मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर ६ बुधबार
  • Monday, 16 December, 2024
प्रदीप म्यागजिन
२o८o मङ्सिर ६ बुधबार o८:४१:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

विश्वकप फाइनलको सन्नाटाले निहुरिएको भारतको शिर

Read Time : > 2 मिनेट
प्रदीप म्यागजिन
नयाँ पत्रिका
२o८o मङ्सिर ६ बुधबार o८:४१:oo

सास थामेर बसेका ठूलो संख्याका उदास मानिसको मौनता बहुतै चिन्ताजनक थियो । म विश्वकपको फाइनल खेल हुने रंगशालामा थिइनँ, तर म घरको टेलिभिजनअगाडि भारतको हारको दुःख मनाइरहेको थिएँ । मभित्रको भारतीय निकै दुःखी थियो । तर, मभित्रको क्रिकेट फ्यानले भारतको विश्वकप च्याम्पियन हुने सपनालाई निपूणतासाथ तहसनहस पारेको अस्ट्रेलियाको प्रशंसा गरिरहेको थियो । प्याट कमिन्स र उनको टिमले धेरैले असम्भव ठानेको कुरालाई सम्भव बनाइदिएका थिए । अस्ट्रेलियाले सिंहलाई उसकै अड्डामा नियन्त्रण गर्‍यो र काबुमा लियो । र, मैले भारी मुटु लिएर अस्ट्रेलियाका लागि ताली बजाएँ । किनकि, यो युद्ध नभई एक खेल न हो । 

उसो त लाखभन्दा बढी दर्शकले खचाखच भरिएको नरेन्द्र मोदी रंगशाला मूलतः शान्त थियो, तर खेलस्थलका यी शान्त भिडको तस्बिरले धेरै कुरा बोलिरहेको थियो । भारतको पराजयले यो भिडलाई मौन बनाइदिएको थियो, र यो मौनताले अस्ट्रेलियाको जितको उत्सवलाई समेत ओझेलमा पारिदियो । सामूहिक शोकको अभिव्यक्तिका क्रममा यो भिडले प्रतिद्वन्द्वी टिमको अब्बल सीप र उत्कृष्ट रणनीतिको संज्ञानसमेत लिएन । भारतीय अपराजेयता छियाछिया मात्रै भएको छैन, वास्तवमा भारतीय टिमको स्वत्व नै धुजाधुजा भएको छ । 

म फाइनल खेलको पूर्वसन्ध्यामा भारत सेतो बलको खेल (टी २० र एकदिवसीय) मा उत्कृष्ट टोली हो वा होइन भनेर चलाइएको एक टेलिभिजन बहसमा थिएँ । सबै वक्ता भारत उत्कृष्ट हो भन्नेमा सहमत थिए । त्यहाँ मैले सन् २०११ को विश्वकपमा धोनीले विजयी छक्का प्रहार गरेको ब्याटलाई करिब एक करोड रुपैयाँमा खरिद गरेका एक धनाढ्य भारतीय क्रिकेट फ्यानलाई भेटेको थिएँ । उनले अहमदाबादमा खेल हेर्न ब्ल्याकमा एक लाखभन्दा बढीको महँगो टिकट र चर्को मूल्य तिरेर होटेल बुक गरेका थिए । उनी भारतले तेस्रोपटक एकदिवसीय विश्वकप जित्नेमा ढुक्क थिए, किनभने उनका अनुसार भारतीय टिम बलियो मात्रै नभई फाइनल खेलमा प्रधानमन्त्री नरेन्द्र मोदीको प्रेरणादायी उपस्थिति पनि हुने भएको थियो । 

मोदी र भारतीय टिमको अपराजेयताप्रतिको यस्तो विश्वास अन्य कैयौँ फ्यानमा पनि देख्न सकिन्थ्यो । यसअघि दिल्लीको अरुण जेट्ली रंगशालामा भारतले अफगानिस्तानलाई हराउँदा मैले रंगशालामा यस्तै उन्मादी फ्यान देखेको थिएँ । र, त्यतिवेला भारतले खेल हारे फ्यानको यो भिडले के गर्ला भन्दै म सोचमग्न भएको थिएँ । 

मलाई अझै पनि सन् १९९६ मा कोलकाताको इडेन गार्डेन्स रंगशालामा भएको सेमीफाइनल खेल याद छ । त्यसवेला विश्वकपसँग जोडिएर आएका विज्ञापनका लहरले भारत र विश्वकप एक–अर्काका लागि बनेका हुन् भनेर देखाएको थियो । खेलको राति स्वर्गका रूपमा परिकल्पना गरेको इडेन गार्डेन्समा भारतको ब्याटिङले श्रीलंकाका अगाडि घुँडा टेक्दा क्रुद्ध भएका फ्यानले आगो लगाएर र मैदानमा कुँडाकर्कट प्रहार गरेर रंगशालालाई नर्क बनाएका थिए । नतिजा खेलमा रोक लाग्यो र श्रीलंकालाई विजयी घोषणा गरियो । 

नरेन्द्र मोदी रंगशालामा जम्मा भएको भिड क्रिकेट हेर्न आएको थिएन, केवल भारतको विजयोत्सव मनाउन जम्मा भएको थियो  

सन् ०२३ सन् १९९६ होइन । क्रिकेटको एक फ्यान थप राजनीतिक प्राणी बनेको छ र उसमा रहेको मेरो टिम अजेय छ भन्ने भावना झन् तीव्र छ । र, यसका पछाडिको कारण क्रिकेटमा मात्रै सीमित छैन । अहिलेको ‘नयाँ भारत’को खेलकुद क्षेत्रमा समेत आत्मविश्वास र आत्मभ्रमबीच हुने मसिनो भिन्नता मेटिएको छ । १९ नोभेम्बर आइतबारका दिन अहमदाबादको रंगशालामा क्रिकेट हेर्न अघि बढिरहेका हजारौँ फ्यान आफ्नो क्रिकेट टिम र नेतृत्व विजयी हुनेमा ढुक्क थिए र भारतको पराजय अकल्पनीय थियो । 

यता अस्ट्रेलियाको भने आफ्नै योजना थियो । अस्ट्रेलियाले निपूणतासाथ भारतीय टिमका सबल र दुर्बल पक्षबारे अध्ययन एवं चिरफार गरेको थियो । तिनले पिचको अवस्था र अत्यधिक रूपमा एकपक्षीय रहेको दर्शकको मनोविज्ञानको समेत विश्लेषण गरेका थिए । भारतका अगाडि अस्ट्रेलियाले जे प्रदर्शन गर्‍यो, ती यस्ता सीप, योजना र रणनीति थिए, जसले बलियो भनिएको भारतीय टिमलाई घुँडा टेकाइदियो ।

भारतीय टिमले आफ्नो निर्विवाद प्रतिभाका बाबजुद जोखिमयुक्त खेलमा चुनौती व्यहोर्न सकेन । मुक्केबाजीको भाषामा भन्ने हो भने अस्ट्रेलियाले सुरुमा हलुका ढंगले मुक्का अघि सार्‍यो र जब भारतको कमजोरी देखिन थाल्यो, तब अस्ट्रेलियाले बजारेको मुक्काले भारत स्तब्ध हुने गरी तहसनहस भयो । विश्वकप खेलभरि अत्यास र दबाब नव्यहोरेको भारत एकाएक गल्न पुग्यो । चिच्याइरहेका दर्शकको आवाज मलीन हुँदै गयो र जसै प्रधानमन्त्री मोदी रंगशालामा आइपुगे भारतले आफ्नो नियन्त्रण गुमाइसकेको थियो । अन्ततः प्रधानमन्त्री र दर्शक हारको साक्षी बसे । 

अस्ट्रेलियाले खेलका सबै पाटोमा भारतलाई हराइरहेको थियो । रंगशालाको भिड क्रिकेट हेर्न आएको थिएन । यो भिड भारतको जितको उत्सव मनाउन जम्मा भएको थियो, न कि अस्ट्रेलियाले खेलेको उत्कृष्ट खेलको सराहना गर्न । भारतलाई जिताउने भनिएको तिलस्मी पात्र प्रधानमन्त्री मोदीले समेत यो भिडमा उत्साह थप्न सकेनन् । यो भिडको विश्व नै तहसनहस भएको थियो, यिनको सपना चकनाचुर भएको थियो । यो भिडले पक्कै पनि ठगिएको महसुस गरेको होला, तब न चौका–छक्का प्रहार गरिँदा होस् वा खेलमा शतक जोडिँदा होस् वा तमाम प्रतिकूलता चिरेर जित हासिल हुँदा भिडले तालीसमेत बजाउन सकेन ।

खेलको पूर्वसन्ध्यामा अस्ट्रेलियाका कप्तानले भिडको मौनताबाट आफ्नो टिमले ऊर्जा हासिल गर्ने बताएका थिए । आइतबारका दिन रंगशालामा छाएको सन्नाटामाझ ट्रफी उचाल्दा कप्तान कमिन्स पक्कै पनि आनन्दित भए होलान्, तर यो सन्नाटाले भारतको शिरलाई विश्वसामु निहुराइदिएको छ ।  
(म्यागजिन क्रिकेट लेखक, स्तम्भकार एवं पूर्व–खेल सम्पादक हुन्) द वायरबाट