१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
गणेश लम्साल विराटनगर
२o८१ बैशाख २० बिहीबार o९:१८:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

कोशीमा अब सशस्त्र प्रहरीको आफ्नै गोताखोर टोली

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o९:१८:oo

नदीमा हुने बढ्दो दुर्घटना र आत्महत्याका कारण बेपत्ता हुने मानिसको खोजी र पीडितको उद्धार गर्न सशस्त्र प्रहरीले कोशी प्रदेशमा पनि आफ्नै दक्ष गोताखोर टोली तयार गरेको छ । सुनसरीको इटहरीस्थित सशस्त्र प्रहरीको बराह बाहिनी बिग्रेडले बढ्दो नदीजन्य घटना र दुर्घटना नियन्त्रण गर्न तीन महिना तालिम दिएर दक्ष २४ जना गोताखोरको टोली तयार पारेको हो । पानीभित्रको विभिन्न गहिराइमा पुगेर उपकरणसहित खोज तथा उद्धार गर्ने कार्यलाई गोताखोर भनिन्छ । दक्ष गोताखोरले अक्सिजनयुक्त विशिष्ट उपकरणबाट स्थिर तथा बहावको एक सय ६० फिट गहिराइसम्म पुगेर एक घन्टासम्म खोज तथा उद्धार गर्न सक्छ ।

कोशी सरकारको सहयोगमा गत १७ भदौदेखि १७ कात्तिकसम्म नेपाल प्रहरीको दुईजना र सशस्त्र प्रहरीको १८ जनालाई कोशी नदीमा गोताखोर तालिममा सहभागी गराएर दक्ष बनाएको सशस्त्र प्रहरी बराह बाहिनी बिग्रेडका बिग्रेडियर डिआइजी अञ्जनीकुमार पोखरेलले बताए । उनका अनुसार तालिमप्राप्त दक्ष गोताखोर टोलीले नदीमा हराएका मानिसको खोजी गर्ने मात्र नभएर बगेका र डुबेकाको उद्धारसहित प्राथमिक उपचारको कार्य पनि गर्नेछन् । गोताखोर टोलीलाई बंगलादेशबाट तालिम लिएर आएका सशस्त्र प्रहरीका प्रशिक्षकले कोशी नदीमा तीन महिना प्रशिक्षण दिएका थिए । 

नदीजन्य घटनापीडितको उद्धार र खोजीका लागि कोशी प्रदेशका लागि बराह बाहिनीको विपत् व्यवस्थापन विभागमातहत गोताखोरको टोली चौबिसै घन्टा तैनाथ रहनेछ । सशस्त्र प्रहरीले नदीजन्य घटनाका कारण पीडित भएका र हराएकाको खोजी र उद्धारका लागि आफ्नै जेटबोट, रबरबोट र अन्य आवश्यक उपकरण पनि तयारी अवस्थामा राखेको छ । टोलीलाई बराह बाहिनीले आवश्यकताअनुसार प्रदेशका विभिन्न जिल्लाका गणमा परिचालन गर्नेछ । बराह बाहिनी बिग्रेडका अनुसार कोशी प्रदेशमा चालू वर्ष नदीजन्य १२ घटनामा हराएका १२ मध्ये गोताखोर टोलीले सातवटा शव बरामद गरिसकेको छ । कोशी प्रदेशमा देशकै ठूलो सप्तकोशीदेखि तीव्र प्रवाह भएका एक दर्जनभन्दा बढी नदी र सबैभन्दा धेरै उचाइमा रहेको विश्वकै दुर्लभ र जोखिमपूर्ण गोक्योलगायत ताल छन् । ती नदी र तालमा बर्सेनि दर्जनौँ मानिस डुबेर र बगेर मर्ने गर्दछन्, बेपत्ता हुँदै आएका छन् । 

 सशस्त्रमा अब ९२ जना गोताखोर 
सशस्त्र प्रहरीसँग गोताखोरको संख्या ९२ जना पुगेको छ । बराह बाहिनीले १८ जनालाई प्रशिक्षण दिनुअघि सशस्त्रमा गोताखोरको संख्या ७४ मात्र थियो । सशस्त्रका गोताखोरले हालसम्म दुई सय ५८ घटनामा ३२ जनाको जीवित उद्धार गरेका छन् । दुई सय ५८ वटा शव नदी, तालतलैया र पोखरीबाट निकालेका छन् । पहिले नेपालमा गोताखोर थिएनन् । नदीमा हराएका मानिस खोज्न बंगलादेशबाट गोताखोर झिकाउने गरिन्थ्यो । तर, अत्यधिक नदीजन्य दुर्घटनामा मानवीय क्षति हुन थालेपछि सशस्त्र प्रहरीले ०६९ मा २५ जनालाई बंगलादेश पठाएर गोताखोर तालिम दिएको थियो । 

ad
ad