Skip This
पोखरा रंगशाला गेटनजिकै सेती नदीमा ‘सिग्नेचर’ पुल बन्ने
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक २५ शनिबार
  • Saturday, 27 July, 2024
२o८o कार्तिक २५ शनिबार १७:५५:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

पोखरा रंगशाला गेटनजिकै सेती नदीमा ‘सिग्नेचर’ पुल बन्ने

लागत एक अर्ब सात करोड, शनिबार गरियो शिलान्यास

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o कार्तिक २५ शनिबार १७:५५:oo

पोखरा रंगशालाको मुख्य गेटनजिकै सेती नदीमा ‘सिग्नेचर’ पुल बन्ने भएको छ। हाल रहेको पुलको दायाँबायाँ थप नयाँ पुल बन्ने भएको हो।

पोखरा–मुग्लिङ राजमार्ग सुधार चरण– १ योजनाअन्तर्गत बन्न लागेको पुलको शनिबार नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले शिलान्यास गरेका छन्। सो सडक ६ लेनमा निर्माण भइरहेकाले पुलसमेत सोहीअनुसार निर्माण गर्न लागिएको हो।

एसियाली विकास बैंकको सहयोगमा एक अर्ब सात करोड २४ लाख २५ हजार पाँच सयको लागतमा निमार्ण हुन लागेको पुल दुई–दुई लेनका हुनेछन् । दुवै पुलको लम्बाइ १९० मिटर रहनेछ। नमुना पुलका रूपमा रहने पुल एक्ट्रा डोज प्रकारको डिप फाउन्डेसन प्रविधिमा निर्माण गरिनेछ।

पुल शिलान्यासपछि मन्त्री ज्वालाले निमार्णको काम समयमै सक्न भन्दै निर्माण कम्पनीलाई मन्त्रालयका तर्फबाट आवश्यक साथ र सहयोग रहने बताए। धेरै विकास निर्माणका कामहरू समयमा नसक्ने, गुणस्तरमा ध्यान नदिने, रकम निकासामा ढिलाइलगायतका अनेक समस्याहरू देखिने गरेको भन्दै मन्त्री ज्वालाले पोखरामा निर्माण हुन लागेको यस पुलमा त्यस्तो समस्या केही नहुने गरी काम गर्न आग्रह गरे।

एसियाली विकास बैंक (एडिबी)का नेपाल प्रतिनिधि आर्नव ह्याकमेनले विकास र समृद्धिको मुख्य आधार सडक सञ्जाल र पुल रहेको बताए। एडिबीले हाल नेपालमा विकास र समृद्धिका विभिन्न काममा गरी एक अर्ब डलरबराबरको भौतिक पूर्वाधार निर्माणको कामहरू गरिरहेको जानकारी दिँदै उनले नेपालको आर्थिक अवस्थाका कारण पूर्वाधार निर्माणका क्षेत्रमा काम गरिरहेको बताए।

पुल निर्माणको ठेक्का एम-एस रसुवा कन्स्ट्रक्सन कम्पनी प्रालिले पाएको छ। साउन ०७९ मा ठेक्का सम्झौता भएको पुल निर्माणको काम २२ भदौ ०७९ देखि सुरु भएको थियो। निर्माण अवधि तीन वर्ष रहेको पुल २१ भदौ ०८२ मा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको कम्पनीका कन्ट्रयाक्ट म्यानेजर सुदर्शन देवकोटाले जानकारी दिए। डिजाइन स्वीकृतसँगै निर्माणस्थल क्लिएर नहुँदा र अन्य विविध कारणले निर्माणको काममा एक वर्ष ढिलाइ भएको उनले बताए।

समयमै निर्माण कार्य सक्नको लागि सरकारको साथ र सहयोग आवश्यक रहेको भन्दै उनले निर्माणस्थलमा नर्सरी र घर भएकाले यसलाई जति सक्दो चाँडो हटाइदिन आग्रह गरेका थिए।