण जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडित त्रिपालमुनि रात काट्न बाध्य छन् ।