Skip This
अस्ट्रेलिया बन्यो विश्वविजेता
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर ४ सोमबार
  • Saturday, 27 July, 2024
भारतलाई घरेलु मैदानमै ६ विकेटले पराजित गर्दै आइतबार छैटौँपटक एकदिवसीय विश्वकप च्याम्पियन बनेपछि खुसियाली मनाउँदै अस्ट्रेलियाका खेलाडी ।
एजेन्सी अहमदाबाद
२o८o मङ्सिर ४ सोमबार o७:o२:oo
Read Time : > 3 मिनेट
खेलकुद प्रिन्ट संस्करण

अस्ट्रेलिया बन्यो विश्वविजेता

घरेलु मैदानमा भारतले प्रस्तुत गरेको २४१ रनको लक्ष्य ४३ ओभरमा चार विकेटको क्षतिमा पूरा गरेर अस्ट्रेलियाले छैटौँपटक विश्वकप उचाल्यो

Read Time : > 3 मिनेट
एजेन्सी, अहमदाबाद
नयाँ पत्रिका
२o८o मङ्सिर ४ सोमबार o७:o२:oo

अस्ट्रेलियाले छैटौँपटक आइसिसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । आइतबार अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा भारतलाई ६ विकेटले हराउँदै अस्ट्रेलियाले कीर्तिमानी रूपमा छैटौँपटक ट्रफी उचालेको हो । टस हारी ब्याटिङ गरेको भारतले ५० ओभरमा सबै विकेट गुमाएर २४० रनको मध्यम योगफल खडा गर्‍यो । आठौँपटक फाइनल खेलिरहेको अस्ट्रेलियाले ४३ ओभरमा चार विकेट गुमाएर २४१ रन जोड्दै ट्रफी हात पार्‍यो । फाइनल गुमाउनुअघि भारतले लगातार दश खेलमा जित निकालेको थियो । 

सुरुवाती दुई खेल गुमाएको अस्ट्रेलियाले त्यसपछि उत्कृष्ट प्रदर्शन गर्‍यो । अस्ट्रेलिया लिग चरणको पहिलो खेलमा भारत र दोस्रो खेलमा दक्षिण अफ्रिकासँग पराजित भएको थियो । अस्ट्रेलियाले सेमिफाइनलमा दक्षिण अफ्रिकालाई नै पाखा लगाउँदै फाइनल सुरक्षित गरेको हो । भारतले न्युजिल्यान्डलाई अन्तिम चारको खेलमा पाखा लगाएको थियो । 

ट्रभिसको सानदार शतक
मध्यम योगफल पछ्याउँदा अस्ट्रेलिया पहिलो दश ओभरभित्र दबाबमा रह्यो । जसप्रित बुमराहले दुई र मोहमद सामीले एक विकेट लिँदा अस्ट्रेलिया ६.६ ओभरमा ४७/३ को स्थितिमा थियो । यसवेला भारतीय सिमर अस्ट्रेलियन ब्याट्सम्यानमाथि हाबी भएका थिए । तर, ट्रभिस हेड र मार्नुस लाबुसेनले चौथो विकेटका लागि १९२ रनको उत्कृष्ट साझेदारी गर्दै अस्ट्रेलियालाई उपाधितर्फ उन्मुख गरे । यी दुई खेलाडीले २१५ बल खेलेका थिए । ट्रभिस र मार्नुसले अस्ट्रेलियालाई २३९/४ को बलियो स्थितिमा पुर्‍याए । ट्रभिस आउट हुँदा जितका लागि २ रन आवश्यक थियो । मोहमद सिराजको ओभरमा उनी सुभमन गिलबाट क्याच आउट भए । 

क्याच आउट हुँदा उनी निराश देखिए । विजयी रन बटुल्ने मनसायका साथ उनी छक्का प्रहार गर्ने चक्करमा क्याच आउट भए । उनले अस्ट्रेलियालाई छैटौँपटक च्याम्पियन बनाउन महत्वपूर्ण शतकीय इनिङ खेले । ट्रभिसले फाइनलमा भारतविरुद्ध १३७ रन जोडे । यसक्रममा उनले १२० बलमा चार छक्का र १५ चौका प्रहार गरे । अस्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले विजयी २ रन बटुलेका थिए । मार्नुसले ११० बलमा चार चौकाको सहयोगमा ५८ रन जोडे । 

फाइनलमा चुके भारतीय बलर र ब्याट्सम्यान
उपाधि भिडन्तअघिसम्म भारतले लगातार दश खेलमा ब्याटिङ र बलिङमा उत्कृष्ट प्रदर्शन गरेको थियो । चौथोपटक फाइनल यात्रामा भने भारत यी दुवै पक्षमा कमजोर साबित भयो । ब्याटिङ क्रममा भारतीय ब्याट्सम्यानले स्ट्रोकतर्फ त्यति ध्यान दिएनन् । बलिङमा सुरुवाती तीन विकेट लिएको बलरले त्यसपछि मार्नुस र ट्रभिजको साझेदारी तोड्न सकेनन् । बलिङमा बुमराहले ९ ओभरमा दुई मेडन राखी ४३ रन खर्चेर दुई विकेट हात पारे । सामीले सात ओभरमा एक मेडन राखी ४७ रन दिँदै एक विकेट लिए । सिराजले ४५ रनमा एक विकेट लिएका थिए । स्पिनर कुलदीप यादवले १० ओभरमा ५६ र रवीन्द्र जडेजाले १० ओभरमा ४३ रन खर्चिए । यी दुवै बलर विकेटविहीन रहे ।  

कोहली र राहुलको अर्धशतक
नरेन्द्र मोदी रंगशालामा भारतले उत्कृष्ट सुरुवात पायो । ओपनर तथा कप्तान रोहित शर्माले सुभमन गिलसँग पहिलो विकेटका लागि ४.२ ओभरमा ३० रन जोडेका थिए । उपाधि भिडन्तमा आक्रामक देखिएका रोहितले कोहलीसँग दोस्रो विकेटका लागि ३६ रन जोडेका थिए । इनिङ्सको ९.४ ओभरमा रोहितले आफ्नो विकेट गुमाए । उनले ३१ बलमा चार चौका र तीन छक्का प्रहार गरी ४७ रन बटुले । इनिङ्सको १०.२ ओभरमा श्रेयस इयर ४ रनमा आउट भए । 

त्यसपछि कोहली र लोकेश राहुलले धर्मराएको भारतीय ब्याटिङ इनिङ्सलाई उकास्ने प्रयास गरे । दुवैले चौथो विकेटका लागि ६७ रनको साझेदारी गर्दै भारतलाई १४८/४ को स्थितिमा राखे । यी दुवैले १०९ बल खेलेका थिए । फाइनलमा पहिलो अर्धशतक लगाएका कोहली प्याट क्युमिन्सको ओभरमा बोल्ड भए । कोहलीले ६३ बलमा चार चौकाको सहयोगमा ५४ रन बनाए । राहुल र सूर्यकुमार यादवले छैटौँ विकेटका लागि २५ रनको साझेदारी गर्दै भारतलाई ४१.३ ओभरमा २०३/६ को स्थितिमा राखे ।

राहुलले १०७ बलमा एक चौका प्रहार गरी ६६ रन बनाए । भारतको इनिङ्समा रोहितले मात्र तीन छक्का प्रहार गरेका थिए । भारतको ब्याटिङमा १३ चौका प्रहार भएको थियो । भारतको बलियो ब्याटिङ अर्डर ध्वस्त पार्ने क्रममा मिचेल स्टार्कले ५५ रन खर्चेर महत्वपूर्ण तीन विकेट लिए । जोस हेजलउडले ६० रन खर्चेर दुई विकेट लिए । स्पिनर ग्लेन म्याक्सवेलले ६ ओभरमा ३५ रन दिँदै दुई विकेट लिए । मिचेल मार्सले दुई ओभरमा ५ रन र हेडले दुई ओभरमा ४ रन मात्र दिए । 

कोहली ‘प्लेयर अफ दी सिरिज’
यो विश्वकपमा सर्वाधिक ७६५ रनको रेकर्ड पनि कोहलीकै नाममा

११ इनिङ्समा सर्वाधिक सात सय ६५ रन बनाएका भारतका विराट कोहली ‘प्लेयर अफ दी सिरिज’ भएका छन् । उनले विश्वकपमा तीन शतक र ६ अर्धशतक प्रहार गरे । यसक्रममा ६८ चौका र नौ छक्का हिर्काए । ३५ वर्षीय कोहलीले न्युजिल्यान्डविरुद्ध सर्वाधिक एक सय १७ रन बनाए । यससँगै उनी सचिन तेन्दुलकरको कीर्तिमानी ४९ शतकको रेकर्ड तोड्न पनि सफल भएका थिए । थप दुई शतक उनले दक्षिण अफ्रिका र बंगलादेशविरुद्ध बनाएका थिए । नेदरल्यान्ड्स, श्रीलंका, न्युजिल्यान्ड, अफगानिस्तान र अस्ट्रेलियाविरुद्ध उनले अर्धशतक बनाएका थिए । 

डी ककको सर्वाधिक चार शतक
दक्षिण अफ्रिकाका ३० वर्षीय ओपनर क्विन्टन डी ककले सर्वाधिक चार शतक बनाएका छन् । १० इनिङ्स खेलका उनी सर्वाधिक रन बनाउने तेस्रो खेलाडी बने । उनले बंगलादेशविरुद्ध एक सय ७४ रन बनाए । यसबाहेक श्रीलंका, अस्ट्रेलिया र न्युजिल्यान्डविरुद्ध पनि उनले शतक बनाए । 

सामीले लिए सर्वाधिक २४ विकेट 
सर्वाधिक विकेट लिने खेलाडीमा भारतका तीव्र गतिका बलर मोहम्मद सामीले नाम लेखाए । फाइनलमा एकसहित उनले प्रतियोगिताभर २४ विकेट लिए । सेमिफाइनलमा चामत्कारिक प्रदर्शन गर्दै न्युजिल्यान्डविरुद्ध सात विकेट लिएका थिए । उनले ६ खेलमा दुई सय ५१ बल डट फाले । 

लक्ष्य पछ्याउन सहज देखियो : प्याट क्युमिन्स, कप्तान, अस्ट्रेलिया
फाइनलमा अहिलेसम्मकै उत्कृष्ट खेल देखायौँ । यहाँको पिचमा सुरुमा ब्याटिङभन्दा लक्ष्य पछ्याउन सहज देखिएको थियो । यसकारण हामीले बलिङ रोजेका हौँ । पिच स्पिनरका लागि राम्रो थियो । स्लो विकेटमा महत्वपूर्ण क्याच र विकेट लिँदा भारत दबाबमा रह्यो । जुन रूपमा दक्षिण अफ्रिकाविरुद्ध खेल्यौँ, त्यसै प्रदर्शनको निरन्तरता भारतसँग पनि भयो ।

यद्यपि, भारतले तीन सय रन बनाउँदा पनि लक्ष्य पछ्याउने मनसाय थियो । हेड र मार्नुसको साझेदारीले जित सहज भयो । दुई खेल गुमाउँदा अस्ट्रेलियालाई कमजोर मानिएको थियो । तर, प्रतियोगितामा उत्कृष्ट कमब्याक गर्‍यौँ र उपाधिसमेत जित्यौँ । सबै खेलाडीले यो वर्ष सम्झिरहनेछौँ । 

स्कोर बोर्डमा २०–३० रन कम भयो : रोहित शर्मा, कप्तान, भारत
नतिजा सबैको सामु आइसकेको छ । फाइनलमा राम्रो खेलेनौँ । यद्यपि, फाइनलमा पराजित भए पनि यो टोलीमाथि मलाई गर्व छ । वास्तवमा यस पिचमा हामीले २०–३० रन कम बनायौँ । स्कोर बोर्डमा २८० रन बनाउँदा फाइनलको खेल नै फरक हुने थियो । विराट र राहुल क्रिजमा रहँदा त्यो सम्भावना पनि थियो ।  

तर, महत्वपूर्ण समयमा दुवै ब्याट्सम्यान आउट हुन पुगे । त्यसपछि हामी पछाडि पर्‍यौँ । २४० रन बनाउँदा सुरुमै विकेट निकाल्नुपर्ने दबाब थियो । बलरले आफ्नो काम सुरुमा गरे । तर, हेड र मार्नुसबीचको साझदोरीले खेलको मोड नै फेरियो ।