चीनले आफूलाई केन्द्रमा राखेर वैकल्पिक विश्व व्यवस्था निर्माण गर्न कडा मिहिनेत गरिरहेको छ
गाजा र युक्रेन युद्धदेखि अमेरिका–चीनबीचको प्रतिस्पर्धासम्मका पछिल्ला प्रवृत्ति र घटनाक्रमले विश्व भूराजनीतिमा आधारभूत परिवर्तनको संकेत गर्छ । पश्चिम र उसका प्रतिद्वन्द्वी विशेषगरी चीन, रुस र इस्लामिक विश्वबीच दीर्घकालीन टकरावको बादल मडारिइरहेको देखिन्छ ।
अहिलेको संकट, द्वन्द्व र युद्धले हालैका वर्षमा भूराजनीतिक परिदृश्यमा कति ठूलो परिवर्तन आएको छ भन्ने कुरालाई उजागर गर्छन् । महाशक्तिहरूको प्रतिद्वन्द्विता फेरि अन्तर्राष्ट्रिय सम्बन्धको केन्द्रबिन्दु बनेको छ । गाजा र युक्रेन युद्धले विश्वव्यापी विभाजनलाई बढावा दिइरहेको अहिलेको परिवेशमा नयाँ विश्व व्यवस्थातर्फ संक्रमणजस्ता अझ गहिरा भूराजनीतिक पुनर्संरचनाको काम चलिरहेको हुन सक्छ ।
यी दुई युद्ध (गाजा र युक्रेन युद्ध)ले ताइबानमाथि तेस्रो युद्ध हुने जोखिम बढाएको छ । अमेरिकाले युक्रेन र इजरायलमा ठूलो परिमाणमा गोलाबारुद, बम, क्षेप्यास्त्र र अन्य हातहतियार पठाइरहेकाले अमेरिकी भण्डार घट्दै गएको कुरालाई कसैले पनि इन्कार गर्न सक्दैन । ताइबानलाई जनगणतन्त्र चीनमा एकीकरण गर्ने कुरालाई ‘ऐतिहासिक मिसन’ भन्ने सी जिनपिङका लागि यी युद्ध जति लामो समय चलिरहन्छन्, उति नै राम्रो हुन्छ । अमेरिकी राष्ट्रपति जो बाइडनले यो खतरा बुझेका छन् । त्यसैले उनी अहिले चीनसँगको तनाव कम गर्न खोजिरहेका छन् । एकपछि अर्का मन्त्रीलाई बेइजिङ पठाएर उनले नोभेम्बर १५–१७ मा सान फ्रान्सिस्कोमा हुने एसिया प्यासिफिक इकोनोमिक कोअपरेसन फोरममा सीसँग उच्चस्तरीय शिखर वार्ताको योजनाको पृष्ठभूमि तयार गरेका छन् । यो कुरा उल्लेखनीय छ । उनी र उनका जी–७ साझेदारहरूले चीनसँगको सम्बन्धलाई ‘डिकपल’ नभई ‘डि–रिस्क’ गर्न खोजेको बताएका छन् ।
जे भए पनि यो प्रक्रियाले विश्वव्यापी वित्तीय व्यवस्थाका साथै लगानी र व्यापारको ढाँचालाई नयाँ आकार दिनेछ । व्यापार र लगानीको प्रवाहमा भइरहेको परिवर्तनले वर्तमान वैश्विक अर्थव्यवस्था दुई ब्लकमा विभाजित हुन सक्ने संकेत गर्छ । उदाहरणका लागि, अहिले चीनको व्यापार पश्चिमसँग भन्दा ग्लोबल साउथसँग बढी छ । यस आर्थिक विखण्डनको उच्च लागतका बाबजुद, चीनले आफ्नो भविष्यको जोखिम कम गर्न खोजिरहेको छ । उसले चुपचाप आफ्नो अर्थव्यवस्थाको ठूलो हिस्सालाई पश्चिमबाट अन्तै स्थानान्तरण गरिरहेको छ ।
वर्तमान स्थितिका लागि संयुक्त राज्य अमेरिका स्वयं दोषी छ । चार दशकसम्म चीनको आर्थिक वृद्धिलाई सक्रिय रूपमा सहजीकरण गरेर अमेरिकाले आफ्नो अहिलेसम्मकै ठूलो प्रतिद्वन्द्वी खडा गर्न सघायो । चीनसँग हाल विश्वकै ठूलो तटरक्षक र नौसेना छ । र, उसले विश्वव्यापी वित्तीय प्रणाली र अन्तर्राष्ट्रिय संस्थाहरूमा पश्चिमी प्रभुत्वलाई स्पष्ट रूपमा चुनौती दिइरहेको छ । वास्तवमा, चीनले आफूलाई केन्द्रमा राखेर वैकल्पिक विश्व व्यवस्था निर्माण गर्न कडा मिहिनेत गरिरहेको छ ।
वर्तमान प्रणालीलाई तटस्थजस्तो सुनिने ‘नियममा–आधारित विश्व व्यवस्था’ भन्ने गरिएको छ, तर यो निःसन्देह संयुक्त राज्य अमेरिकाकेन्द्रित छ । यो व्यवस्था जुन नियममा आधारित छ, ती नियम अमेरिकाले नै बनाएको र अन्य देशको आन्तरिक मामिलामा हस्तक्षेपलाई निषेध गर्नेजस्ता प्रमुख नियम र मूल्यबाट आफूलाई मुक्त राखेको विश्वास गरिन्छ । अन्तर्राष्ट्रिय कानुन शक्तिहीनहरूविरुद्ध शक्तिशाली हुन्छ, तर शक्तिशालीविरुद्ध शक्तिहीन देखिने गरेको छ ।
जहाँसम्म वैकल्पिक विश्व व्यवस्था निर्माणको कुरा छ, वर्तमान द्वन्द्वग्रस्त विश्व वातावरणले चीनको पक्षमा राम्रो काम गर्न सक्छ । आखिर, अमेरिकी नेतृत्वको विश्व व्यवस्थालाई पनि त युद्धले नै जन्म दिएको हो । अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैंक र संयुक्त राष्ट्रसंघजस्ता संस्थाहरू युद्धकै परिणाम थिए र अमेरिकाको हितअनुरूप खडा भएका थिए । शान्तिकालमा यी संस्थालाई अर्थपूर्ण रूपमा सुधार गर्नु निकै कठिन साबित भएको छ ।
यो कुरा संयुक्त राष्ट्रसंघका हकमा पनि सत्य हो, जुन अपरिवर्तनीय पतनको दिशामा देखिन्छ र अन्तर्राष्ट्रिय मामिलामा बढ्दो रूपमा सीमान्तकृत हुँदै गएको छ । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा अवरोधका कारण संयुक्त राष्ट्रसंघको महासभामा थप जिम्मेवारी आइलागेको छ, जसकारण उसले ‘मानवीय युद्धविराम’ र इजरायली घेराबन्दी अन्त्यको आह्वान गर्नुपरेको छ । तर, सुरक्षा परिषद्को विपरीत महासभा आधारभूत रूपमा नै कमजोर छ । यसका प्रस्ताव कानुनी रूपमा बाध्यकारी हुँदैनन् । अमेरिकी नेतृत्वका संस्थाहरू कमजोर हुँदै जाँदा अमेरिकाको शक्ति पनि कमजोर हुँदै जान्छ ।
आफ्नो सैन्य, राजनीतिक र आर्थिक सहयोगका लागि अमेरिकामा निर्भर इजरायल र युक्रेनले समेत केही अवस्थामा अमेरिकाको सल्लाहलाई अस्वीकार गरेका छन् । अमेरिकाले गाजामा नागरिकको हताहती कम गर्न र आफ्नो सैन्य आक्रमणलाई कम गर्नेतर्फ कदम चाल्न दिएको सल्लाहलाई इजरायले अस्वीकार गरेको छ ।
अमेरिकी अधिकारीले युक्रेनको प्रत्याक्रमणको योजना सैन्यशक्ति छिरलेका कारण असफल भएको दोषारोपण गरेका छन् । चीन र अमेरिकाबीचको प्रतिद्वन्द्विताले विश्वव्यापी पुनर्संरचनाबाहेक महŒवपूर्ण क्षेत्रीय परिवर्तनको पनि संकेत गर्छ । गाजामा लामो द्वन्द्वले ग्रेटर मिडल इस्टमा भूराजनीतिक पुनर्गठनलाई गति दिन सक्छ । इजिप्ट, इरान र टर्कीबाहेक यहाँका लगभग सबै प्रमुख शक्ति पश्चिम (विशेषगरी बेलायत र फ्रान्स)ले बीसौँ शताब्दीमा सिर्जना गरेका शक्ति हुन् । इजरायल युद्धले ग्यासको धनी कतारको भूराजनीतिक भूमिकालाई बलियो बनाइरहेको छ । कतार हमाससहित हिंसात्मक जिहादीलाई आर्थिक सहयोग गरेर दुर्नामा कमाइरहेको मुलुक हो । यदि यो द्वन्द्व गाजाभन्दा बाहिर फैलियो भने यसको भूराजनीतिक प्रभाव अझ दूरगामी र विस्तारित हुनेछ । त्यस अवस्थामा सबैभन्दा ठूलो घाटामा युक्रेन पर्न सक्छ ।
युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले आफ्नो मुलुकलाई पश्चिमको सहयोग सबैभन्दा धेरै चाहिएको बखत नै गाजाको युद्धले उनीहरूको ध्यान रुसविरुद्धको युक्रेनी लडाइँबाट ‘हटिसकेको’ गुनासो गरेका छन् । रुसको बढ्दो सैन्यीकृत अर्थतन्त्र, चीनको सुस्त आर्थिक वृद्धि र ग्लोबल साउथको बढ्दो आर्थिक हैसियतलगायत शक्ति र प्रवृत्तिले अन्तर्राष्ट्रिय व्यवस्थामा आधारभूत रूपमै परिवर्तन गर्ने सम्भावना देखिएको छ । यसैबीच, विश्व बढ्दो असमानता, बढ्दो अधिनायकवाद, कृत्रिम बुद्धिमत्ताजस्ता परिवर्तनकारी प्रविधि, वातावरणीय ह्रास र जलवायु परिवर्तनको विकासक्रमसँग पनि जुधिरहेको छ । अब विश्व भूराजनीतिमा आधारभूत रूपले नै नयाँ सन्तुलन अपरिहार्य देखिन्छ । पश्चिम र उसका प्रतिद्वन्द्वी विशेषगरी चीन, रुस र इस्लामिक विश्वबीच दीर्घकालीन टकरावको बादल मडराइरहेको देखिन्छ ।
(चेलानी नयाँदिल्लीस्थित सेन्टर फर पोलिसी रिसर्चका रणनीतिक अध्ययनका प्राध्यापक हुन्)
– प्रोजेक्ट सिन्डिकेट