१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
भोजराज भण्डारी काठमाडाैं
२o८१ बैशाख १८ मंगलबार o८:२८:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

ब्रोकर कमिसन १०% घटाउन बोर्डको प्रस्ताव

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o८:२८:oo

नेपाल धितोपत्र बोर्डको सञ्चालक समितिले ब्रोकर कमिसन घटाउने प्रस्ताव गरेको छ । बुधबार बसेको बोर्डको सञ्चालक समितिको बैठकले १० प्रतिशतले ब्रोकर कमिसन घटाउने गरी अर्थ मन्त्रालयमा प्रस्ताव गरेको हो ।बोर्डका एक अधिकारीका अनुसार हाल सेयर कारोबारमा रहेको अधिकतम ०.४० प्रतिशतको माथिल्लो सीमालाई घटाएर ०.३६ प्रतिशत कायम गर्ने र तल्लो सीमामा रहेको ०.२७ प्रतिशतलाई घटाएर ०.२४३ प्रतिशत कायम गर्ने गरी प्रस्ताव गरिएको छ । ती अधिकारीले भने, ‘अहिले हामीले प्रस्ताव मात्र गरेका हौँ, मन्त्रालयबाट स्वीकृत भएपछि कार्यान्वयनमा आउँछ ।’गत जेठमा बसेको सञ्चालक समितिको बैठकले बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठको संयोजकत्वमा अध्ययन समिति गठन गरेको थियो ।

उक्त समितिले सञ्चालक समितिलाई ब्रोकर कमिसन १० प्रतिशतले घटाउने प्रस्ताव गरेको थियो । सोहीअनुसार सञ्चालक समितिले कमिसन घटाउने प्रस्ताव गरेको हो । यसअघि बोर्डले ०७७ पुस १० गते ब्रोकर कमिसन घटाएर माथिल्लो सीमा ०.४० प्रतिशत र तल्लो सीमा ०.२७ प्रतिशत कायम गरेको थियो ।  

हाल ५० हजार रुपैयाँसम्मको कारोबारमा लगानीकर्ताले ०.४० प्रतिशत, ५० हजार देखि पाँच लाख रुपैयाँसम्मको कारोबारमा ०.३७ प्रतिशत, पाँच लाखदेखि २० लाख रुपैयाँसम्मको कारोबारमा ०.३४ प्रतिशत कमिसन शुल्क तोकिएको छ । त्यस्तै, २० लाखदेखि एक करोड रुपैयाँसम्ममा ०.३० प्रतिशत र एक करोड रुपैयाँमाथि ०.२७ प्रतिशतसम्म कमिसन लाग्दै आएको छ । 

मन्त्रालयबाट सञ्चालक समितिको प्रस्ताव स्वीकृत भएमा ५० हजार रुपैयाँसम्मको कारोबारमा लगानीकर्ताले ०.३६ प्रतिशत, ५० हजारदेखि पाँच लाख रुपैयाँसम्मको कारोबारमा ०.३३ प्रतिशत, पाँच लाखदेखि २० लाख रुपैयाँसम्मको कारोबारमा ०.३०६ प्रतिशत कमिसन शुल्क लाग्नेछ । त्यस्तै, २० लाखदेखि एक करोड रुपैयाँसम्ममा ०.२७ प्रतिशत र एक करोड रुपैयाँभन्दा माथिको कारोबारमा ०.२४३ प्रतिशतसम्म कमिसन लाग्ने बोर्डको भनाइ छ ।

 बोर्डको कमिसन पनि घटाइने
बोर्डले आफूले पाउँदै आएको कमिसन शुल्क पनि १० प्रतिशतले घटाउने गरी प्रस्ताव गरेको स्रोतको भनाइ छ । बोर्डले ब्रोकरले दिएको सेवा शुल्कमा ०.६ प्रतिशत नियमन शुल्कबापत ब्रोकर कम्पनीबाट प्राप्त गर्दै आएको छ । अब भने ब्रोकरले ०.५४ प्रतिशत यस्तो शुल्क बुझाउनुपर्ने एक ब्रोकरले बताए । लगानीकर्ताले गर्ने कारोबारबापत धितोपत्र बोर्डले प्राप्त गर्दै आएको कमिसन ७ प्रतिशत बिन्दुले घटाएको छ । बोर्डले लगानीकर्ताले गर्ने कारोबार रकमको ०.०१५ प्रतिशत कमिसन बोर्डले प्राप्त गर्दै आएको छ । अब भने बोर्डले ०.०१४ प्रतिशत कमिसन प्राप्त गर्ने बोर्ड स्रोतको भनाइ छ । 

लगानीकर्ताहरूले बोर्डको प्रस्तावलाई स्वागत गरेका छन् । लगानीकर्ता ताराप्रसाद फुलेलले आफूहरूले पटकपटक उठाउँदै आएको माग सम्बोधन भएको बताए । उनले भने, ‘अहिले बजार घटिरहेको अवस्थामा केही माग सम्बोधन गर्ने प्रयास भएको छ ।’ लगानीकर्ताहरूले ब्रोकर कमिसन घटाउन बोर्डमार्फत लबिङ गर्दै आएका आएका थिए । नयाँ ब्रोकर संख्या थपिएपछि बोर्डमाथि ब्रोकर कमिसन घटाउन दबाब बढेको थियो । ५० वटा ब्रोकर कम्पनीबाट थप भएर ९३ वटा पुगेको छ ।

 छलफल नगरेकोमा गुनासो
ब्रोकरहरूले बोर्डले ब्रोकर कम्पनीहरूसँग छलफल नै नगरीकन ब्रोकर कमिसन घटाएको भन्दै असहमति जनाएका छन् । स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले हालसालै कारोबार सुरु गरेका कम्पनीसँग छलफल नै नगरी ब्रोकर कमिसन घटाउँदा अन्याय भएको बताए । उनले भने, ‘कमिसन बोर्डको निर्णयमा तोक्नेभन्दा पनि ब्रोकर कम्पनीहरूलाई नै नियम बनाएर जिम्मा दिनुपर्ने हो, तर यस्तो निर्णयले पुँजीकरण घटिरहेको अवस्थामा समस्यामा पारेको छ ।’

ad
ad