१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार २१:११:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

संयुक्त राष्ट्रसंघका महासचिवको लुम्बिनी भ्रमणअघि रातारात सडक पिच गरिँदै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार २१:११:oo

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको लुम्बिनी भ्रमणको तयारी तीव्र रूपमा भइरहेको छ। 

लामो समयदेखि अलपत्र रहेका लुम्बिनी विकास कोषभित्रका सडक हतारहतार कालोपत्रे गर्न थालिएको छ। महासचिव गुटेरेसको भ्रमणतालिका सार्वजनिक भएसँगै रातभर सडक पिच गर्न थालिएको हो। 

विजयादशमीअगाडिसम्म लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले सडक निर्माणलगायतका पूर्वाधारका काम छिटो सम्पन्न गर्न पटकपटक ताकेता गरेका थिए। तर, काम हुन सकेको थिएन। अहिले निर्माण व्यवसायीहरू धमाधम काम गरिरहेका छन्। 

महासचिव गुटेरेसलाई लुम्बिनीको मायादेवी मन्दिरसम्म पुग्ने बाटो सफाइदेखि लिएर ६ सय ५० मिटर सडक पिच गर्न लागिएको छ। लुम्बिनी विकास कोषका योजना प्रमुख सरोज भट्टराईले विकास कोषको चार नम्बर गेटदेखि शान्तिदीपसम्म पुग्ने ६ सय पचारमिटर सडक पिच गर्न लागिएको बताए। त्यसैगरी, पाँच नम्बर गेटको निमार्णाधीन गेटको काम पनि सम्पन्न गर्ने तयारीमा रहेको योजना प्रमुख भट्टराईले बताए। 

महासचिव गुटेरेसलाई चार नम्बर गेटबाट प्रवेश गराएर शान्तिदीप हुँदै मायादेवी मन्दिर लैजाने र पाँच नम्बर गेटबाट बाहिरिने गरी भ्रमणको तालिका रहेको भट्टराईले बताए।

नेपालको चारदिने भ्रमणका क्रममा १४ कात्तिक बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमणका लागि समय तय भएपछि लुम्बिनी विकास कोषले तयारी सुरु गरेको हो। कोषले शनिबार लुम्बिनी सांस्कृतिक नगरपालिका, भिक्षु भिक्षुणीसहित सरोकारवालाहरूसँग बैठक गरी महासचिव गुटेरेसको भ्रमणलाई भव्य बनाउनेबारे छलफल गरेको थियो। 

महासचिव गुटेरेस प्रधानमन्त्री पुष्पकमल दाहालको निमन्त्रणमा १२ कात्तिक (अक्टोबर २९) मा नेपाल आउने तय भएको हो। 

लुम्बिनी विकास कोषका उपाध्यक्ष, संविधानसभा सदस्य डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले महासचिव गुटेरेसको लुम्बिनी भ्रमण भव्य बनाउने गरी तयारीमा जुट्न आग्रह गरे। महासचिवको भ्रमणले लुम्बिनीबाट विश्वशान्तिको सन्देश विश्वभर दिन सकिने बताए। महासचिव गुटेरेसलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सँगै  लिएर आउनेछन्। 

१४ गते बिहान ८ः३५ बजे गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने र त्यहाँबाट हेलिकोप्टरमा सीधै लुम्बिनी आउने प्रारम्भिक कार्यक्रम बनेको छ। महासचिव गुटेरेसलाई हेलिप्याडदेखि चार नम्बर गेट, शान्तिदीप हुँदै मायादेवी मन्दिरसम्म जाने बताइएको छ। 

यसअघि महासचिव गुटेरेसले अक्टुबर १३ देखि १५ सम्म नेपाल भ्रमण गर्ने कार्यतालिका तय भएको थियो। तर, अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेपछि उक्त भ्रमण स्थगित गरिएको थियो। 

गुटेरेसले १४ कात्तिकमा संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यतालिका पनि तय भएको छ। महासचिव गुटेरेस सन् १९९५ देखि २००० सम्म पोर्चुगलका प्रधानमन्त्री थिए। 

संयुक्त राष्ट्रसंघको महासचिवका रूपमा उनको यो दोस्रो कार्यकाल हो। उनी पहिलो कार्यकालका लागि सन् २०१६ मा महासचिवमा नियुक्त भएका थिए।  

यसअघि सन् २००८ संयुक्त राष्ट्रसंघका तत्कालीन महासचिव वान की मुनले नेपाल भ्रमण गरेका थिए। यतिखेर मुनले पनि लुम्बिनी भ्रमण गरेका थिए। गुटेरेस संयुक्त राष्ट्रसंघका नवौँ महासचिव हुन्। हालसम्म लुम्बिनी भ्रमण गर्ने गुटेरेस छैटौँ महासचिव बन्दै छन्।

ad
ad