Skip This
बागमतीमै ५६ प्रतिशत परिवारलाई कृषिकाे आम्दानीले पुग्दैन खान  
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक २२ बुधबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका मकवानपुर
२o८o कार्तिक २२ बुधबार १५:२६:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

बागमतीमै ५६ प्रतिशत परिवारलाई कृषिकाे आम्दानीले पुग्दैन खान  

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, मकवानपुर
नयाँ पत्रिका
२o८o कार्तिक २२ बुधबार १५:२६:oo

बागमती  प्रदेशमा ५५.९ प्रतिशत परिवारलाई कृषिको आम्दानीले खानसमेत नपुग्ने गरेको पाइएको छ।

राष्ट्रिय तथ्यांक कार्यालयले जारी गरेको कृषि गणना २०७८ को प्रतिवेदनअनुसार यस प्रदेशमा ५५.९ प्रतिशतलाई कृषिको आम्दानीले खानसमेत नपुग्ने देखिएको हो।

कृषि पेसा गर्ने र त्यसको आम्दानीले खान पुग्ने परिवार भने प्रदेशमा ४४.१ प्रतिशत मात्र छन्। नेपालमा भने कृषिमै आश्रित भएर पनि यसको आम्दानीले खान नपुग्ने ५५ प्रतिशत रहेको राष्ट्रिय तथ्यांक कार्यालयका निर्देशक बद्रीकुमार कार्कीले बताए।

बागमतीमा ७२.६ प्रतिशत परिवारको आम्दानीको मुख्य स्रोत कृषि छ। सार्वजनिक गरिएको तथ्यांकअनुसार पुराना प्रविधि हराउँदै गएको छ। 

फलामे हलोको प्रयोग घटेको छ भने ट्याक्टर र पावररट्रिलर प्रयोग गर्नेको संख्यामा वृद्धि भएको छ। १४.८ प्रतिशत फलामे हलो, ३०.८ प्रतिशत ट्याक्टर र १६.७ प्रतिशत पावरट्रिलर प्रयोगकर्ता रहेको निर्देशक कार्कीले बताए। 

तीन दशकमा नेपालमा कृषक परिवार संख्या र कृषकले भोगचलन गरेको जग्गामा वृद्धि भए पनि सरदर दुईपटक मात्र बाली लगाएको देखिन्छ। यस प्रदेशमा १५ लाख ७० हजारभन्दा बढी  घरपरिवार रहेकामा ६ लाख ६८ हजार एक सय ७७ कृषक परिवार रहेको र दुई लाख ८२ हजार दुई सय ९२ हेक्टर जमिन कृषिमा  प्रयोग भएको उनले जानकारी दिए। 

नेपालमा सरदर १.९१ प्रतिशत बाली सघनता रहे पनि प्रदेशमा भने दुई प्रतिशत अर्थात् दुईपटकसम्म बाली लगाएको पाइएको निर्देशक कार्कीले जानकारी दिए। उनका अनुसार प्रदेशमा बगैँचाको रूपमा आँप पाँच सय ३२ हेक्टरमा, केरा एक हजार एक सय २० हेक्टरमा, सुन्तला ६ सय ८८ हेक्टरमा, कागती चार सय ६० हेक्टरमा, स्याउ ८० हेक्टरमा लगाइएको छ। त्यस्तै प्रदेशमा गाई–भैँसीपालन घट्दो छ। ०६८ को गणनादेखि नै  यसको क्रम घट्दो देखिन्छ।  गाईगोरु र राँगाभैँसीभन्दा खसीबाख्रा, सुंगुर र बंगुर पाल्नेको संख्या भने धेरै वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ। 

प्रदेशमा उत्पादन गरिएको वस्तु सबै घरायसी उपभोग गर्ने ६६.४ प्रतिशत कृषक छन् भने केही वस्तु बिक्री गर्ने २५ प्रतिशत, केही घरायसीका लागि राखी सबै बिक्री गर्ने ७.४ प्रतिशत र सबै वस्तु बिक्री गर्ने ०.९ प्रतिशत रहेका छन्। 

 युवाहरू बिदेसिने भएका कारण पनि नेपालमा पछिल्लो समय कृषिमा महिलाको संख्या बढ्दो छ। विगत तीन दशकदेखिको नतिजा हेर्दा अहिले महिला कृषकको संख्या वृद्धि भएको निर्देशक कार्कीले बताए। 

नेपालमा ३२.४ प्रतिशत महिला कृषक छन् भने बागमती प्रदेशमा मुख्य कृषकको रूपमा महिला ३७.२ प्रतिशत र पुरुष ६५.८ प्रतिशत छन् । ०५८ को गणनामा महिला ८.१ प्रतिशत र पुरुष ९१.९ प्रतिशत कृषक थिए। किसानको मुख्य चिन्ता भने समयमै मल, बिउ उपलब्ध नहुनुमा छ। कृषिगणनामा सहभागीमध्ये ५७ प्रतिशतले समयमै मल, बिउ उपलब्ध भए उत्पादन बढाउन सकिने  बताए। 

त्यस्तै, ४८ प्रतिशतले सिँचाइको व्यवस्था, २७ प्रतिशतले कृषि कार्यका लागि तालिमको व्यवस्था, २७ प्रतिशतले कृषि प्राविधिक सेवा सहज, २२ प्रतिशतले कृषि औजार एवं आधुनिक साधन, १८ प्रतिशतले उन्नत नश्ल सुधार र उन्नत बिउबिजन, १२ प्रतिशतले कृषि उत्पादनको उचित बजार व्यवस्था र ११ प्रतिशत कृषकले शुून्य ब्याजदर वा सस्तोमा ऋण उपलब्ध गराउन सुझाव दिएको प्रतिवेदनमा उल्लेख छ।