१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
दीपक भट्ट रामेछाप
२०८० कार्तिक १७ शुक्रबार ११:१२:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

रामेछाप विमानस्थलमा तारा एयरलाइन्सका पाइलटबीच कुटाकुट

Read Time : > 1 मिनेट
दीपक भट्ट, रामेछाप
२०८० कार्तिक १७ शुक्रबार ११:१२:००

रामेछापको मन्थली विमानस्थलमा तारा एयरका दुई पाइलटबीच कुटाकुट भएको छ । शुक्रबार बिहान तारा एयरका वरिष्ठ क्याप्टेन सन्तोष शाह र अर्का क्याप्टेन सञ्जीव श्रेष्ठबीच विमानस्थलमै कुटाकुट भएको हो । क्याप्टेन सन्तोष शाह आज बिहान ८ बजे सोलुको लुक्लाबाट जहाज लिएर मन्थली विमानस्थलमा अवतरण गरेका थिए भने अर्का क्याप्टेन सञ्जीव श्रेष्ठ लुक्ला उडानका लागि विमानस्थलमा रहेको जहाजतर्फ जाँदै थिए । 

लुक्लाबाट मन्थली आएका क्याप्टेन शाह जहाजबाट ओर्लिएर बाहिर निस्केर हिँड्दै गर्दा जहाज भएको ठाउँतर्फ अर्का क्याप्टेन श्रेष्ठ जाँदै थिए । दुईजनाको भेटमा क्याप्टेन शाहले अर्का क्याप्टेन श्रेष्ठसँग हात मिलाउन खोज्दा श्रेष्ठले शाहलाई एक चड्कन गालामा हानेर धकेलिदिएपछि क्याप्टेन शाह भुइँमा बजारिन पुग्दा सामान्य घाइते भएका छन् । 

उक्त घटनापछि क्याप्टेन श्रेष्ठले जहाज लिएर लुक्लातर्फ उडेका छन् भने शाह कानुनी उपचारका लागि शाहविरुद्ध निवेदन लिएर जिल्ला प्रहरी कार्यालय पुगेका छन् । क्याप्टेन शाहले आफूलाई विनाकारण क्याप्टेन श्रेष्ठले हात हालेको भन्दै आवश्यक कारबाहीका लागि निवेदनसहित कार्यालयमा आएका जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक होमबहादुर पराजुलीले जानकारी दिए। घटनाबारे थप अनुसन्धान र सोधपुछ गरिरहेको उनले बताए । 

दुई पाइलटबीच के कारणले कुटाकुट भएको यसबारे आफूलाई केही जानकारी नभएको नागरिक उड्डयन प्राधिकरण रामेछापका प्रमुख अशोक थापाले जानकारी दिए । उनले भने– घटनापछि क्याप्टेन शाह भएको विमान मन्थली विमानस्थलमा ग्राउन्डेट गरिएको छ भने लुक्ला पुगेका श्रेष्ठलाई पनि लुक्ला एयरपाेर्टमै ग्राउन्डेड गरिएको छ । 

जहाजका दुई क्याप्टेनबीच भएको कुटाकुटको विषयमा कम्पनीबाट इन्क्वायरी भइरहेको र दुवैजनाको पाइलट इजाजतपत्र खारेज गर्ने तयारी भइरहेको पनि तारा यएरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए । उनले भने– दुईजनाबीच भएको घटना जहाज उडानसम्बन्धी नभई व्यक्तिगत रिसइवीको कारणले भएको देखिन्छ । यसबारेमा थप जानकारी लिने काम भइरहेको छ बर्तौलाले भने ।