Skip This
भूकम्पपीडितलाई ललितपुर महानगरको ५० लाख सहयोग
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक २३ बिहीबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o कार्तिक २३ बिहीबार o९:४६:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

भूकम्पपीडितलाई ललितपुर महानगरको ५० लाख सहयोग

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o कार्तिक २३ बिहीबार o९:४६:oo

उपत्यकाका स्थानीय तहहरूले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि राहत तथा आर्थिक सहायता रकम घोषणा गरिरहेका छन् । प्रभावित क्षेत्रका स्थानीयको पुनर्वास तथा गाँसवासको लागि स्थानीय तहहरूले नगद रकम र राहत सामग्री सहयोग गरेका हुन् ।

ललितपुर महानगरपालिकाले भूकम्पपीडितका लागि ५० लाख सहयोग गर्ने घोषणा गरेको छ । हाल फोहोरमैला व्यवस्थापनबारे भारतको विभिन्न स्थानको अवलोकन तथा भ्रमणमा रहेका मेयर चिरिबाबु महर्जनले महानगरको तर्फबाट ५० लाख रुपैयाँ भूकम्प प्रभावितहरूको लागि सहयोग गर्ने घोषणा गरेका हुन् । गत आइतबार ललितपुर महानगरको ४३औँ कार्यपालिका बैठकमा भूकम्पपीडित परिवारको लागि सहायता गर्ने निर्णय भएको थियो । बैठकमा मेयर महर्जनको उपस्थिति नरहे पनि मेयर महर्जनले राहत रकम छुट्याउन उपमेयर मञ्जली शाक्य र अन्य कार्यपालिका सदस्यलाई रकम छुट्याउन अनुमति दिएका थिए । 

काठमाडौं महानगरपालिकाले भूकम्पपीडितका लागि सोमबार नेपाली सेनाको विमानमार्फत महानगरले १४ लाख रुपैयाँको एक हजार चार सय थान कम्बल पठाएको छ । महानगरले सोमबार पठाइएको राहत पहिलो प्याकेजअन्तर्गत रहेको र थप अर्को प्याकेजमा राहत पठाइने जनाएको छ । महानगरका मेयर बालेन्द्र साहले यसबाहेक अन्य प्राविधिक तथा इन्जिनियरिङ सहयोग चाहिनेमा पनि महानगरले सहयोग गर्ने बताएका छन् । काठमाडौंकै चन्द्रागिरि नगरपालिकाले पनि भूकम्प प्रभावित क्षेत्रका लागि आठ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । 

ललितपुरकै गोदावरी नगरपालिकाले पनि भूकम्प प्रभावित क्षेत्रका स्थानीयवासीको पुनर्वासको लागि २५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । भूकम्प प्रभावित क्षेत्रका बासिन्दाको पीडामा मलम लगाउन नगरपालिकाले थोरै भए पनि आर्थिक सहयोग गरेको मेयर गजेन्द्र महर्जनले जानकारी दिए । भक्तपुरका नगरपालिकाहरूले भने भूकम्प प्रभावितको लागि सहयोग गर्ने नगर्नेबारे निर्णय गरिसकेका छैनन् । 

पीडितलाई देशभरकै स्थानीय तहहरूको साथ 
उपत्यका मात्रै नभएर पश्चिम रुकुम र जाजरकोटका भूकम्पपीडितलाई देशभरका अधिकांश नगरपालिकाले आर्थिक तथा अन्य राहत सहयोग गरेका छन् । अधिकांश नगरपालिकाले राहत घोषणा गरेका छन् भने कतिपयले राहत सामग्री पीडितको हातमा पु¥याइसकेका छन् । चितवन महानगरपालिका, पोखरा महानगरपालिका, धरान उपमहानगरपालिका, वुटबल उपमहानगरपालिका, वर्दियाको राजापुर नगरपालिका, कालिकोटको नरहरिनाथ र रास्कोट नगरपालिका, डडेलधुराको पर्शुराम नगरपालिका, डोल्पाको ठूलीभेरी नगरपालिका, रुपन्देहीको सिदार्थनगर नगरपालिका, सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका, बर्दियाको बारबर्दिया नगरपालिका, भोजपुरका रामप्रसाद राई गाउँपालिका, पौवादुङ्मा गाउँपालिका, भोजपुर नगरपालिका र अरुण नगरपालिकाले आर्थिक तथा राहत सामग्री सहयोग गरेका छन् ।

त्यस्तै, बझाङको रत्ननगर नगरपालिका, बाग्लुङका दशवटा नगरपालिका, बर्दियाको राजापुर नगरपालिका, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकालगायतले भूकम्पपीडितका लागि आर्थिक तथा राहत सामग्री सहयोग गरेका छन् ।