मोरङको मिक्लाजुङ गाउँपालिका– २ चुलीपोखरीकी ६५ वर्षीया तुलमाया राईको दैनिकी सबेरै पानी बोकेर सुरु हुन्छ । राति अबेर पनि पानी बोकेरै उनको दैनिकी सकिन्छ । चुरे क्षेत्रमा रहेको चुलीपोखरीकी तुलमायालाई एकपटक पानी ल्याउन एक घन्टा लाग्छ ।
उनी चुरेको उकालोमा डोको भिरेर गाग्रीमा पानी बोकेर परिवारको तिर्खा मेट्छिन् । ‘गाउँको समस्या नै खानेपानीको अभाव हो । अरू वेला त खोल्साको पानी बोकेर खान्छौँ । हिउँदमा त्यो पनि सुक्छ,’ उनले भनिन्, ‘बिहे गरेर यो गाउँ आएदेखि पानी बोकेको अब त बुढेसकाल लाग्यो । तर, पानीको समस्या अझै हटेन ।’
राईको घरछेउमै तीन बिघा क्षेत्रफलमा फैलिएको चुलीपोखरी छ । पोखरीमा टम्म पानी पनि छ, हिउँदमा पनि सुक्दैन । तर, खानयोग्य पानी नभएकाले चुलीपोखरीका ५० घरपरिवार बोकेर पानी खान्छन् । ‘पहिला त यो पोखरीको पनि राम्रो हुन्थ्यो । हामी खान्थ्यौँ पनि । अहिले घुम्न आउने मान्छेका कारण फोहोर भएको छ । यो पानी खान सकिँदैन,’ राई भन्छिन्, ‘गाईवस्तु भने यही पोखरीको पानी खान्छन् ।’ दैनिक पानी बोकेर खानुपर्दा महिलालाई झनै सास्ती रहेको स्थानीय मनीषा राई बताउँछिन् । ‘पानी हामी महिलाले नै बोकेर ल्याउनुपर्छ । दैनिक तीनपटकसम्म पानी बोक्नुपर्छ,’ उनी भन्छिन्, ‘पाहुना आए भने त झन् धेरै पानी बोक्नुपर्छ ।’
मधुमल्ला बजारनजिक भए पनि यो चुरे क्षेत्र विकट छ । ग्राभेल सडकमा पनि हिउँदमा मात्र गाडी चल्छन् बर्खामा बाढीपहिरोले सडक अवरुद्ध हुन्छ । मोरङ निर्वाचन क्षेत्र नम्बर १ मा पर्ने यो गाउँमा हरेकपटक चुनावमा नेताहरूले गाउँमै धारा पुर्याउने वाचा गर्छन् । तर, अहिलेसम्म वाचा पूरा भएको छैन । स्थानीय शम्भु राईका अनुसार यहाँका स्थानीयले दशकौँअघि श्रमदान गरेर गाउँमा धारा जोडेका थिए । तर, धारामा पानी नै आएन ।
मिक्लाजुङ–२ का वडाध्यक्ष बलबहादुर श्रेष्ठले चुलीपोखरीका बासिन्दालाई पानी खुवाउने गरी काम भइरहेको बताए । मिक्लाजुङ–१ स्थित रमिते मुहानबाट पानी ल्याउने गरी काम भइरहेको उनले बताए । ‘संघ सरकारले गत वर्ष २२ लाख रुपैयाँ दिएको थियो । यो वर्ष १५ लाख बजेट विनियोजन गरेको छ,’ उनले भने, ‘पुराना धारा र ट्यांकी छन् । अब केही ठाउँमा ट्यांकी बनाएर पाइप बिछ्याएर पानी ल्याउँछौँ । सम्भवतः यो वर्ष पानी खुवाउँछौँ ।’
पुरानो बजार मधुमल्लादेखि झन्डै डेढ घण्टा लाग्ने चुलीपोखरीमा ४५–५० घरको बस्ती छ । त्यो गाउँसम्म कच्ची सडक भर्खर बन्दै छ । हिउँदमा मोटरसाइकल पुग्ने भए पनि बर्खामा सडक सधैँ बिग्रन्छ । यहाँ स्थानीय पैदल हिँडेर मधुमल्लासम्म पुग्ने गरेका छन् । गाउँमा एक वर्षअघि बिजुली आयो ।
तर, खानेपानी र विद्यालयको पहुँचबाट यहाँका नागरिक बाहिर छन् । गाउँमा कक्षा–३ सम्मको विद्यालय छ । त्यसपछि झन्डै दुई घण्टा हिँडेर कक्षा–८ सम्म भएको कुवापानीको विद्यालय जानुपर्ने बाध्यता छ । ‘कक्षा–३ पढिसकेपछि दुई घण्टा जंगलको बाटो हिँडेर कुवापानी जानुपर्छ । मेरो भदै पनि कक्षा–६ मा पढ्छ । बिहान ८ बजे नै पठाउँछु । बेलुका ६ बजे मात्र आइपुग्छ,’ स्थानीय मनीषा राईले भनिन्, ‘अब ८ कक्षा पढिसकेपछि मधुमल्लामा भाडामा राखेर पढाउनुपर्ने बाध्यता छ । गाउँमा स्कुल नहुँदा समस्या छ ।’
गाउँमा विद्यालय नभएपछि चुलीपोखरीकी सबिना राई मधुमल्लामा डेरा गरेर कक्षा– १२ मा पढ्दै आएकी छिन् । गाउँमै विद्यालय भएको भए उनी घरको काम गरेर पढ्ने थिइन् । ‘गाउँमा ३ कक्षासम्म मात्र छ । त्यसपछि दुई घण्टा हिँडेर कुवापानी गएर कक्षा–८ सम्म पढेँ । त्यसपछि मधुमल्लामा डेरा बसेर पढ्दै आएकी छु,’ उनी भन्छिन्, ‘घरबाट टाढा पनि भइयो । डेरामा बसेपछि खर्च धान्न पनि उस्तै मुस्किल छ ।’
मिक्लाजुङ– २ का वडाध्यक्ष बलबहादुर श्रेष्ठले चुलीपोखरीमा विद्यालयको ठूलो समस्या रहेको बताए । गाउँका बालबालिका मधुमल्लामा डेरा राखेर पढाउने गरिएको बताए । ‘विद्यालयको सबैभन्दा ठूलो समस्या छ । घरको एकजना मान्छे छोराछोरी पढाउन मधुमल्ला झरेका छन् । त्यहाँ डेरा गरेर पढाउँदै आएका छन्,’ उनले भने ।