Skip This
किसानलाई प्रोत्साहित गर्दै इलामको माङसेबुङ : नगद प्रोत्साहन दिन ३० लाख बजेट
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक १७ शुक्रबार
  • Friday, 26 July, 2024
स्कुस टिप्दै माङसेबुङ–६ का गोविन्द राई
२o८o कार्तिक १७ शुक्रबार १o:१६:oo
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

किसानलाई प्रोत्साहित गर्दै इलामको माङसेबुङ : नगद प्रोत्साहन दिन ३० लाख बजेट

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८o कार्तिक १७ शुक्रबार १o:१६:oo

पूर्वी पहाडी जिल्ला इलामको माङसेबुङ कृषिमा सम्भावना बोकेको गाउँपालिका हो । तराईका सहरहरूनजिकको दूरीमा भएका कारण उत्पादित कृषि उत्पादनलाई बजारीकरण गर्न पनि सहज छ । माङसेबुङ गाउँपालिकाले किसानलाई प्रोत्साहन गर्न तथा कृषि उत्पादन वृद्धिका लागि विशेष योजना ल्याएको छ । गत आर्थिक वर्ष ०७९/८० बाट कृषि उत्पादन वृद्धिका लागि गाउँपालिकाले विशेष कृषक प्रोत्साहन कार्यक्रम ल्याएको थियो । चालू आर्थिक वर्षमा पनि उक्त कार्यक्रमलाई अघि बढाइएको छ ।  उक्त प्रोत्साहन कार्यक्रमअन्तर्गत गाउँपालिकाले प्रत्यक्ष किसानलाई सहायता दिन सुरु गरेको छ । 

गत वर्ष गाउँपालिकाले कृषकलाई ३४ लाख ४१ हजार चार सय ८ रुपैयाँ प्रोत्साहनबापत रकम दिइएको गाउँपालिकाका प्रवक्ता तथा कृषि प्रोत्साहन कार्यक्रमका अनुगमन समिति संयोजक सुसन राईले जानकारी दिए । उनका अनुसार बाँस, स्कुस, केरा, कफी, पहेँली दाल र दूध उत्पादन गर्ने कृषकलाई प्रोत्साहनबापत रकम हस्तान्तरण गरिएको छ भने चालू आवका लागि ३० लाख रुपैयाँ राखिएको उनले बताए । 

गाउँपालिकाले गत आर्थिक वर्षमा स्कुसमा ७० घरपरिवारलाई १५ लाख ४७ हजार, बाँसमा एक सय ४७ घरपरिवारलाई ६ लाख ६९ हजार चार सय र केरामा ५४ घरपरिवारलाई चार लाख १९ हजार दुई सय प्रोत्साहन रकम दिएको थियो । त्यस्तै, पहेँली दालमा ७१ घरपरिवारलाई पाँच लाख ६९ हजार पाँच सय ५४, दूधमा १२ घरपरिवारलाई एक लाख १९ हजार तीन सय ६४ र कफीमा ३४ घरपरिवारलाई एक लाख १६ हजार आठ सय ९० रुपैयाँ प्रोत्साहनबापत रकम दिइएको प्रवक्ता राईले बताए ।

 फेरियो कार्यविधि, मापदण्डमा कडाइ
गाउँपालिकाले बनाएको कार्यविधिअनुसार गत वर्ष २५ झाङ बाँस लगाएका किसानलाई प्रतिझाङ एक सय रुपैयाँ प्रोत्साहन रकम दिइएको उनले बताए । यस वर्ष कार्यविधि संशोधन गरेर प्रोत्साहन कार्यक्रममा सहभागी हुनका लागि अनिवार्य ५० झाङ बाँस हुनैपर्ने प्रावधान राखिएको छ । 

गाउँपालिकाले न्यूनतमा २० झाङ स्कुस हुने कृषकलाई प्रतिझाङ एक हजार रुपैयाँ प्रोत्साहन रकम दिएको थियमो । यस वर्ष कार्यविधि संशोधन गरेर ३० झाङमाथि स्कुस हुनेलाई प्रतिझाङ पाँच सय रुपैयाँ उपलब्ध गराइने प्रवक्ता राईले बताए । ‘स्कुसलाई हामीले झनै महत्व दिएर राखेका छौँ । यो बहुउपयोगी छ । मुन्टा, जरा र फल नै सब्जीका रूपमा प्रयोग हुन्छ,’ उनले भने, ‘हामीले अनुमान लगाएको भन्दा धेरै स्कुस भएका कारण यस वर्ष प्रतिझाङ पाँच सय बनाएका हौँ ।’ 

यस्तै, न्यूनतम ५० झाङ केरा हुने किसानलाई प्रति झाङ एक सय रुपैयाँ र कफीमा प्रतिकेजी २० रुपैयाँ प्रोत्साहन रकम दिइएको गाउँपालिकाले जनाएको छ । यस्तै, पहेँली दालमा एक सय केजीमाथि उत्पादन गर्ने किसानलाई प्रतिकेजी २० रुपैयाँ दिइएको गाउँपालिकाले जनाएको छ । 

यस वर्ष भने दालमा प्रोत्साहन रकम लिनका लागि किसानले दुई सय केजी उत्पादन गर्नुपर्नेछ । गाउँपालिकाले दैनिक २० लिटरमाथि दूध उत्पादन गर्ने किसानलाई प्रतिलिटर दुई रुपैयाँ प्रोत्साहन रकम दिइएको प्रवक्ता राईले बताए । ‘कफी, दाल र दूधको तथ्यांक भने संकलन केन्द्रबाट लिएका हौँ । दर्ता भएका संकलन केन्द्रमा दिने किसानलाई एक वर्षको एकमुष्ट रकम दिएका छौँ,’ उनले भने । 

 आत्मनिर्भर हुन प्रोत्साहन कार्यक्रम 
गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउँदै जनताको जीवनस्तर उकास्नका लागि यो कार्यक्रम ल्याइएको गाउँपालिका अध्यक्ष हेमन्त राईले बताए । ‘कृषि उत्पादनमा बढीभन्दा बढी जोड दिई मांसेबुङको विकसमा कृषि उत्पादनलाई प्रमुख आयस्रोतका रूपमा विकास गर्न यो कार्यक्रमलाई हामीले प्राथमिकता दिएका हौँ,’ अध्यक्ष राईले भने, ‘मांसेबुङका जनताको प्रमुख आयस्रोत कृषि नै हो । कृषिलाई विशेष प्राथमिकतामा राखेर गाउँपालिकाले काम गर्नेछ । हाम्रो प्रमुख उद्देश्य नै उत्पादनमा वृद्धि गर्नु हो ।’ 

‘हाम्रो कृषि उत्पादनमा अहिले बजारको समस्या छैन । बजारीकरणमा गाउँपालिकाले सहयोग नै गर्छ,’ उनले भने, ‘दमक–८ मा दमक नगरपालिकासँगै पहाडी जिल्लाका स्थानीय तहको साझेदारीमा प्रदेश सरकारले कृषि बजार पनि बनाउन सुरु गरेको छ । पहाडी क्षेत्रका विभिन्न ६ ठाउँमा कृषि उत्पादन संकलन केन्द्र पनि निर्माण गर्ने गरी प्रदेशले योजना अघि बढाएको छ । हाम्रो कृषि उत्पादनलाई अर्गानिक बनाउन प्रयत्न गरिरहेका छौँ । अर्गानिक बनाउन सके बजार र मूल्यको राम्रो पाउँछ ।’ यो कृषि प्रोत्साहन कार्यक्रमबाट वास्तविक किसान लाभान्वित भएको मांसेबुङ गाउँपालिकाका उपाध्यक्ष विनोद नेम्वाङले बताए ।