
कात्तिक १७ गते मध्यरातमा गएको भूकम्पमा परी घाइते भएका रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा कार्यरत नगर प्रहरीको उपचारको क्रममा मृत्यु भएको छ । योसँगै जिल्लामा भूकम्पका कारण मृत्यु हुनेको संख्या ५३ पुगेको छ । त्यस्तै, मानवीय क्षति हुने स्थानीय तहमा चौरजहारी नगरपालिका पनि थपिएको छ ।
कर्णाली प्रादेशिक अस्पताल सुर्खेतमा उपचाररत चौरजहारी नगरपालिका– १ का २२ वर्षीय निरोज विष्टको आज बिहान ८ बजेतिर मृत्यु भएको चौरजहारी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले जानकारी दिए । विष्ट ०७७ भदौ ९ गतेदेखि नगर प्रहरी जवानमा कार्यरत थिए ।
वडा नम्बर ८ को गोइरी जिउलामा ढुंगा, गिटी तथा बालुवा नियन्त्रणमा खटिएका विष्ट भूकम्प आएपछि उद्धारमा जाने क्रममा गोइरी जिउलामै घाइते भएका थिए । मोटरसाइकलमा जाँदै गर्दा माथिबाट पहिरो खस्दा उनलाई टाउकोमा गम्भीर चोट लागेको थियो । गम्भीर घाइते भएका उनलाई उपचारका लागि सुर्खेत पठाइएको थियो ।