Skip This
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पाए विश्वासको मत
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक २ बिहीबार
  • Saturday, 27 July, 2024
कोशी प्रदेश सभामा मतदान गर्दै प्रदेश सभा सदस्यहरू । तस्बिर : रासस
गणेश लम्साल विराटनगर
२o८o कार्तिक २ बिहीबार o६:१९:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पाए विश्वासको मत

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८o कार्तिक २ बिहीबार o६:१९:oo

राप्रपाबाहेक सबै दलको विश्वास प्राप्त, पक्षमा ८६, विपक्षमा पाँच

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पाएका छन् । २७ असोजमा एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका कार्कीले बुधबार कोशी प्रदेश सभाबाट दुईतिहाइभन्दा बढी मत प्राप्त गरेका हुन् ।

संविधानको धारा १६८ (५) अनुसार नियुक्त भएका मुख्यमन्त्री कार्कीलाई राप्रपाबाहेक अन्य सबै दलले विश्वासको मत दिएका छन् । ९३ सदस्यीय प्रदेश सभामा ९१ जना सांसदले मतदानमा भाग लिए । कार्कीलाई ८६ सांसदले मत दिएका छन् ।  उनको विपक्षमा पाँचजनाले मतदान गरे । एकजना सांसद मतदानमा अनुपस्थित रहे । उपसभामुख सिर्जना दनुवारले सभा सञ्चालन गरेकोले मतदान गरिनन् । 

विश्वासको मत लिनुअघि मुख्यमन्त्री कार्कीले कोशीमा स्थिर सरकारका लागि आफ्नो नेतृत्वमा सरकार निर्माण भएकाले सबैलाई मिलाएर सुशासन कायम गर्ने प्रतिबद्धता जनाए । पूर्वमुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले केन्द्रीय गठबन्धनले लज्जास्पद निर्णय गरेपछि आफूहरू अर्को निर्णय गर्न बाध्य भएको बताए । ‘गठबन्धनले संविधानविपरीत निर्णय गर्‍यो, यसैले हामीलाई कांग्रेसका केदार कार्कीले हिम्मत गरेर साथ दिनुभयो । हामीले उहाँलाई सहयोग गर्‍यौँ,’ उनले भने । उनले हलो अड्काएर गोरु कुट्ने काम गरेर मध्यावधिमा लगेमा सबैका लागि घातक हुने चेतावनी दिए ।

कांग्रेस संसदीय दलका नेता उद्धव थापाले कोशीमा अब मुख्यमन्त्रीको म्युजिकल चेयरको खेल अन्त्य भएको बताए । उनले मुख्यमन्त्री बनेर घर फर्किएका कार्कीसहित आठजना विद्रोही सांसदहरूसँग सबै कुरा बिर्सेर गला मिलाएको बताए । उनले गठबन्धनका तीनजना नेताहरूले जस्तै मध्यावधि निर्वाचन रोक्न एमाले अध्यक्ष केपी ओलीले पनि विचार पुर्‍याउनुपर्ने बताउँदै कार्की नेतृत्वको सरकारलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । थापाले प्रदेशको नामाकरणपछि उत्पन्न समस्याबारे सरकार गम्भीर हुनुपर्ने बताए । 

माओवादी सांसद दुर्गा चापागाईंले कोशीमा राजनीतिक अस्थिरता अन्त्य गर्न र गठबन्धनलाई बलियो बनाउन माओवादीले गरेको त्यागलाई नजरअन्दाज नगर्न चेतावनी दिए । ‘हामीले गठबन्धन बचाउनकै लागि सभामुखलाई राजीनामा गराएका थियौँ, यसैले हाम्रो त्यागलाई नजरअन्दाज नगरियोस्,’ उनले भने । चापागार्इंले राजनीतिक अस्थिरताको आडमा प्रदेश सभालाई बन्धक बनाउन नहुने र चाँडै विषयगत समितिहरू निर्माण गर्नुपर्नेमा जोड दिए । 

राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले नामाकरणमा ल्याप्चे लगाउनेहरू नै सडकमा आउनु उदेकलाग्दो भएको भन्दै संविधान र कानुनअनुसार चुस्तदुरुस्त काम गरेर प्रदेशको जग बलियो बनाउनुपर्नेमा जोड दिए । 

एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्रकुमार राईले गठबन्धनलाई धोका दिएर सरकार बनेको भन्दै एमालेसँग मिलेर सरकार बनाउनु दलीय सहमतिविपरीत कार्य भएको टिप्पणी गरे । उनले अहिले सरकारलाई विश्वासको मत दिनुपर्ने बाध्यता भए पनि कोशीमा मध्यावधिको खाँचो टड्कारो खड्किएको बताए ।