पर्यटकीय नगरी पोखरामा आउँदो मंसिर दोस्रो साता मोटरबाइक रेस हुने भएको छ।
नेपाल मोटर स्पोर्टस् (नासा)सँग आबद्ध भिआर– ४६ मोटर स्पोर्टस् प्रालिले आउँदो ८ र ९ मंसिरमा ‘फिसटेल रेसिङ कप २०२३’ नाम दिएर रेस गर्न लागेको हो। पोखरा रंगशालामा हुने रेसलाई नेपालकै पहिलो र ठूलो बाइक रेस दाबी गरिएको छ।
इटालियन रेसिङ टिमको नेपाल शाखाको रूपमा रहेको भिआर– ४६ मोटर स्पोर्टसका प्रबन्ध निर्देशक माइकल थापाका अनुसार रेसमा एक सयजनाको सहभागिता रहने अपेक्षा गरिएको छ।
१५० र ६०० सिसी दुई प्रकारका बाइकहरूको प्रयोग हुने रेसको विजेताले एक लाख, दोस्रोले ७५ हजार र तेस्रोले ५० हजार रुपैयाँका साथमा ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन्। तीनैजनाले अन्तर्राष्ट्रिय बाइकरेसमा सहभागी हुने अवसरसमेत पाउनेछन्।