१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
मुना कुँवर काठमाडाैं
२o८१ जेठ ३ बिहीबार o७:४१:oo
Read Time : > 2 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

गैरआवासीय नेपाली संघको निर्वाचन फेरि पनि विवादमा

Read Time : > 2 मिनेट
मुना कुँवर, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार o७:४१:oo

गैरआवासीय नेपाली संघको निर्वाचन पुनः विवादमा परेको छ । अनलाइन निर्वाचन प्रणालीमा अध्यक्ष डा. बद्री केसीको समूहले घोटाला गरेको भन्दै अध्यक्षका प्रत्याशी राजेन्द्रकुमार शर्मा र महेश श्रेष्ठको समूहले निर्वाचन नै अस्वीकार गरेका छन् । 

संघले यसपटक अनलाइनमार्फत निर्वाचन प्रक्रिया सम्पन्न गरेको थियो । निर्वाचन सम्पन्न भएपछि अनलाइनमार्फत नै निर्वाचनको परिणाम सार्वजनिक गरिएको थियो । तर, उपाध्यक्षका दाबेदार डा. केशल पौडेललाई काठमाडौंबाट दिइएको भोट शून्य देखिएपछि निर्वाचन प्रणालीको विरोध गरिएको हो । 

यसपटक संघको निर्वाचनका लागि चार हजार दुई सय प्रतिनिधि छनोट गरिएको थियो । जसमध्ये काठमाडौंमा नै उपस्थित भएर मतदान गर्नेको संख्या आठ सय २५ भए पनि निर्वाचनको परिणाममा काठमाडौंमा खसेको भोट शून्य देखिएको थियो । जबकि केशव आफैँले काठमाडौं नै उपस्थित भएर मतदान गरेको बताए । यसले अनलाइन मतदान प्रणालीमा नै घोटला गरिएको भन्दै आरके शर्मा र महेश श्रेष्ठको समूहले निर्वाचन हलमा नै नाराबाजी गरेका थिए । उनीहरूले डा. केसीले निर्वाचनमा घोटाला गरी आफ्नो प्यानल नै विजयी गराएको आरोप लगाएका छन् । 

यससँगै शर्मा र श्रेष्ठको समूहले प्रेस विज्ञप्ति जारी गरी निर्वाचन अस्वीकार गरेको जनाएका छन् । उनीहरूले पुनः मतदानका लागि आह्वान गरेका छन् । तर, डा. केसीको समूहले भने मतदानका लागि प्रयोग गरिएको भेरो सफट्वेयरमा उपलब्ध भएको तथ्यांक कपी गरेर पठाउने क्रममा केही प्राविधिक त्रुटि भएको जनाएको छ । 

अध्यक्षमा बद्री केसी विजयी
गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्ष पदमा डा. बद्री केसी विजयी भएका छन् । बिहीबार भएको प्रत्यक्ष र अनलाइन मतदानमा अध्यक्षका अन्य प्रत्याशीहरू आरके शर्मा र महेश श्रेष्ठलाई हराउँदै केसी अध्यक्ष पदमा निर्वाचित भएका हुन् । डा. केसीले एक हजार तीन सय ७८ मत, शर्माले एक हजार दुई सय ८१ मत र श्रेष्ठले एक हजार दुई सय २५ मत प्राप्त गरे ।

काठमाडौंको होटेल सोल्टीमा भएको ११औँ विश्व सम्मेलन र सोक्रममा भएको निर्वाचनमा  ६ उपाध्यक्षमा डा. हेमराज शर्मा दुई हजार दुई सय ६५, रोबिन शेरचन दुई हजार एक सय ८०, रामशरण सिम्खडा एक हजार पाँच सय ५२, खगेन्द्र न्यौपाने एक हजार तीन सय ५७, राज रेग्मी एक हजार नौ सय र डा. विनोद श्रेष्ठ एक हजार पाँच सय ६० मत ल्याई निर्वाचित भए । यस्तै, महिला उपाध्यक्षमा रोजिना प्रधानले एक हजार नौ सय ४७ मत प्राप्त गरेर विजयी भइन् । सोही पदमा यसमिन बेगम सैयदले एक हजार नौ सय १४ मत प्राप्त गरिन् । युवा उपाध्यक्षमा रोसन थापाले दुई हजार चार सय ६८ मत प्राप्त गरेर विजयी भए । सो पदमा अब्दुल बासिदले एक हजार तीन सय २२ मत प्राप्त गरे ।

संघको महासचिवमा गौरीराज जोशी दुई हजार ३७ मत प्राप्त गरेर विजयी भए । महासचिवका अर्का प्रत्याशी बुद्धि सुवेदीले एक हजार आठ सय १८ मत प्राप्त गरी उपविजेता भए । उपमहासचिवको दुई पदमा सोम सापकोटाले एक हजार सात सय ९० र प्रबिन गुरुङले दुई हजार एक सय ५० मत ल्याएर विजयी भए । ६ सचिव पदमा भीम केसी (कमल) एक हजार ६ सय ७३, डा. ज्ञानेन्द्र रेग्मी एक हजार सात सय ८२, मनोजकुमार श्रेष्ठ दुई हजार २४, डा. नवराज रोस्यारा एक हजार आठ सय ५३, पारशमणि पोखरेल एक हजार ६ सय ५१ र स्वतन्त्रप्रताप शाह एक हजार ६ सय ६६ मत ल्याएर विजयी भएका छन् ।

महिला सचिवमा टीका गुरुङ (राधिका) दुई हजार तीन सय २० मत ल्याएर विजयी भइन् । सोही पदमा विमला सापकोटाले एक हजार पाँच सय ३९ मत प्राप्त गरिन् । संघको कोषाध्यक्षमा सुदन थापा एक हजार नौ सय १७ मत प्राप्त गरेर विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी ठाकुरप्रसाद ढुंगानाले एक हजार नौ सय १२ मत प्राप्त गरे ।

सहकोषाध्यक्षमा कृष्णप्रसाद तिमल्सिना दुई हजार १५, अभिमन्यू बस्नेत दुई हजार ८१ र तिलकप्रसाद गैरेले दुई हजार दुई सय ३२ मत प्राप्त गरेर विजय हासिल गरे । यस्तै, महिला सहकोषाध्यक्षमा अमृत थापाले दुई हजार दुई सय ८७ मत प्राप्त गरेर विजयी भइन् । उनकी प्रतिद्वन्द्वी तृष्णा शर्माले एक हजार पाँच सय २२ मत प्राप्त गरिन् । यस्तै, अन्तर्राष्ट्रिय महिला संयोजकमा अनुजा प्रधान दुई हजार तीन सय ३६ मत प्राप्त गरेर विजयी भइन् । सोही पदमा देविका खत्री गुरुङले एक हजार पाँच सय २४ मत ल्याइन् । यस्तै संघको युवा संयोजकमा सुपेन्द्र घिसिङले दुई हजार ३६ मत प्राप्त गरेर विजयी भए । सोही पदमा रबिन अधिकारीले एक हजार सात सय ६५ मत प्राप्त गरे ।

ad
ad