१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका– १४ ज्यामिरकोटस्थित जनविकास माध्यमिक विद्यालयको क्षतिग्रस्त भवन । तस्बिर : मनीष खड्का/नयाँ पत्रिका
मनीष खड्का रुकुम पश्चिम
२o८१ जेठ २ बुधबार o६:२४:oo
Read Time : > 4 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा ३९८ विद्यालय क्षतिग्रस्त, ५० हजारभन्दा धेरै विद्यार्थीको पढाइ प्रभावित

Read Time : > 4 मिनेट
मनीष खड्का, रुकुम पश्चिम
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार o६:२४:oo

- दुई जिल्लामा गरी ३९ विद्यार्थी, दुई शिक्षिका र एक कार्यालय सहयोगीको गयो ज्यान
- प्रभावित बालबालिकालाई मनोपरामर्श आवश्यक 

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका– १४ ज्यामिरकोट टाकुरामा रहेको जनविकास माविमा अध्ययनरत तीन विद्यार्थीले भूकम्पमा ज्यान गुमाए । कक्षा आठ र कक्षा पाँचमा अध्ययनरत एक छात्र र दुई छात्रा गुमाएको जनविकास माविको भवन पनि भूकम्पमा जोगिएन । 

विद्यालयका दुई कच्ची भवन कामै नलाग्ने गरी पूर्ण रूपमा ध्वस्त भएका छन् । एउटा पाँचकोठे र अर्को तीनकोठे भवन पूर्ण रूपमा ध्वस्त भएको प्रधानाध्यापक दीपकसंगम थापाले जानकारी दिए । भूकम्पका कारण विद्यालय खण्डहर बनेको उनले बताए । तीन सय ५० विद्यार्थी रहेको विद्यालय दसैँपछि तिहारसम्मका लागि बिदा नै छ । ३ मंसिरदेखि खोल्ने शैक्षिक तालिका रहे पनि भूकम्पले क्षतिग्रस्त बनेपछि तोकिएको समयमा खोल्ने अवस्था नरहेको प्रधानाध्यापक थापाले बताए । 

‘पक्की भवन त खासै केही भएका छैनन्, करिब डेढ सय विद्यार्थीलाई बस्ने ठाउँको अभाव छ,’ उनले भने, ‘आधाजसो विद्यार्थीलाई राख्ने ठाउँ व्यवस्था नगरी तत्काल विद्यालय खोल्न सक्ने अवस्था छैन ।’ सरकार र दाताको सहयोग प्राप्त भए विद्यालयलाई थप व्यवस्थित गरेर चलाउन सकिने उनको भनाइ छ । 

सानीभेरी गाउँपालिका– १० अर्माडाँडाको सरस्वती माविको पनि दुई–दुई कोठाका दुई भवन पूर्ण रूपमा क्षतिग्रस्त बनेका छन् । तीन सय ९५ विद्यार्थी अध्ययनरत रहेको विद्यालय तिहारपछि खोल्ने क्यालेन्डर भए पनि तत्काल सञ्चालनमा ल्याउन समस्या छ । प्रधानाध्यापक पदमबहादुर ओलीले समयमै विद्यालय सञ्चालन गर्न सकिने अवस्था नरहेको र वैकल्पिक व्यवस्थापनका विषयमा सोचिरहेको बताए । तर, कसरी विद्यालय सञ्चालन गर्ने भन्ने विषयमा ठोस योजना बनिनसकेको उनको भनाइ छ । त्यस्तै, विद्यार्थीहरू मनोवैज्ञानिक रूपमा त्रासमा रहेकाले पनि समयमै विद्यालय सञ्चालन हुने अवस्था नरहेको ओलीले बताए ।

सानीभेरी गाउँपालिका– ५ को कालिका आधारभूत विद्यालयका त दुई भवन पूर्ण रूपमा ध्वस्त मात्रै भएका छैनन्, विद्यालयपरिसरमा नै धाँजा फाटेको छ । ‘अब हाम्रो विद्यालय अहिले सञ्चालन भएको ठाउँमा चलाउन सकिने अवस्था छैन, दुई–दुईकोठे दुईवटा भवन पूर्ण रूपमा भत्किएका छन्, अर्को एउटा दुईकोठे भवन बस्न नमिल्ने गरी चर्किएको छ,’ प्रधानाध्यापक रणजित पुनले भने, ‘भवनको के कुरा गर्नु, जमिन नै धाँजा फाटेर बस्न सकिने अवस्था छैन ।’ ९५ विद्यार्थी अध्ययनरत यो विद्यालयमा बालविकासदेखि कक्षा पाँचसम्म पढाइ हुन्छ । 

जाजरकोटमा ३२८ विद्यालयका १७३ भवन ध्वस्त, रुकुम पश्चिममा ७० विद्यालयमा क्षति 
सामुदायिक र संस्थागत गरी चार सय ४४ विद्यालय रहेको जाजरकोटमा अधिकांश विद्यालयका भौतिक संरचना ध्वस्त भएका छन् । हालसम्मको विवरणअनुसार तीन सय २८ विद्यालयका एक सय ७३ भवन ध्वस्त भएको शिक्षा विकास तथा समन्वय इकाइ जाजरकोटका सूचना अधिकारी प्राविधिक सहायक तिलक भट्टराईले जानकारी दिए । उनका अनुसार पाँच सय १६ कक्षाकोठा ध्वस्त भएका छन् । त्यस्तै, एक सय ३९ शौचालय, ४३ घेराबार, पाँच विज्ञान प्रयोगशाला र दुई आइसिटी ल्याबमा पूर्ण क्षति पुगेको छ । 

त्यस्तै, जिल्लाभर चार सय आठ विद्यालय भवनका एक हजार एक सय ४६ कक्षाकोठा, एक सय ९० शौचालय, ६१ घेराबार, नौ विज्ञान प्रयोगशाला, ११ पुस्तकालय र १५ आइसिटी ल्याबमा आंशिक क्षति पुगेको छ । यी भौतिक संरचनामा क्षति पुग्दा झन्डै ४० हजार विद्यार्थी प्रत्यक्ष प्रभावित हुने भट्टराईले बताए । जिल्लाभर ७१ हजार सात सय ६८ विद्यार्थी रहेको उनले बताए । 

उता रुकुम पश्चिममा ५३ विद्यालयमा पूर्ण तथा १७ मा आंशिक क्षति भएको छ । जिल्ला शिक्षा विकास तथा समन्वय इकाइका अनुसार आठबिसकोट नगरपालिकामा मात्रै ४३ विद्यालयमा क्षति पुगेको छ । ३३ विद्यालयमा पूर्ण र नौवटामा आंशिक क्षति भएको इकाइ प्रमुख ताराप्रकाश पुनले बताए । त्यस्तै, सानीभेरी गाउँपालिकामा १२ मा पूर्ण र सातमा आंशिक क्षति भएको गाउँ शिक्षा शाखा प्रमुख भूपालसिंह विष्टले बताए । त्यसबाहेक त्रिवेणी गाउँपालिकामा तीन विद्यालयमा पूर्ण, चौरजहारी नगरपालिकामा दुई विद्यालयमा पूर्ण, बाँफिकोट गाउँपालिकामा दुई विद्यालयमा पूर्ण तथा मुसिकोट नगरपालिकामा एकमा पूर्ण र एकमा आंशिक क्षति पुगेको शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ । आंशिक क्षति पुगेका विद्यालयमा पनि विद्यार्थीलाई भित्र राखेर पढाउन सकिने अवस्था नरहेको इकाइ प्रमुख पुनले बताए । 

दुई जिल्लामा गरी ३९ विद्यार्थी, दुई शिक्षिका र एक कार्यालय सहयोगीको मृत्यु

जाजरकोटमा २१ र रुकुम पश्चिममा १८ गरी ३९ विद्यार्थीले भूकम्पमा ज्यान गुमाएका छन् । त्यस्तै, जाजरकोटमा दुई शिक्षिकाको पनि मृत्यु भएको छ भने रुकुम पश्चिममा एक कार्यालय सहयोगीको ज्यान गएको छ । शिक्षा विकास तथा समन्वय इकाइ जाजरकोटको तथ्यांकअनुसार जिल्लाभर ४८ विद्यार्थी घाइते भएका छन् । त्यस्तै, रुकुम पश्चिमा मृत्यु भएकामा १२ विद्यार्थी आठबिसकोट नगरपालिका र ६ जना सानीभेरी गाउँपालिकाका छन् । जिल्लामा एक शिक्षक र एक विद्यार्थी घाइते भएका छन् । 

प्रभावित बालबालिकालाई मनोपरामर्श आवश्यक 
भूकम्पका कारण सबैभन्दा बढी प्रभावित बालबालिका नै छन् । ज्यान गुमाउने पनि बालबालिका आधाभन्दा धेरै छन् । महिला पुनर्स्थापना केन्द्र ओरेक नेपाल रुकुम पश्चिमकी जिल्ला कार्यक्रम संयोजक दीपा धितालका अनुसार बालबालिकाहरूलाई सबैभन्दा बढी मनोसामाजिक परामर्शको आवश्यकता छ । यसतर्फ ध्यान नदिए बालबालिकामा ठूलो असर पर्ने उनको भनाइ छ । ‘हेर्दा सामान्यजस्तो छ, तर बालमनोविज्ञानमा ठूलो चोट पुगेको छ, यसतर्फ ध्यान नदिने हो भने भोलिका दिनमा ठूलो समस्या निम्तिन सक्छ,’ उनले भनिन् ।’ 

आठबिसकोट नगर शिक्षा शाखाका प्राविधिक सहायक नरेन्द्र कार्की पनि बालमनोविज्ञानमा असर परेको बताउँछन् । यही अवस्थामा बालबालिका विद्यालय जाने अवस्था नरहेको उनको भनाइ छ । ‘विद्यालयमा हुन्छ, घरमा हुन्छ वा सामुदायिक रूपमा हुन्छ मनोपरामर्शको आवश्यकता छ,’ उनले भने ।

भूकम्प प्रभावित क्षेत्रमा पुगेको संसदीय समितिलाई उपप्रधानमन्त्रीको ब्रिफिङ : साढे दुई अर्बबराबरको क्षति भएको प्रारम्भिक अनुमान छ
भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा करिब दुई अर्ब ४५ करोडबराबरको क्षति भएको छ । स्थलगत अध्ययन र अनुगमनका लागि पुगेको संसदीय समितिको टोलीसँग उपप्रधानमन्त्री, मन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले भूकम्पपछिको अवस्थाबारे ब्रिफिङ गरेका हुन् । ब्रिफिङका क्रममा सरकारी अधिकारीले हालसम्म करिब दुई अर्ब ४५ करोडबराबरको क्षति भएको प्रारम्भिक अनुमान प्रस्तुत गरेका थिए । सरकारी तथ्यांकअनुसार भूकम्पबाट ११ हजारभन्दा बढी घरमा आंशिक र १६ हजारभन्दा बढीमा पूर्ण रूपमा क्षति पुगेको छ । 

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाको नेतृत्वमा ९ सदस्यीय टोली बुधबार सुर्खेत हुँदै जाजरकोट पुगेको छ । बुधबार बिहान सुर्खेत पुगेको टोलीले त्यहाँ उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्कासँग हालसम्मको खोज, उद्धार, स्वास्थ्य उपचार र राहतबारे जानकारी लिएको थियो । 

मन्त्री खड्काले राहत वितरण एवं आवश्यक उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर तयारी अवस्थामा राखिएको, सबै घाइतेको उपचार भइरहेको, हाल एकजना घाइते मात्र आइसियूमा रहेका र अहिले अस्पतालमा ९९ जना घाइते उपचाररत रहेको जानकारी गराएका थिए । टोलीले बुधबार साँझ प्रमुख जिल्ला अधिकारीसहित सरोकारवालाबाट भूकम्पले पुर्‍याएको क्षति, उद्धार, राहत र पुनर्स्थापनाको प्रगतिबारे जानकारी लिएको छ । 

सभापति खतिवडाका अनुसार अहिलेसम्म करिब ८० प्रतिशत पीडितलाई राहत उपलब्ध गराइएको, उद्धारको काम सकिएकाले अब राहत वितरणका काममा केन्द्रित भएको, आवश्यकताअनुसार कम्तीमा २० जना अट्ने त्रिपाल ठाउँठाउँमा राखेर पीडितलाई सहयोग उपलब्ध गराइएको छ ।  टोलीमा कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, सांसद दिलेन्द्रप्रसाद बडू, एमाले नेता कृष्णगोपाल श्रेष्ठ, माओवादी प्रमुख सचेतक हितराज पाण्डे, राप्रपा नेता बुद्धिमान तामाङ, जनमोर्चाका चित्रबहादुर केसीलगायत छन् ।

ad
ad